Logo

नाग्म–गमगडी सडकमा ३२ करोडका १० पुल

जुम्ला– रारा जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगडी’ सडकअन्तर्गत विभिन्न खोलामा निर्माण हुने १० वटा पक्की पुलमध्ये चारवटा पुलको निर्माणकार्य अझै सुरु हुनसकेको छैन । सडक डिभिजन जुम्लाको पहल तथा पुल विभागको लगानीमा ठेक्का आह्वान भई निर्माण हुने भनिएका १० मध्ये चारवटा पुलको निर्माण कार्य अझै सुरु नभएको हो । ६ वटा पुलको निर्माणको भौतिक प्रगति न्यूनतम २५ देखि ५० प्रतिशतसम्म भए पनि चारवटा पुलको निर्माणकार्य नै सुरु भएको छैन ।

नाग्म–गमगडी सडकको प्रवेशद्वारमै जग्गाको मुआब्जा विवादले भने पुल निर्माणअघि बढ्न नसकेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए । कालिकोट–हिमा गाउँपालिकाको सीमावर्ती क्षेत्र पातरखोलामा कालिकोटतर्फको जग्गा स्थानीयले नदिएपछि पुलको निर्माण रोकिएको छ । सडकको प्रवेशद्वार पातरखोलामा हिमा (जुम्ला) तर्फ पिल्लर निर्माण भइसकेको छ । तर कालिकोटतर्फको जग्गा नदिएपछि पुल निर्माण रोकिएको हो ।

मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न सकेन । उनले भने, ‘मुआब्जाको फाइल अघि बढाउने तयारी गरे पनि जग्गाधनीले मुआब्जा दिनै नसकिने गरी २०/२५ लाख माग गर्दा समस्या भएको छ । यसले गर्दा पुल निर्माणमा विलम्ब भएको छ ।’ पातरखोला पुलको एकतर्फी पिल्लर निर्माण भए पनि ‘लुम्सा खोला पुल, घट्टेखोला पुल, ज्यारीखोला पुल र गोठीज्युला खोला पुल’ गरी चारवटा पक्की पुलको निर्माण कार्य अझै सुरु हुन नसकेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

निर्माण कम्पनीले काम अघि नबढाउँदा चारवटा पुलको काम रोकिएको छ । ०७८ साल फागुन ९ गते ठेक्का सम्झौता भई आगामी ०८२ साल भदौ ८ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चारवटा पुलको काम सुरु नहुनुले निर्धारित समयमा पुल निर्माण नहुने प्रश्न खडा भएको छ । सडक डिभिजन कार्यालयले भने निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरिरहेको छ ।

६ पुलको प्रगति २५ देखि ५० प्रतिशत
नाग्म–गमगडी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख बजेट लगानीमा १० वटा पक्की पुल निर्माण हुँदैछन् । जसमध्ये हाल ६ वटा पुल निर्माण भएको भौतिक प्रगति न्यूनतम २५ देखि अधिकतम ५० प्रतिशत भएको छ । जसमा कालिकाखेतु खोला पुलको भौतिक प्रगति २५ प्रतिशत, बाजागाडा खोला पुलको ५० प्रतिशत, विष्टबाडा खोला पुलको ५० प्रतिशत प्रगति भएको छ ।

त्यस्तै, रोकायाबाडा पुलको ५० प्रतिशत, पिना खोला पुल मुगुको ५० प्रतिशत र गमगाड खोला पुलको २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको सडक डिभिजन जुम्लाका सूचना अधिकारीले जानकारी दिए । ‘हिम सगरमाथा कन्स्ट्रक्सन’ प्रालि भरतपुर–१० चितवनले १० वटै पक्की पुलको ठेक्का पाएको छ । मौसम प्रतिकुलता, जनशक्ति, निर्माण सामग्री, बजेटको अभाव तथा कठिन भूगोलका बीच पनि निर्माण कार्यलाई गति दिइरहेको निर्माण कम्पनीको तर्क छ । बन्न बाँकी चारवटा पुलको कामलाई पछि अघि बढाउने र निर्धारित समयमै १० वटै पुलको काम सम्पन्न गर्ने कम्पनीको दाबी छ ।

पुल निर्माणपछि रारा आउने पर्यटक र सिंजा क्षेत्र र मुगुका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । बर्खामा खोलामा बाढी आउने र यातायात नै अवरुद्ध हुनुका साथै कुनै खोलाले बाइकसमेत बगाउने समस्या नागरिकले भोग्दै आएका छन् । ९३ किमि दूरी रहेको नाग्म–गमगडी सडकका विभिन्न खण्डमा १० पक्की पुल बनेपछि यात्रा सहज हुने आशा पलाएको सिंजाका विवेन्द्र नेपालीले बताए । निर्माण हुन नसकेका चारवटा पुलको निर्माण कार्यलाई अघि बढाउन सबैले चासो दिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्