Logo

दोस्रो जिरी महोत्सव हुने

दोलखा– सगरमाथाको प्रदेशद्वारको रुपमा चिनिने पर्यटकीय नगरी जिरीमा दोस्रो जिरी महोत्सव २०८० हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा जिरीको पर्यटन, आर्थिक, कृषि, संस्कृतिको विकासका लागि महोत्सव आयोजना गरिएको हो ।

‘नेपालको स्वीजरल्याण्ड, सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन, संस्कृति र उद्योगका आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । चैत २३ देखि सुरु हुने महोत्सव २०८१ वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा स्थानीय उत्पादनको साथै जिरेल समुदायको सांस्कृतिक कार्यक्रम र जिरेल समुदायकै खानाको परिकार महोत्सवको मुख्य आकर्षण हुने अध्यक्ष श्रेष्ठले बताए । जिरी नगरपालिकामा बहुसंख्याक रुपमा बसोबास गर्ने शेर्पा, नेवार समुदायको झाँकी, सांस्कृतिक कार्यक्रमसमेत महोत्सवको आकर्षण बन्ने छ ।

महोत्सव अवधिभर जिरीका गन्तव्य चेर्दुङ, ठूलानागी, हनुमन्ते, स्टोनपार्क, गुराँसपार्क, बुद्धपार्क, ढुङ्गेगुम्बा श्यामा, भ्यूटावर खावालगायतका स्थानमा घुमघाम गराउने र बस्न होटल व्यवसायीले प्याकेज र छुटको व्यवस्थासमेत गर्ने छन् । महोत्सवमा दैनिक नयाँ नयाँ कार्यक्रमको व्यवस्थासमेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि २०६८ सालमा दोलखा उद्योग वाणिज्य संघ जिरीले प्रथम जिरी महोत्सव गरेको थियो । जिरी युवा सञ्जालको आयोजनामा ५ वर्षअघि २ दिने हुचिल उत्सवसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्