Logo

रोजगार मेलामा पाँच सयलाई रोजगारी

विराटनगर– विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगर रोजगार मेलामा ५ सयभन्दा बढीले रोजगारी पाएका छन् । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता पछि रोजगारी पाउने भएका हुन् । रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको थियो ।

सबैभन्दा बढी बजार व्यवस्थापकमा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताए । महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । ‘महानगर रोजगार मेला भव्य रुपमा सम्पन्न भएको छ । यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु,’ मेयर कोइरालाले भने, ‘भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला पनि प्राप्त भएको छ ।’

कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरेर पुलको काम गरेको बताए । हरेक वर्ष नेपालमा ५ लाखभन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेको उल्लेख गर्दै मेयर कोइरालाले त्यसमध्ये थोरैले स्वदेशमा रोजगारीको अवसर पाउने गरेको चर्चा गरे । रेमिटेन्स भित्रिए पनि वैदेशिक रोजगारीले नेपाली समाजलाई दुरगामी असर पारिरहेको उनको भनाइ थियो । खेतीयोग्य जमिनसहितका स्रोत साधनको उपयोग नहुनु, पारिवारिक विचलन, पहाडबाट तराई–मधेशमा बढ्दो बसाइँ सराईलगायतका समस्या बढ्दै गएको मेयर कोइरालाले बताए ।

उनले महानगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । हातमा सीप र प्राविधिक ज्ञान नभए अब रोजगारी प्राप्त गर्ने अवस्था नरहेको मेयर कोइरालाले बताए । विराटनगरका सामुदायिक विद्यालय र महानगरले सञ्चालन गरेको बहुप्राविधिक विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थीले कम्प्युटर इन्जिनिरिङ, सिभिल जियो मेट्रिक, आर्टिकेटलगायतका विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताइन् । उनले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गरिन् । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई जोड्न सफल भएको उनको भनाइ थियो । समापन समारोहमा नेपाल तालिम तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले रोजगार मेला सफल भएको बताए । कार्यक्रममा मेला आयोजना गर्न सहयोग गर्ने संघसंस्था, कर्मचारी, स्टललगायतलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्