लुम्बिनी प्रदेशमा साझेदारी कार्यक्रम सुरु

बुटवल–लुम्बिनी प्रदेशमा कुखुरापालन परियोजनाको लागि साझेदारी कार्यक्रम सुरु भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा नेपाली कम्पनी श्रीनगर एग्रीटेकले कार्यान्वयन गर्ने गरी यो कार्यक्रम शुभारम्भ भएको हो ।
कृषि तथा सम्बन्धित क्षेत्रका सरोकारवालालाई एक साथ ल्याएको यस कार्यक्रमले नेपालको कुखुरापालन उद्योगको सफलताका लागि महत्वपूर्ण सहकार्याको प्रयासमा जोड दिएको छ । श्रीनगर एग्रीटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआईडी परियोजनाले कुखुरापालन बजार प्रणालीलाई बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायहरूको आयमा वृद्धि गर्न सघाउ पुर्यउने विश्वास गरिएको छ ।
कुखुरापालन उद्योगले आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्वपूर्ण रहेको कार्यक्रममा बताइएको थियो । कुखुरापालनले नेपालको ग्रामिण अर्थतन्त्रमा विशेष गरी महिला तथा सीमान्तकृत समूहलाई स्वरोजगारका अवसरहरू प्रदान गर्ने आशा गरिएको छ । त्यस्तैगरी कृषि तथा पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई समेत समर्थन गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले साझेदारी कार्यक्रमले किसानलाई राहात प्रदान गर्ने बताए । उनले आत्मनिर्भरता पनि बढाउने उल्लेख गरे । त्यसैगरी युएसएआईडी नेपालका कार्यवाहक निर्देशक कारेनवेल्शले परियोजनाबाट नेपालको कृषि क्षेत्रको रूपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने उल्लेख गरे । उनले अर्थपूर्ण सरकारी–निजी साझेदारीको सिर्जना गर्ने दिशामा युएसएआईडीको प्रतिबद्धता रहने बताए ।
अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसनमिक्सले नेपालमा उत्थानशील तथा दिगो कृषि उद्योग निर्माण गर्न युएसएआईडीको साझेदारीको भूमिका र देशभरिका समुदायका लागि सुधारिएको खाद्य सुरक्षा तथा पोषणमा त्यस प्रकारको साझेदारीले गर्ने योगदानमाथि जोड दिए । कार्यक्रममा उत्कृष्ट करार कृषकलाई सम्मानका साथै युएसएआईडीको परियोजनामार्फत कुखुरापालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो ।