सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तीव्र

म्याग्दी । पूर्वाधार निर्माणले तिव्रता पाएसँगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरिँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौं लगानी भइरहेको छ ।
शिक्षा कार्यालयले चालू आर्थिक वर्षमा मात्र म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सात करोड ३८ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ । नौ वटा चार कोठे, तीन वटा तीन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट वितरण भएको कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार १५ वटा विद्यालयलाई ईन्टरनेटको प्रयोग गरेर पठनपाठन सञ्चालन गर्न र २० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्न ६ लाख ५० हजार रुपैयाँका दरले बजेट बाँडफाँड भएको छ । भवन र शौचालयको योजना परेका विद्यालयले सम्झौता र निर्माणको काम सुरु गरेका जिशिअ रामकुमार श्रेष्ठले बताए ।
राष्ट्रिय पुनर्निर्माण कोषको कार्यक्रमअन्तर्गत यस वर्ष चार कोठे भवन बनाउन धौलागिरी गाउँपालिका ७ धारापानीको किसानी माविले ६३ लाख रुपैयाँ पाएको छ । अन्य ८ वटा विद्यालयले चार कोठे भवन बनाउन ३६ लाख रुपैयाँका दरले अनुदान पाएका छन् ।
डाँडाखेतको बालमन्दिर आधारभूत, राम्चेको देउराली, बाबियाचौरको त्रिभुवन मंगला, पुलाचौरको जनकल्याण मावि, नारच्याङको प्रभा मावि, बिमको किसानी मावि, भकिम्लीको जयन्ती माविले चार कोठे भवन बनाउन सुरु गरेका छन् ।
बरंजाको महेन्द्ररत्न, दुखुको मालिका र मुनाको सूर्यज्योती आधारभूत विद्यालयले तीन कोठे भवन बनाउन भूकम्प पुनर्निर्माण प्राधिकरणबाट ३१ लख ५० हजार रुपैयाँका दरले अनुदान पाएका छन् । प्राधिकरणकै कार्यक्रमअन्तर्गत मराङको राम्चे, दानाको सरस्वती र रुमको गोरक्ष आधारभूत विद्यालयले २१ लाख रुपैयाँका दरले अनुदान पाएका छन् ।