वर्षातको पानी संकलन र व्यवस्थापन आवश्यकः मन्त्री बस्नेत

काठमाडौं- ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी संकलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका छन् ।
आजदेखि ललितपुरमा सुरु ‘वर्षातको पानी संकलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी संकलन र व्यवस्थापन आवश्यक छ ।” उनले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताए ।
बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालि र नेदरल्याण्ड्स विकास नियोग संस्था (एसएनभी) नेपालको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा सम्मेलन सुरु भएको हो । सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ छन् ।
युनिसेफ, विश्व स्वास्थ्य संगठन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नगर विकास कोष, बायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भाएरोमेन्ट र बेष्ट पानीलगायत संघसंस्थाले सम्मेलनलाई सहयोग गरेका छन् । जलवायु परिवर्तनको असरले पानीको अभाव हुनसक्ने भन्दै समयमै समस्याको पहिचान र समाधानमा लाग्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए । उनले पानी स्रोत संरक्षणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए ।