मेचीनगरको खर्च ३४ प्रतिशतमा खुम्चियो

बिर्तामोड– झापाको मेचीनगर नगरपालिकाको वित्तीय प्रगति ३३.९२ प्रतिशत रहेको छ । नगर कार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले हालसम्मको वित्तीय प्रगतिबारे जानकारी गराउँदै यस्तो बताएकी हुन् । वित्तीय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख, पुँजीगत खर्च ५१ करोड ७६ लाख तथा वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उनले बताइन् ।
यसैगरी, हालसम्मको (वित्तीय व्यवस्थासहित) चालु खर्चतर्फ ३५ करोड ८५ लाख तथा पुँजीगत खर्चतर्फ १० करोड २४ लाख रहेको छ । यो कुल वित्तीय प्रगतिको ३३.९२ प्रतिशत हो । २०८० असार १० गते मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०/८१ का लागि कुल १ अर्ब ३५ करोड रुपैयाँको आय–व्ययसहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएको उनले बताइन् । विनियोजनतर्फ १ अर्ब ३५ करोड रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख घटाउँदा बाँकी ८९ करोड ७९ लाख रहेको उनले बताइन् ।
त्यस्तै आन्तरिक राजस्वको हालसम्मको अनुमान र वास्तविक अनुमानित आयतर्फ १२ करोड ८७ लाख र हालसम्मको वास्तविक आय ८ करोड ३९ लाख रहेको उनले जानकारी दिइन् । कार्यालयको क्षेत्र/उपक्षेत्र अन्तर्गत आर्थिक विकाश शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाखमध्ये ७६ लाख ७५ करोड खर्च भई ६ करोड २८ लाख बाँकी रहेको छ । सबैभन्दा बढी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कुल बजेटको ५०.०५ प्रतिशत खर्च भएको बताउँदै उनले यस शीर्षकमा २७ करोड १३ लाख बजेट विनियोजन गरिएकोमा १३ करोड ५७ लाख खर्च भएको जनाइन् ।
यसैगरी, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा यो अवधिमा ११ लाख ४० हजार रुपैयाँ खर्च भई २ करोड ११ लाख रुपैयाँ बाँकी रहेको थियो । चालु आर्थिक २०८०/८१ को सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । ऊर्जातर्फ सम्पदा पूर्वाधार, विज्ञान तथा प्रविधिमा ७० लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ भने ५५ लाख १८ हजार नगद मौज्दात रहेको छ । सामाजिक विकासतर्फ चालु आर्थिक वर्षको आठ महिने अवधिमा २१ करोड ९९ लाख रुपैयाँ खर्च भएको उनले बताइन् ।
कुल बजेट ५५ करोड २१ लाख विनियोजन भएकोमा अब खर्च भएको रकम घटाउँदा ३३ करोड २२ लाख बाँकी रहेको छ । विनियोजन ऐन,२०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८० तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले चालु आर्थिक वर्ष २०८०/८१ का प्रमुख नीति तथा कार्यक्रमहरू कार्यन्वयनका लागि निरन्तरता दिइने काम भइरहेको जनाइन् । मेचीनगर नगरपालिकाको यसअघिको दोस्रो नगर सभाले नीतिगत निर्णयहरू गरी महत्वपूर्ण जिम्मेवारीहरू सुम्पेकोमा यसबीचमा नगरपालिका उल्लेख्य प्रगति हासिल गर्ने लक्ष्यतर्फ अघि बढिरहेको उनको भनाइ छ ।
कार्यक्रममा सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम, सशर्तको विभिन्न उपशीर्षकमा संघीय सरकारबाट हस्तान्तरित अनुदान, समपूरक अनुदान स्वरुप बजेट प्राप्त भएको र वडागत रुपमा विनियोजन गरिएको बजेट प्रस्तुत गरिएको थियो । विधेयकतर्फ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको नगरपालिकाको काम, कर्तव्य र अधिकार प्रयोगका लागि आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि र मापदण्डमध्ये केही तयार गरी सकिएको बताउँदै उनले चालु आवमा संशोधन गर्नुपर्ने, थप गर्नुपर्ने र पुन: मूल्यांकन गर्न नगरसभाका सवै सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिन् ।