सन्दर्भः अन्तर्राष्ट्रिय खानेपानी दिवस
पानीको बढ्दो आवश्यकता

अन्तर्राष्ट्रिय खानेपानी दिवसको अवसर पारेर खानेपानीको महत्वबारे सचेतना जगाउन हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । यसमा स्वच्छ पानीको महत्वका बारेमा सचेतना फलाउँदै यसको दिगो व्यवस्थापनका लागि वकालत गर्नु र यसका चुनौती तथा फाइदाहरूका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको बताइएको छ ।
स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ । यसरी मनाउन लागिएको जलसप्ताहको सहरी क्षेत्रका पानीजन्य समस्या तथा नेपालका जलस्रोतको दिगो व्यवस्थापनबारे चेतना जगाउने, सर्वसाधारण तथा स्कुल–कलेजका विद्यार्थीहरूमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसंगका बारेमा चेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबै सक्रिय हुनुपर्ने भन्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ देशमा राष्ट्रिय जल दिवस मनाइने भएको छ । नेपालले सन् २००९ देखि मनाउँदै आएको यस वर्षको जल सप्ताहमा बढ्दो पानीको मात्रालाई सम्बोधन गर्न, सेवा पुर्याउन देखिएका चुनौतीहरूको व्यवस्थापन गर्न सहकार्यका लागि सचेतना फैलाउने कार्य गर्ने जानकारी जल तथा ऊर्जा आयोगले जनाएको छ । यसमा सहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरूको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने, पानीको व्यवस्थापन, विद्यमान नीतिहरूमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, जल प्रदूषण रोक्न र प्रदूषणले गर्दा खाद्य सुरक्षामा परेको असरबारे पनि सरोकारवालाहरूलाई सचेतना जगाउने कार्यक्रमहरू वर्षभरि गर्नेतर्फ आयोगले सोचिरहेको छ । जुन कार्यक्रमअनुसार उपत्यकाभरिका ढुंगेधाराको संरक्षण र संवद्र्धन गर्न समितिको गठन गरिने, काठमाडौं उपत्यकाको भूमिगत पानीको स्रोतको अवस्था, चुनौती तथा संरक्षणसम्बन्धी सम्मेलन आयोजना गरिने भएका छन् । पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ ।
पानीबिनाको जीवन कल्पना गर्न पनि सकिँदैन । स्वच्छ र सुरक्षित खानेपानीको अभावमा बाँचेका नेपाली ग्रामीण जनतालाई खानेपानी तथा सरसफाइ सेवा पुर्याउने पवित्र उद्देश्यसहित स्थापना भएको छ । अझै पनि करोडौं जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन् । यसमा भन्ने नै हो भने नेपाल सरकारले जनतालाई यी सुविधा प्रदान गर्नमा समितिले स्थापनाकालदेखि हालसम्म सुरक्षित खानेपानीको क्षेत्रमा २१.४३ प्रतिशत र सरसफाइको क्षेत्रमा १८.२१ प्रतिशत योगदान पुर्याएको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ ।
यही हिसाबमा घर बनिरहे आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार काठमाडौं जिल्लाको क्षेत्रफल ३ सय ९५ वर्गकिमि (३९ हजार ५ सय हेक्टर) छ । राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ४३ करोड लिटर छ । यसरी प्रत्येक वर्ष मागमा १० प्रतिशतका दरले वृद्धि हुने कुरा नेपाल खानेपानी संस्थानले जनाएको छ । हाल दैनिक १० करोड लिटर पानी मात्र आपूर्ति भइरहेको अनुमान छ । यहाँ वर्षायाममा १५ करोड लिटर भए तापनि हाल आएर १० करोड लिटर मात्र पानी आपूर्ति भएको सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ ।
