Logo

महसुल भुक्तानी नहुँदा कुश्मा नगरपालिकाका सडक बत्ती काटियो

पर्वत– लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिकाका सडक बत्तीको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिका अन्तर्गतका सबै सडक बत्ती सोमबार काटिदिएको हो ।

नगरपालिकाले २०७५ सालदेखि सडक बत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाईजस्ता ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नु परेको हो । नगरपालिका ग्राहक भएर जोडिएका सडक बत्तीलगायतको महसुल रकम पटकपटक माग गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए ।

कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर भुक्तानीका लागि ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रूपमा बिजुली काट्न थालेको उनले बताए । जनप्रतिनिधि र नगरका कर्मचारी प्रशासनसँग छलफल गर्दा जनप्रतिनिधि सकारात्मक भए पनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार नभएको सुवेदीले बताए ।

विद्युत प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीवापत कुश्मा नगरपालिकाले ७४ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत प्राधिकरणबीच चार वर्षअघि सडक बत्ती राख्ने सम्झौता भएको थियो । सम्झौताअनुसार सडक बत्तीवापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ ।

कुश्मा नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८ र ९ तथा वडा नं. २ का केही भागमा सडक बत्ती विस्तार गरिएको छ । झण्डै १५० भन्दा बढी ठाउँमा सडक बत्ती विस्तार गरिएको थियो । गत असोज १० गते सम्पन्न १०औं नगरसभाले विद्युत महशुल भुक्तानीका लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिृकत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप छ । प्राधिकरणले लाइन काटेका सडक बत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले जानकारी दिए ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएका कारण महसुल भुक्तानी रोकिएको बताए । उनले अहिले आधार रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको बताए । एक साताभित्र महसुल भुक्तानी गर्ने उनको भनाइ छ ।

लामो समयसम्म बक्यौता रहेको रकम एक साताभित्र भुक्तानी गर्छांै लाइन नकाटिदिनुहोस् भनेर वितरण केन्द्र र नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पनि अनुरोध गरेको उनको भनाइ छ । उनका अनुसार नगरकार्यपालिकाको कार्यालयको विद्युत महसुल रकम भने नियमित भुक्तानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्