Logo

रोजगारीका लागि पहिलो पटक विदेशिने संख्या दैनिक १२ सय

काठमाडौं- रोजगारीका लागि पहिलो पटक विदेश जाने नेपालीको संख्या दैनिक औषतमा एक हजार एक सय ८८ जना देखिएको छ । यो संख्या पुनः श्रमस्वीकृति लिएर जानेबाहेक पहिलो पटक जानेको मात्र हो ।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नयाँ र पुराना गरी ४ लाख ६८ हजार १ सय ३५ जना विदेश गएका छन् । यसमध्ये पहिलो पटक नयाँ श्रमस्वीकृति लिएर जानेको संख्या २ लाख ८५ हजार ३ सय ५२ जनामात्र हो । यो औषतमा दैनिक १ हजार १ सय ८८ जना हो । यसलाई प्रतिमहिनाका हिसाबले हेर्दा औषतमा ३५ हजार ६ सय ६९ जना हुन आउँछ ।

यो ८ महिनामा पुनः श्रमस्वीकृति लिएर जानेको संख्या भने एक लाख ८२ हजार ७ सय ८३ मात्र छ । यो औषतमा दैनिक ७ सय ६१ जना हो । नयाँ र पुराना गरी दैनिक औषतमा १९ सय ५० जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो तथ्यांकअनुसार कामका लागि विदेश जाने कुल संख्यामा नयाँको हिस्सा झण्डै ६१ प्रतिशत देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आन्तरिक रोजगारीको क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै विदेशिने नयाँ युवाको संख्या चालु आवमा समेत उच्च देखिएको छ । दुई वर्षअघिको सामान्य अवस्थामा नेपालबाट मासिक औषत २४ हजार नयाँ युवामात्र वैदेशिक रोजगारीमा जाने गरेकोमा दुई वर्षयता यसको दरमा वृद्धि भएको छ ।

विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि फागुनसम्मको तथ्यांकले ४ लाख ६८ हजार १३५ मध्ये नयाँको हिस्सा ६१ प्रतिशत रहेको देखाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले चालु आवमध्ये पनि पछिल्लो ३ महिनायता वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या बढेको बताए । गत आर्थिक वर्षको पहिलो ८ महिनामा ५ लाख २४ हजार १२९ युवाका लागि श्रमस्वीकृति जारी भएको थियो । यो वर्ष ५५ हजार ९९४ घटेर ४ लाख ६८ हजार कायम भएको छ ।

विभागका अनुसार चालु आवको साउन देखि फागुनसम्ममा न्यूनतम २४ देखि अधिकतम ५३ हजारसम्म नयाँ युवाले श्रमस्वीकृति लिएको देखिन्छ । पुरानाका तुलनामा नयाँ युवा विदेशिएको तथ्यांकले विदेश मोह कम भएको देखिदैन । गत आवको यो अवधिको तुलनामा चालु आवमा करिव ५६ हजार कम श्रमिकले श्रमस्वीकृति लिएको विभागको तथ्यांक भए पनि ठूला चाडपर्व सकिएका कारण आगामी ४ महिनामा बढ्ने विभागको अनुमान छ । पछिल्लो समय साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जानेको संख्या बढ्दै गएको देखिएको छ । फागुनको तथ्यांकले खाडी राष्ट्रमध्ये पनि यूएई जानेको संख्या बढेको देखाएको छ । यसरी नै कतार, मलेसिया, साउदी अरब, कुबेत, बहराइन, कोरिया जाने युवाको संख्या पनि उच्च छ ।

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको आठौं महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि नेपाल आउने रेमिटेन्स वृद्धि हुने देखिन्छ । लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आएपछि विगत डेढ वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि मासिक औषत ३५ हजार ६ सय ६९ नयाँ युवा रोजगारी खोज्दै विदेश गएका छन् ।

नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार पछिल्ला दुई वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । दुई आवमा भने प्रमुख श्रम गन्तव्यमा रोजगारीका लागि जाने युवाको संख्या घटेको थियो । गत आवबाट फेरि यो बढ्न थालेको छ । अघिल्लो आवमा ७ लाख ७१ हजार युवाले नयाँ र पुनः श्रमस्वीकृति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्