सम्झौता पालना होस् : पूर्वराजा ज्ञानेन्द्र «

सम्झौता पालना होस् : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले २०६२-०६३ सालको परिवर्तनका बेला भएका राजनीतिक सम्झौता पालना गर्न दलहरुसँग फेरि माग गरेका छन् । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफूले राजकीय अधिकार प्रयोगबाट गरिएको परिवर्तनका बेला भएका सम्झौता पालना हालसम्म नभएकोमा पनि असन्तुष्टि जनाएका छन् । तर, उनले के के सम्झौता भएका थिए भन्नेबारे केही खुलाएका छैनन् ।
२०६३ वैशाख ११ गते आफूले राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तनपछिको १ दशकमा देश र जनताको हितप्रति राजनीतिक दलहरुले जिम्मेवार व्यवहार प्रस्तुत नगरेको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन् ।
“पछिल्लो दशकमा देश र जनताको हितप्रति संवेदनशील र जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रीत सोचको पासोमा देशको राजनीति अल्झिएको छ । त्यसको समीक्षाको समय आएको छ,” उनले भनेका छन् । सबै नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवं एकतावद्ध समृद्ध बनाउने प्रजातन्त्र अहिलेको आवश्यकता रहेको उनले बताएका छन् । पछिल्लो समय सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रका रुपमा आत्मसाथ गर्नुपर्ने बाध्यता रहेको भन्दै असन्तुष्टि पनि जनाएका छन् । कानुनी राज एवं सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिले सम्म व्यहोर्नुपर्ने हो ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । “प्रजातन्त्रमा सबैले सम्मानित महसुस गर्दछन् भन्ने विश्वव्यापी मान्यता र विश्वास छ,” पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तिमा भनिएको छ, “तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान गर्नेक्रममा भएका कुनैपनि राजनीतिक सम्झौता, सहमति वा समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन ? यो वर्तमानमा जनतामा ज्वलन्त प्रश्न बनेर उब्जिएको छ ।”

प्रतिक्रिया दिनुहोस्