महरालाई थप तीन दिन थुनामा राख्न अनुमति «

महरालाई थप तीन दिन थुनामा राख्न अनुमति

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार अदालत पेश गरिएका महरालाई अदालतले म्याद थपेको हो ।
महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेयता महरा १० दिन थुनामा बसिसकेकाले अब तीन दिन थुनामा रहनेछन् ।
बीचमा दसैं बिदा परेकाले म्याद थपका लागि मंगलबारमात्र प्रहरीले महरालाई अदालतमा पेश गरेको थियो । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना गरिने बताइएको छ ।
महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुव्र्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए ।
जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले दुवै पक्षको बहस सुनेपछि थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
बहसका क्रममा सरकारी वकिलले महरासँग बयान नसकिएको भन्दै थप तीन दिन मागेका थिए । महराका पक्षबाट बहस गरेका अधिवक्ता रमण श्रेष्ठलगायतले म्याद थप्न नहुने जिकिर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्