चैत २३ देखि कोशी वुमन एक्स्पो

विराटनगर– नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले विराटनगरमा महिला उद्यमशीलतासम्बन्धी प्रदर्शनी गर्ने भएको छ । परिसंघको कोशी प्रदेश महिला उद्यम समितिले चैत २३ र २४ गते प्रदर्शनी गर्ने भएको हो । ‘सीएनआई कोशी वुमन एक्स्पो’ नाम दिइएको प्रदर्शनीमा ६० वटा स्टल रहने समितिकी संयोजक रचना राठीले जानकारी दिएकी छिन् ।
उनका अनुसार एक्स्पोमा पाँचथर, इलाम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, तेह्रथुम र सोलुखुम्बु जस्ता पहाडी र हिमाली क्षेत्रका महिला उद्यमीले उत्पादन गरेका तयारी कपडा, विभिन्न खाद्य र पेय पदार्थ, श्रृंगारका सामग्री, खेलौनालगायत वस्तु राखिनेछ । एक्स्पोमा निम्न वर्गका, दलित समुदायका र एकल महिला उद्यमीलाई स्टल राख्न प्रोत्साहन गरिने राठीले बताएकी छिन् । व्यवस्थापनका लागि भन्दै एक स्टलको शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।
कमजोर अवस्थाका उद्यमीलाई छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ । सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले एक्स्पोबाट वस्तु तथा सेवाको प्रवर्द्धन भई महिला उद्यमीलाई हौसला मिल्ने विश्वास व्यक्त गरेका छन् । परिसंघका निवर्तमान अध्यक्ष भीम घिमिरे र वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले एक्स्पोले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुग्ने बताए ।