Logo

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको कोल्ड स्टोरमा

पर्वत– अहिले नेपाली स्याउ बजारमा पाइँदैन । नेपाली बजारमा भारत वा चीनबाट आयातित स्याउको मात्र बिक्री वितरण भइरहेको छ । तर पर्वतको एक कोल्ड स्टोरमा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ्रे कागती फार्मको कोल्ड स्टोरमा मुस्ताङ्गी स्वादिलो स्याउ भण्डारण गरिएको हो ।

बे–सीजनमा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो । पाँच महिनासम्म कोल्ड स्टोरमा राखिएको भए पनि स्याउ ताजै अवस्थामा छन् । भण्डारण गरिएका स्याउ बजारमा पठाउने तयारी भइरहेको छ । क्षेत्रीका अनुसार लागतअनुसार मुस्ताङको स्याउको मूल्य अहिले चार सय रुपैयाँभन्दा बढी प्रतिकेजी पर्न जान्छ । तर व्यवसायीले भने उक्त मूल्यमा खरिद गर्न आनाकानी गर्ने गरेको क्षेत्रीले बताए । उनले १८० रुपैयाँ प्रतिकिलो खरिद गरेर ल्याएको बताए ।

उनको कोल्ड रुममा अहिले एक हजार पाँच सय किलो स्याउ भण्डारण भएको क्षेत्रीले बताए । बे–सीजनमा बजारमा पठाउँदा उच्च प्रतिफल पनि पाइने र मुस्ताङको स्याउका लागि बजार अभाव पनि नहुने सोचेर भण्डारण गरेको भए पनि अहिले बजार नपाएको उनको गुनासो छ । आयातीत स्याउभन्दा महँगो मूल्य पर्ने भएकाले फलफूल व्यवसायीले आफ्नो स्याउ खरिद गरेर बिक्री वितरण गर्न आनाकानी गर्ने गरेको क्षेत्रीको गुनासो छ ।

उपभोक्ताले पनि गुणस्तरीय फलफूलभन्दा सस्तो र आयातीत नै रोज्ने गरेका कारण स्याऊ बिक्री गर्न समस्या भएको क्षेत्रीले बताए । क्षेत्रीले भने, ‘सदरमुकाम कुश्मा र पोखराका व्यवसायीसँग स्याउ बिक्रीका लागि सम्पर्क गरेको भए पनि उनीहरूले आनाकानी गर्ने गरेका छन् ।’ व्यावसायिक कागतीखेती गर्दै आएका क्षेत्रीले गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा कोल्ड स्टोर निर्माण गरेका थिए ।

कागतीको सिजन नभएका बेला स्याउ खरिद गरेर भण्डारण गरे पनि अहिले बिक्री गर्न समस्या भएको उनको गुनासो छ । ७० वर्षीय क्षेत्रीले विगत १० वर्षदेखि २० रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्दै आएका छन् । उनको बगानमा अहिले झण्डै एक हजार बोट कागती छन् । कागती उत्पादनमा अब्बल कृषक बनेको भन्दै प्रदेश सरकारले ६० प्रतिशत अनुदानमा उनलाई कोल्ड स्टोर उपलब्ध गराएको थियो । उनको फार्म कागतीको बेर्ना उत्पादनको स्रोत केन्द्रको रूपमा समेत कृषि ज्ञान केन्द्रले मान्यता दिएको छ ।

यस वर्ष १४ हजार बेर्ना उत्पादन भइरहेको क्षेत्रीले बताए । क्षेत्रीले कागतीसँगै जिल्लामै पहिलोपटक व्यावसायिक कुरिलोखेती समेत गर्दै आएका छन् । कागती, कागतीका बेर्ना, कुरिलो र माहुरीपालन समेत गर्दै आएका क्षेत्रीले वार्षिक खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । लामो समयसम्म राजधानीमा व्यापार व्यवसाय गर्दै आएका क्षेत्रीले गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्ने र बेरोजगार युवायुवतीलाई स्वरोजगार सिर्जना होस् भन्ने उद्देश्यले गाउँ फर्किएर कागतीखेती सुरु गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्