कार्यदलले सरकारलाई प्रतिवेदन बुझायो

नयाँ सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गर्न गठित वाम गठबन्धन कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । कार्यदलले आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।
संविधान र वाम गठबन्धनले तयार पारेको घोषणापत्रमा आधारित भएर नयाँ सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गरिएको कार्यदलका संयोजक एवं एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । कार्यदलले ५ वर्षभित्र जनताका आधारभूत समस्या समाधान हुने गरी विकास र सुशासनको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ । यस्तै, समाजबादउन्मुख आर्थिक–सामाजिक रुपान्तरण हुने गरी विकास, निर्माणका कामलाई नयाँ सरकारले युद्धस्तरमा अघि बढाउनुपर्नेमा जोड दिइएको पनि उनले बताए ।
प्रतिवेदनमा जनताका तात्कालिक समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । त्यसैगरी कार्यदलले ठूूला परियोजना सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्न पनि सरकारलाई सुझाव दिँदै २ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने, घर नहुनेलाई घर, हरेक घरमा रोजगारीको व्यवस्था गर्न पनि सरकारलाई सुझाइएको छ । कार्यदलले कर्णाली चिसापानी वहुउद्देश्यीय जलविद्युत् परियोजना, पूर्वपश्चिम उच्च गतिको रेलमार्ग निर्माण गर्न पनि सरकारलाई प्राथमिकता दिन सुझाव दिइएको गौतमले बताए ।