यसरी उपलब्ध गराइएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ । जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गई सवा २ करोड लिटरजति मात्र पर्न आउँछ । काठमाडौंमा रहेका रिजभ्र्वायरहरूको क्षमता सबैभन्दा बढी चाबहिल रिजभ्र्वायरको ८५ लाख लिटर, बालाजुको ३६ लाख लिटर, बाँसबारीको २० लाख लिटर र सुन्दरीघाटको ८ लाख लिटर रहेको छ । काठमाडौंमा प्रत्येक वर्ष ४-५ हजार नयाँ धारा थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाको प्रतीक्षामै लालायित छन् ।
अन्त्यमा भन्नुपर्दा, केही दिन अघिदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण कार्य भइरहेको छ । यो पानी वितरण कार्य कहिलेसम्म रहिरहन्छ भन्ने कुरा अन्योलपूर्ण छ । विगतको परिपाटीलाई दृष्टिगत गर्ने हो भने यहाँ वर्षायाम लाग्नेबित्तिकै मेलम्चीको पानी वितरण बन्द गर्ने परम्परा रहिआएको छ । त्यसले गर्दा यस वर्ष पनि के हुने हो भन्न सक्ने स्थिति हालसम्म छैन । यस तथ्यलाई सम्बन्धित क्षेत्रले विभिन्न सञ्चारमाध्यममार्फत बताउँदै आएको छ । मूलतः गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनामा गएको पहिरोका कारण मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउन रोकिएको थियो ।
यसरी सिन्धुपाल्चोकको यांग्री, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार (बफर ड्याम) हेडवक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ । तसर्थ यो बिगारेको संरचना पूर्ण रूपमा बनिनसकेको सम्बन्धित निकायको भनाइ एकातिर छ भने अर्कातिर यस वर्षको वर्षायाम पनि सुरु हुन लागिरहेको अवस्था छ । मेलम्ची पनि ठूलो राष्ट्रिय गौरवको आयोजना हो । खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्ने गरी कार्ययोजनासहित काम गरिरहेको छ ।
सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार १ लाख ८० हजार निजी र १ हजार १ सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् । यो कार्यका लागि केयूकेएलले ३५ वटा सतह स्रोत, ५९ वटा ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल वितरण गर्दै आएको छ । हाल उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर छ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदयाममा ३० करोड लिटर मात्रै हुनेछ । त्यसैले मेलम्चीअन्तर्गत दोस्रो चरणमा यांग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७-१७ करोड लिटर आएपछि मात्रै उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने सम्बन्धित क्षेत्रको दाबी रहेको बुझिन्छ ।
यसर्थ बढ्दो जनभारले गर्दा हराभरा भएका वनजंगलहरूको नाश एकातिर हुँदै छ भने अर्कातिर कृषियोग्य भूमिको ह्रास बढ्दै छ । विकसित देशहरूमा पनि पानीको दुरुपयोग एवं पाइपलाइनमा चुहावट नभएको होइन, जुन लगभग २० देखि ३० प्रतिशतसम्म भएको पाइन्छ । तर, नेपालमा यस किसिमको चुहावट ४० प्रतिशतसम्म हुने अनुमान छ । आजको बदलिँदो युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यी समस्याको समाधानका लागि वैकल्पिक उपायहरू अपनाउनुपर्ने हुन्छ । यसबाट के कुराको पुष्टि हुन्छ भने बर्सातको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको आपूर्तिमा निकै ठूलो सहयोग मिल्छ । यसका लागि सम्बन्धित निकायहरूले बेलैमा विचार पुर्याएर कार्य गरेको खण्डमा अवश्य पनि हाम्रो देशका जनतालगायत उपत्यकावासीहरू पानीको समस्याबाट मुक्त हुने कुरामा कसैको पनि दुईमत नहोला ।
यसलाई मध्यनजर राखेर सम्बन्धित निकायले बेलैमा ठोस कदम चाल्न ढिला भइसकेको छ । अतः बेलैमा सचेत भई यसको स्रोत संरक्षण र संवद्र्धनमा उचित ध्यान पुर्याउन सकेको खण्डमा भोलिका आमजनतालाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ ।