विकास र समृद्धिको अभियानमा सहभागी हुन राष्ट्रपतिको आह्वान «

विकास र समृद्धिको अभियानमा सहभागी हुन राष्ट्रपतिको आह्वान

 

एनआरएनए नवौं विश्व सम्मेलन सुरु

नेपालको विकास र समृद्धिको अभियानमा सहभागी हुन आह्वान गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।मंगलबार सुरु भएको विश्व सम्मेलन तथा महाधिवेशनमा विश्वका विभिन्न ८१ मुलुकका २ हजार ५ सय जना प्रतिनिधिसहभागी छन् ।
सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैसंघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेको बताइन् ।देशको आर्थिक विकास र समृद्धि गर्न सरकारसँग लगानी साझेदार बन्न एनआरएनसँग अग्रह गरिन् । उनले विकास र समृद्धिको यात्रा अभियानको रूपमा अगाडि बढिरहेको अवस्थामा व्यक्तिगत र सामूहिक लगानीमार्फत् समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानमा सहभागी हुन आह्वानगरिन् । “गैरआवासीय नेपालीहरूलाई आफनो जन्मभूमिमा लगानी गर्न मेरो अनुरोध छ,” राष्ट्रपति भण्डारीले भनिन्,“राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भएको तर अब त्यस्तो हुने छैन ।” लगानीका लागि आन्तरिक र वाह्य दुवै ढंगले अनुकुल वातावरण सिर्जना भइसकेको जनाउँदै सरकारले लगानी सुरक्षाका लागि विभिन्न नीतिगत व्यवस्था गरेको बताइन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालको विकासमा प्रयोग गर्न आग्रह गरे । उनले एनआरएन समुदायको भावनाअनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने प्रक्रिया सुरु भइसकेको बताए ।एनआरएनए अध्यक्ष भवन भट्टले विगत २ वर्ष सहकार्य, सहमति, सम्मान त्याग र मर्मको संस्कार अझ बढाउदै गएको बताए । “सबै हात, एकै साथ अन्तर्गत नै हामीले योजनाको प्रक्रियालाई समावेशी बनायौं, जसले गर्दा हामी ठोस योजनाहरूपूर्ण स्पष्टताका साथ अघि बढन सफल भयौं,” उनले भने, “त्यसैले हामीले आज उल्लेख गर्न लागेका विषयहरू प्राप्त गर्न लागेको महशुस गरेका छौं ।” उनले आफ्ना टिमका साथीहरूलाई कहिलै निरास नदेखिकन सुखदुःखका बीच केही सफलता, केही सिकाई हात पादै उपलब्धि प्राप्त गरेको बताए । उनले आफ्नो कार्यकालमा महत्वका साथ अघि बढाएका दर्जनभन्दा बढी परियोजना र सामाजिक कार्यहरू वर्तमान कार्यसमितिसम्म आइपुग्दा लगभग पूरा भएका बताए ।
अध्यक्ष भट्टले एकीकृत लाप्राक नमुना बस्ती निर्माण सम्पन्न भइ हस्तान्तरण गरिएको, शंखमुलघाट उद्यानको निर्माण सम्पन्न भइसकेको, ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माणसम्बन्धी मास्टरप्लान तयार भइ जिर्णोद्धार तथा पुननिर्माण काम सुरु हुने चरणमा रहेको लगायतका एक दर्जनभन्दा धेरै प्रगतिविवरण प्रस्तुत गरेका थिए ।नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनिसरकारले लगानीमैत्री वातावरण बनाएको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउन एनआरएनसँग अनुरोध गरिन् ।
सम्मेलनको पहिलो दिन मुलुकको आर्थिक विकासका लागि स्रोतहरूको परिचालन, गैरआवासीय नेपालीहरूको कानूनी अधिकार र उत्तरदायित्व लगायतका विषयमा छलफल भएको छ । तीन दिने सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएका कारण एनआरएनहरू विषयगत छलफलमा भन्दा चुनावी जोडघटाउमा बढी व्यस्त भएका छन् । अध्यक्षका लागि उपाध्यक्षदोय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन । सम्मेलनस्थल ह्यात होटलमा उम्मेदवारहरू समर्थक परिचालन गरेर भोट माग्न व्यस्त छन् । बुधबार उम्मेद्वारी दर्ता, दाबीविरोध, निर्वाचन र नतिजा सार्वजानिक गर्नेे कार्यक्रम रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्