उद्यमी बन्नलाई पैसाले रोकेन

दाङ– घोराही उपमहानगरपालिका–१ अठाइसे निवासी शान्ति दमाई पाँच हजार रुपैयाँ ऋण लिएर सञ्चालन गरेको व्यवसायले उद्यमी बन्न सफल भएकी छन् । उनी अहिले गाउँमा उद्यमीको रूपमा परिचय बनाउनसमेत सफल भएकी हुन् । २०७२ सालमा पाँच हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी थिइन् । उनी अहिले लाखौं रुपैयाँको मालिक बन्न सफल भएकी हुन् ।
गाउँमा पाँच सय रुपैयाँ रकम पैसा सापटी माग्दा कसैले नदिएपछि उनले ग्रामीण उत्थान केन्द्रले निर्माण गरेको समूहमार्फत ऋण लिएर व्यवसायी गर्न सुरु गरेकी थिइन् । गाउँमा पाँच सय रुपैयाँ ऋण नपाएको उनलाई भरखरै जस्तो लाग्ने गरेको बताउँछिन् । एकल भएपनि केही गर्नु पर्दछ भन्ने हिम्मत गरेर उनी अगाडि बढेको उनी बताउँछिन् । ऋण लिएको दिन उनी नसुतेको उनी बताउँछन् । ‘एकल महिला भएको कारण कसरी ऋण तिर्ने भन्ने चिन्ताले रातभरि निद्रा लागेन्,’ उनले भनिन् ।
उनका श्रीमानको क्यान्सर लागेर मृत्यु भएको थियो । बिहान उठेर बाख्रा तथा कुखुरा किनेर बचेको रकमले तरकारीको बीउ तथा मल किनेर उनले व्यवसाय सुरु गरेको बताउँछिन् । ‘सुरुका दिनमा कसरी गर्ने होला भन्ने चिन्ता लागेको थियो,’ उनले भनिन् । विस्तारै बानी परेको उनको भनाइ छ । कुखुरा तथा बाख्राबाट राम्रो कमाइ भएपछि विस्तारै बढाउँदै गएको उनले बताइन् । अहिले तरकारी खेती, भैंसी तथा बाख्रा पालन गर्दै आएकी छन् ।
तरकारी खेती तथा भैंसी पालनबाट भएको आम्दानीले घर व्यवहार सञ्चालन गर्ने तथा शिक्षा, स्वास्थ्यमा खर्च गर्ने गरेको उनको भनाइ छ । घरमा अहिले चार जनाको परिवार रहेको छ । उनी अहिले बिहान तीन बजे उठेदेखि साँझसम्मै कामका खटने गरेकी छन् । ‘काम सानो ठूलो हुँदैन आफ्नो इच्छा आवश्यक पर्दछ,’ उनले भनिन् । हिम्मत गरेर अगाडि बढेमा सफलता मिल्ने उनी बताउँछिन् । ‘अहिले आफ्नो व्यवसायमा सन्तुष्ट नै छु’ उनले भनिन् । पहिले पाँच सय रुपैया ऋण नदिनेले पनि अहिले उनीसँग ऋण लिन आउने गरेका छन् । ‘दिदी बहिनीहरू सहयोग चाहिएमा आएमा सहयोग गर्ने गरेको छु,’ उनले भनिन् ।
पहिले आफूले पाएको दुःख सम्झेर सहयोग गर्ने गरेको उनी बताउँछिन् । घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी मिरासङवा तामाङ पनि अहिले सफल व्यवसायीको रूपमा परिचय बनाउन सफल भएकी छन् । उनले विगत १७ वर्ष पहिले समूहमार्फत पाँच हजार ऋण लिएर बाख्रापालन गर्न सुरु गरेकी थिइन् । बाख्रापालन तथा कुखुरा पालन गर्दै काम गर्दा उनले ३ कठा जग्गासमेत किन्न सफल भइन् । अहिले उनले घोरदौरामा होटेल सञ्चालन गर्दै आएकी छन् । होटेलबाट पनि राम्रै आम्दानी भइरहेको छ । होटेलको बिस्तार गर्ने योजना रहेको उनले बताइन् । आफैंले कमाएको रकमले घर व्यवहार चलाउँदै आएको उनी बताउँछिन् ।