हिउँदकै वर्षामा दमकका सडक धान रोप्न योग्य

बिर्तामोड– लामो समयपछि परेको पानीले किसानलाई राहत दिए पनि झापा दमकका बासिन्दालाई पानीले राहत नभएर आहात दिएझैं भएको छ । लामो समयपछि परेको पानीले झापा दमकको मुख्य बजार क्षेत्रका सडकमा हिँड्न वा सवारीसाधन कुदाउन होइन धान रोप्नका लागि योग्यझैं भएको छ ।
लामो समयपछि परेको पानी झापाको दमकको मुख्य बजार क्षेत्रका सडकमा जम्दा सडकमा हिँड्दा वा सवारी गुड्न मुश्किलको अवस्था देखिएको छ भने सडकमा आवतजावत गर्न गाह्रो भएको छ । सडक आसपासका बासिन्दा होस् या त्यस क्षेत्रमा व्यापार गर्ने व्यापारी पानी नपर्दा धुलोले बसिनसक्नु अवस्थामा थिए भने लामो समयपछि परेको पानी सडकमा जमेर बनेको हिलोले झन सकस बनाएको छ ।
विकासको नाममा दमकका सडक भत्काएर खण्डहर बनाएपछि अहिले दमकका बासिन्दा सास्ती भोग्न बाध्य छन् । अहिले दमक बजारमा किनमेलका लागि आउनु पर्यो भने अर्को जोर कपडा बोकेर आउनु पर्ने अवस्था रहेको स्थानीय विष्णुप्रसाद पोखरेल बताउँछन् । दमकका सडक देख्ने, हिँड्ने र आसपासमा पसल गर्नेले भगवान पुकार्नुबाहेक गर्नु बाहेक अरु अवस्था नभएको उनको भनाइ छ ।
सरकारी निकाय पुकार्दा, स्थानीय, प्रदेश र संघीय सरकारलाई पुकार्दा पनि केही नभएको उनको दु:खेसो छ । दुई वर्षअघि भत्काइएको हिमावि सडक अहिले हिँड्न वा सवारीसाधन कुदाउन होइन धान रोप्नका लागि योग्यझै भएको उनी बताउँछन् । दमकका मुख्य बजार क्षेत्रमा ढल बनाउँदा भत्काइएको सडक वर्षौंदेखि पुन: मर्मत नगरेका कारण आफूहरूले सास्ती भोग्दै आएको स्थानीय निश्चल सिंखडा बताउँछन् ।
दमकका भित्री बजारका अधिकांश सडक भत्काएर लथालिंग बनाएर छोडेपछि स्थानीय बासिन्दाले धुलोको सास्ती भोगिरहेकोमा अहिले पानी जमेर हिँड्नै नसक्ने बनाएको उनको भनाइ छ । सडक भत्काएर धुलो उड्न थालेपछि अधिकांश बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी लाग्ने श्वास प्रश्वासमा समस्या आउने सम्मका समस्या बढेको उनको भनाइ छ । दमक नगर प्रमुख रामकुमार थापाले सडकको समस्या चाँडै समाधान गर्ने दाबी गरे ।