Logo

सवारी साधनबाट १५ करोड राजस्व

बारा– मधेश प्रदेशको ८ जिल्लाको सवारी साधनबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो । सवारी नियम उल्लंघन गर्ने १३ हजार १०१ सवारीको जरिवानाबाट ट्राफिक प्रहरीले उक्त राजस्व असुल गरेको देखिएको छ ।

गत आर्थिक वर्षमा २६ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्दा मापदण्ड हेरेर पाँच सयदेखि १ हजार पाँच सय र अधिकतम पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने गर्दछ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले प्रदेशका सबै जिल्लाबाट दैनिक १० लाख बढी राजस्व संकलन हुने कार्यालयले जनाएको छ ।

बाराको अमलेखगन्जदेखि प्रदेशको राजधानी जनकपुरसम्मका विभिन्न स्थानमा ट्राफिक नियम कडाइ गर्न राखेको सवारी चेकजाँच पोस्टमार्फत सवारी नियम उल्लंघन गर्नेमाथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । प्रदेशमा सवारी नियम व्यापक उल्लंघन हुन थालेपछि मधेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३ देखि ४ किलोमिटरको फरकमा चेकपोस्ट राखेर कारबाही अभियान तीव्र पारेको हो ।

प्रतिक्रिया दिनुहोस्