Logo

लक्ष्य अनुसार राजस्व उठाउन असफल

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म लक्ष्यभन्दा २१.७२ प्रतिशत कम राजस्व संकलन भएको छ । फागुन महिनासम्म एक अर्ब ६८ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा एक अर्ब ३२ करोड मात्रै संकलन भएपछि लक्ष्य अनुसार राजस्व संकदनमा असफल देखिएको हो ।

कार्यालयले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, घर बहाल कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा करलगायतका शीर्षकमा कर संकलन गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत प्रेमबहादुर सुनारले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क, घर बहाललगायतका सबै कर लक्ष्य अनुसार संकलन हुन नसकेको बताए ।

लक्ष्य नभेटाउने सबै भन्दा धेरै घरबहाल कर रहेको उनले जानकारी दिए । तीन करोड २० लाख लक्ष्य राखिएकोमा एक करोड ४५ लाख मात्रै राजस्व संकलन भएको उनले बताए । मूल्य अभिवृद्धि करले ६४.३४ प्रतिशत मात्रै लक्ष्य भेटेको छ । ५९ करोड २७ लाख लक्ष्य राखेकोमा ३८ करोड १३ लाख मात्रै कर संकलन भएको छ । ब्याजकरको पनि राजस्व संकलन खस्किएको छ । लक्ष्यको ७८.३९ प्रतिशत मात्रै प्रगति हासिल भएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार तीन करोड ४५ लाख लक्ष्य राखिएकोमा दुई करोड ७१ लाख रुपैयाँ मात्रै ब्याजकर संकलन भएको छ । आयकर संकलनमा पनि गिरावट आएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लक्ष्यको ९२.९३ प्रतिशत मात्रै आयकर संकलन भएको कर अधिकृत सुनारले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ७३ करोड दुई लाख लक्ष्य निर्धारण गरिएकोमा ६७ लाख ८५ हजार रुपैयाँ मात्रै आयकर संकलन भएको छ ।

नयाँ व्यवसाय नथपिएको र भएका व्यवसाय टाट पल्टिदै जानु, देशमा उत्पादन तथा उपभोग कम हुनु एवं क्रयशक्तिमा ह्रास आउँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो । देशै भरिको आर्थिक मन्दीको असर दाङमा पनि धेरै नै देखिएको निजी क्षेत्रको भनाइ छ । केही सटर बन्द गरेर कोठा लिएर बसेका छन् भने केही विदेश पलायन भइरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्