पर्यटकीय राजधानी र माछापुच्छ्रेबाट हुन सक्ने योगदान

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्र्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी भनी घोषणा गरेका छन् । वास्तवमा पोखरालाई ‘पर्यटकीय राजधानी’ भनी गरिएको घोषणा सभा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको तजबिजमा मात्रै भएको हो, त्यसमा केन्द्र सरकारको भूमिका छैन, केन्द्र सरकारले कुनै निर्णय गरेको होइन ।
धेरै समय अघिदेखि नै पर्यटन व्यवसायीहरूमाझ पोखरालाई अनौपचारिक रूपमा पर्यटकीय राजधानी भनेर भन्ने गरिन्थ्यो, चिन्ने गरिन्थ्यो । जे भए तापनि हालसालै देशका सरकार प्रमुख अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा औपचारिक रूपमा गण्डकी प्र्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी भनी घोषणा गरिएको छ । त्यसलाई अब व्यवहारमै कार्यान्वयन गरौं । यसै सन्दर्भमा यहाँ देशको पर्यटकीय राजधानी भनी घोषणा गरिएको पोखरा र समग्र गण्डकी प्रदेशकै लागि प्रकृतिले दिएको उपहार तथा एक अमूल्य निधिका रूपमा रहेको माछापुच्छ्रे हिमालका सम्बन्धमा लेख्ने जमर्को गरिएको छ ।
त्यसो त उचाइका हिसाबले माछापुच्छ्रे हिमाल धेरै अग्लो पनि होइन । माछापुच्छ्रे हिमालको उचाइ ६ हजार ९ सय ९३ मिटर मात्रै छ । माछापुच्छ्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्छ भने सो हिमाललाई अंग्रेजी भाषामा ‘फिसटेल’ र स्वीस–जर्मन भाषामा ‘म्याटर्नहर्न’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे’ नाम भइहाल्यो ।
अहिले आरोहणका लागि निषेध गरिएको माछापुच्छ्रे हिमाल सुरुदेखि नै आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो ? यो विषयमा तपाईं–हामीमध्ये धेरै कमलाई मात्रै वास्तविकता थाहा छ । त्यसैले अब हामीले माछापुच्छ्रे हिमाल आरोहण गर्न दिने-नदिने भन्ने सम्बन्धमा फेरि आमजनताबीच व्यापक रूपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने इतिहास हेर्दा-पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए ।
सम्भवतः उनीहरू बेलायती टोली थिए । सो टोलीले माछापुच्छ्रे आधार शिविर जाने बाटो खोज्दै जाने क्रममा त्यस बेला पञ्चेनी वराहनजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान पाइँदैनथ्यो भन्ने थाहा भयो । त्यस कारणले गर्दा नै बेलायती पर्वतारोही टोलीले सोभन्दा माथिको ठाउँलाई ‘अन्नपूर्ण सेन्चुरी’ नामकरण गरे ।
सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे हिमाल आरोहणको प्रयास गर्यो ।
सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण हिमाल आरोहण गर्न असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो । साँच्चै एक जना मानिसको चाहनाले त्यो बेलाको नियमलाई प्रभावित गरेको देखिन्छ, जुन सरासर गलत नजिरका रूपमा स्थापित भयो । नत्र हालसम्म सगरमाथा हिमालपछि सम्भवतः माछापुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरू ओइरिने थिए कि ?
त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरै पछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएकाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्कसंगत र न्यायसंगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हो कि ? कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्ने हुन्छ ।
पछिल्लो पटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने-खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय-सुझाव दिइसकेका छन् । माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने-नदिने अधिकार केन्द्रीय सरकारलाई मात्र छ ।
नेपाली समाज त्यो बेला (लगभग ६७ वर्षअघि) को भन्दा आज धेरै फरक सोच्ने र बुझ्ने भइसकेको छ । अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखिराख्नु ठीक होला कि आरोहणका लागि खुला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीले माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ भन्लान् ।
त्यसैले अब प्रदेश सरकार र केन्द्र सरकारले जतिसक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहणप्रेमीहरूका लागि खुला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले पोखरा र पोखरा सहरवरपरको मात्रै नभएर गण्डकी प्रदेश र समग्र देशको विकासमै योगदान गर्न सक्ने सम्भावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरू हेरेर केही सुगम स्थानमा छ, आकर्षक छ अनि अति सुन्दर पनि छ । उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन छ ! यातायातका दृष्टिले पनि धेरै सुगम स्थानमा रहेको छ । गाउँ–बस्तीबाट नजिक पनि छ ।
त्यसैले हालै औपचारिक रूपमा घोषित देशको पर्यटकीय राजधानीको आम्दानी बढाउन, पर्यटकीय राजधानी पोखरालाई प्रमुख आयस्रोतका रूपमा विकास गर्न र समग्र पर्यटन क्षेत्रको रोजगारी बढाई विदेशी मुद्रा आर्जन गर्न पनि माछापुच्छ्रे हिमाल आरोहणका लागि नेपाल सरकारले जतिसक्दो चाँडो खुला गर्नुपर्ने देखिन्छ ।