माओवादी फकाउने ओली प्रयासले अझै लिएन आकार

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन छलफल थालेका छन् । माओवादीको समेत समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आफूसँगै माओवादीका तर्फबाट पनि केही मन्त्री सँगै बनाउन प्रयास गरे पनि विफल भएको थियो । जसका कारण प्रधानमन्त्रीमा ओलीसहित एमालेकै अरु २ जना मन्त्री बनेका थिए ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पनि ओलीले माओवादी केन्द्रलाई जतिसक्दो सरकारमा सहभागी गराउन पहल गरिरहेका छन् । आइतबार पनि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो । बैठकमा ओलीले माओवादीबाट सरकारमा सहभागी हुनेहरुको नाम पठाउन दाहालसँग आग्रह गरेको स्रोतको दाबी छ । तर, एकीकृत पार्टीको भावी कार्यदिशाका बारेमा सहमति भएपछि मात्र सरकारमा आफूहरु सहभागी हुने जवाफ दाहालले दिएपछि वार्ता बिनानिष्कर्ष नै सकिएको छ ।
भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा भएको वार्तामा माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पुष्टि गरे । उनका अनुसार बैठकमा पार्टी एकता र कार्यदिशाका बारेमा पनि छलफल भएको थियो ।
एउटै पार्टी बनाउने घोषणा गरिसकेका एमाले र माओवादीमा अहिले कार्यदिशाका बारेमा विवाद देखिएको छ । माओवादी केन्द्रले २१ औं शताब्दीको जनवाद एकीकृत पार्टीको कार्यदिशा हुनुपर्ने अडान राखेको छ । एमाले भने जनताको बहुदलीय जनवाद नै हुनुपर्ने अडानमा छ । दुवै दलको आ–आफ्नै अडानका कारण सरकारमा जाने–नजाने विषयमा माओवादी केन्द्र अन्योलमा छ । एकीकृत पार्टीको कार्यदिशाका बारेमा टुंगो नलगाई सरकारमा नजान माओवादीभित्रैबाट अध्यक्ष दाहालमाथि दबाब पनि छ । जनताको बहुदलीय जनवाद बाहेक अरुमा छलफल हुन नसक्ने एमाले अडानपछि माओवादी केही रुष्ट देखिएको छ । माओवादी केन्द्रका नेता मणि थापा भन्छन्, “बहुदलीय जनवाद त छलफलै हुनै सक्दैन रे । छलफल हुनै नसक्ने चिज संसारमा के छ ? यो विचार हो कि अचार ।” उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओको योगदानलाई निषेध गर्नेहरूले आफूलाई माक्र्सवादी, लेनिनवादी भन्न नसुहाउने भन्दै चिनियाँ जनवादी क्रान्तिको मूल्यांकनबिना अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन अपुरो रहने बताए । माओवाद र २१ औं शताब्दीको जनवादको अडानबाट माओवादी पछि हट्ने वा एमालेले त्यसलाई नस्विकारेको अवस्थामा माओवादीको सत्तारोहण थप असहज हुने माओवादी नेताहरु बताउँछन् ।
३ दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल नेकपा एमालेका नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन् । उनले भने, “अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो । माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन, अबको तीन दिनभित्रै दुई पार्टीवीच एकता हुन्छ र सरकारले पनि पूर्णता पाउँछ ।” उनले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे, “हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आह्वान गरिरहेका छौं ।” उनले दुई पार्टीवीचको एकता वैचारिक सवाल (जबज र २१ औ शताब्दीको जनवाद) कुनलाई मार्गदर्शक सिद्धान्त बनाउने भन्नेबारे अहिले दुवै पार्टीका प्रमुख नेतावीच छलफल चलिरहेको पनि सुनाए । फरक प्रसंगमा उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको बताए । उनले थपे, “हामी संशोधन गर्नु हुँदैन भन्ने पक्षमा छैनौं, बरु संशोधन अब कार्यकारी राष्ट्रपति बनाउनेगरी बहस गरौं । भाषा, सिमांकनमा अब कुनै विवाद छैन, जनताले जनमत दिइसकेका छन् ।” कार्यक्रममा नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मत चयन हुने अवस्था नरहेको बताए । उनले निर्वाचनमा प्राप्त भएको जनमतले पार्टी सभापति शेरबहादुर देउवालाई दलको नेता बन्ने अवस्था नरहेकोले दलको नेतामा देउवा उठ्न नहुने धारणा राखे । ओली नेतृत्वको सरकार भर्खरै बनेकोले हनिमुन पिरियड सकिएपछि सरकारको बारेमा सोच्ने उनको भनाइ थियो । उनले भने, “विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं ।” नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुँगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरू पनि सरकारमा सहभागी हुने स्पष्ट पारे । खनालले भने, “अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुंगोमा पुर्याउनेगरी छलफल भइरहेको छ ।” संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरू ओली नेतृत्वको सरकारमा जाने संकेत गरे । श्रेष्ठले भने, “हामी सरकारमा सहभागी हुनको लागि खुल्ला छौं, तर हाम्रा माग र मुद्दाबारे सरकारको प्रतिबद्धता जाहेर हुनुपर्छ ।” राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने स्पष्ट पारे । उनले भने, “संविधान संशोधन तत्काल हुनुपर्छ, अहिलेको जनमत पनि त्यही हो, जबसम्म संशोधन हुँदैन तबसम्म हामी सरकारमा जाने सवाल छैन ।” |