‘राष्ट्रिय हित र विकासमा केन्द्रित हुनुपर्छ’ «

‘राष्ट्रिय हित र विकासमा केन्द्रित हुनुपर्छ’

जनवादी गणतान्त्र चीनका राष्ट्रपति सी जिनफिङ दुई दिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता सम्पन्न गरी राष्ट्रपति सी शनिबार काठमाडौं आएका हुन् । भारत हुँदै २३ वर्षपछि नेपाल आएका राष्ट्रपति सी को नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।
विश्वको महाशक्ति राष्ट्रको रूपमा उदाएको चीनले अघि सारेको आर्थिक साझेदारिताको अवधारणाअनुरूप आर्थिक समृद्धिको विषयलाई केन्द्रमा राख्न विज्ञहरूले सुझाएका छन् । मुलुकको असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै नेपालको आर्थिक विकास र राष्ट्रिय स्वाधिनताको पक्षमा सम्झौता र समझदारी गरिनुपर्ने उनीहरूको सुझाव छ । पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन्, “अहिले नेपालको प्राथमिकता पूर्वाधार विकास हो, नेपालमा जलस्रोतको धेरै सम्भावना छ, नेपालले चीनको सहायतामा आयोजना अघि बढाउने तयारी गर्दा अनुदानकै रूपमा बनाउन सक्ने गरी कुरा गर्न सक्नुपर्छ ।” उनले चीनको अनुदान वृद्धि हुनेगरी छलफल गर्दा नेपालले लाभ लिन सक्ने बताए । कुनै–कुनै आयोजना ऋणमा पनि अघि बढाउन सकिने उनको सबै कुरा अनुदानमा मात्रै प्राप्त नहुने भएकाले ऋण लिएर काम गर्नुपर्ने भएकोले ऋण लिँदा सुविधायुक्त र सहुलियतपूर्ण विकल्पहरू हेर्नु पर्ने उनको भनाइ थियो ।
चीन विषयमा जानकार डा. रूपक सापकोटा विश्वको महाशक्ति राष्ट्रका रूपमा उदाएको चीनका राष्ट्रपतिको भ्रमणलाई आर्थिक विकासका प्राथमिकतायुक्त क्षेत्रको किटान गरी राष्ट्रिय अर्थतन्त्रको विविधीकरण र राष्ट्रिय स्वाधिनताको पक्षमा भ्रमणलाई सदुपयोग गर्नुपर्ने बताउँछन् । “नेपालको चीनसँग असल छिमेकी मुलुकको सुमधुर सम्बन्ध छ,” उनी भन्छन्, “सी को भ्रमणले यो सम्बन्धलाई नयाँ उचाइमा पु¥याइ आर्थिक लाभ लिने गरी अघि बढाउन सक्यो भने नेपालले लाभ लिनसक्छ ।” पछिल्लो समय दुई ठूला कम्युनिस्ट पार्टीले चुनावमार्फत बहुमत प्राप्त गरेको, एकीकरणमार्फत बलियो शक्ति बनेको र राजनीतिक स्थिरतातर्फ मुलुक अघि बढेका कारण चिनियाँ राष्ट्रपतिको भ्रमण सम्भव भएको धेरैले बताउने गरेका छन् ।
पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल समस्यारहित छिमेकी मुलुक चीनका राष्ट्रपतिको भ्रमणलाई आर्थिक साझेदारिता अभिवृद्धि, सार्वभौम रक्षाका समान चासो र आपसी सद्भाव र सहकार्यको पक्षमा हुने गरी उपयोग गरिनुपर्ने बताउँछन् । उनले नेपाल एक चीन एक नीतिप्रति प्रतिबद्ध रहेकाले चीनले पनि निर्वाधरूपमा हिमाली नाका खुलाउने विषयलाई भ्रमणका दौरानमा जोडदार उठाउन सुझाव दिए । “दुई तिहाइभन्दा बढी जनमत पाएको नेकपा नेतृत्वको शक्तिशाली सरकारको पालामा विश्व अर्थतन्त्रको दोस्रो ठूलो मुलुक चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणको सन्दर्भमा नेपालले अधिक लाभ लिने गरी भ्रमणलाई उपयोग गरिनुपर्छ” उनले भने ।
सन् २०१५ मा नेपाल गएको भूकम्प, भारतले गरेको नाकाबन्दी लगायतका कारणपछि चीनसँग नेपालले आर्थिक सम्बन्ध विस्तार गर्ने प्रयासलाई प्राथमकिता दिएको छ । ठूलो पूर्वधार निर्माणमा चीनको सहयोगको अपेक्षा सरकारले राखेको छ । २३ वर्षपछि हुन थालेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई विशेष प्राथमिकता दिइएको अवस्था वृृहत्तर विकास र सुधारको पर्खाइमा रहेको नेपालले चीनको सहयोगको अपेक्षा राखेको छ भने मुख्य चुनौतीको रूपमा रहेको नेपालको व्यापार असन्तुलन कम गर्ने चीनको योगदान खोजिरहेको अवस्था छ ।
पछिल्लो पाँच वर्षमा नेपाल चीनको व्यापार दुई गुणाले बढेको छ । जसमा आयातको हिस्सा उच्च र निर्यातको हिस्सा एकदमै कमजोर बनेको छ भने पछिल्ला वर्षमा चीनले नेपालको उर्जा पर्यटन खनिजको क्षेत्रमा लगानी बिस्तार गरिरहेको छ । यी बाहेक पनि तातोपानी र टिमुरे फ्रन्टियर इन्स्पेक्सन स्टेसन प्रोजेक्ट, सिभिल हस्पिटल र स्यापु्रmबेसी–रसुवागढी सडक र कोदारी राजमार्गको स्तरोन्नति तथा कोदारी र रसुवागढी सडकमा पर्ने पुलहरूको निर्माण पनि चीनको सहयोगमा अघि बढेका छन् ।

सडकभरी दुर्लभ तस्बिर
सडक किनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन् । राष्ट्रपति सीको सवारी हुने सडकका किनारमा एकातिर हिमाल र पडाडी भू–भाग चीनाउने तथा उपत्यकाका सम्पदा झल्काउने चित्र र पोस्टर राखिएका छन्। लालिगुराँस, गौतम बुद्ध, दुर्लभ जंगली जनावर र ताल तलैयाका फोटा राखिएका छन् । चीन र नेपालका रंगीन झन्डा टाँगिएका छन् । सगरमाथा, गौतम बुद्ध, पाटनको कृष्ण मन्दिर, पाटन दरबार, भक्तपुर दरबार, इलामको चिया बगान, रारा ताल, पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबार, काष्ठमण्डप, पाँचतले मन्दिर, मुक्तिनाथ, गोसाइँकुण्ड, मनकामना मन्दिर, केबलकारलगायत नेपालका वेशभूषा झल्काउने रंगीन ब्यानर, पोस्टर र चित्र सडकभरि छन् । करिब ५३ रोपनी क्षेत्रफल ओगटेको तीनकुने पार्कको वरिपरि रातारात कृत्रिम पहाड झल्को दिनेगरी ढिस्को बनाइएको छ । सडक पेटीमा रङ लगाइएको छ भने पाहुना सवारी हुने सडकका खाल्डा टालिएका छन् ।

सजावटमा २० करोड
छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ । भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ । अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्