Logo

पर्यटकीय गन्तव्यको जानकारी क्यूआर कोडबाट

बागलुङ– बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रका धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी क्यूआर कोडमार्फत दिन सुरु गरेको छ । नगर क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटकको अकर्षणका लागि डिजिटल माध्यम अपनाइएको हो ।

नगर क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्य प्रवद्र्धनका लागि क्यूआर विधि प्रयोग गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।सुरुमा नगरक्षेत्रका ११ गन्तव्यलाई क्यूआरमा समावेश गरिएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

‘सूचना प्रविधिको प्रयोगमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने हेतुले क्यूआर अभियान सुरु गरेका हौं’ नगर प्रमुख श्रेष्ठले भने, ‘यसको प्रभाव हेरेर अन्य गन्तव्य पनि जोड्दै जाने छौं ।’ डिजिटल अभियानमा समावेश गन्तव्यसम्म पुग्ने नक्सासहित त्यहाँको एतिहासिक, तथा धार्मिक महत्वलाई समावेश गरिएको छ । जसलाई अंग्रेजी र नेपाली दुवै भाषमा पढ्न र सुन्न पाउने व्यवस्था गरिएको छ ।

क्यूआर अभियानले एकबाट अर्को पर्यटकीय क्षेत्रमा आकर्षण गर्न मद्दत पुग्ने नगरपालिकाको विश्वास छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका स्थानको सम्पूर्ण जानकारी डिजिटल माध्यमबाट अध्ययन गरेर पर्यटक पुग्न सक्ने नगर उपप्रमुख राजु खड्काले बताए ।

‘धार्मिक तथा पर्यटकीय गन्तव्यको महिमा थप उजागर हुने छ भन्ने हाम्रो विश्सास छ’ खड्काले भने, ‘कुनै पनि स्थलमा पुग्नुभन्दा पहिला उक्त स्थानको नक्सा र जानकारी घरबाटै लिन सकिने छ ।’ अंग्रेजी भाषमा समेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा जानकारी लिन विदेशी पर्यटकलाई समेत सहज हुनेछ ।

नगरपालिकाका धेरै पर्यटकीए क्षेत्रमध्ये ११ स्थानलाई क्यूआरमा समावेश गरिएको छ । पर्यटनमार्फत नगरको आर्थिक गतिविधि चलायमान बनाउन यसले सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठ बताउँछन् । ‘पर्यटकीय स्थानको जानाकारी सहज ढंगबाट दिन सके पर्यटकको अवगमन तथा बसाई दर बढ्छ भन्नेमा म विस्वस्त छु’ श्रेष्ठले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको आवगमनमा हुने वृद्धिसँगै आर्थिक गतिविधि पनि बढ्ने छ ।’ पर्यटकीय गन्तव्यको पहिचान र विकासमा लाग्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्