Logo

सरकारी प्राथमिकताका पूर्वाधार आयोजनामा लगानी बढाउँछौं

नागरिक लगानी कोषले ३४औं वार्षिकोत्सव आज आइतबार मनाउँदै छ । स्थापनादेखि कोषले विभिन्न प्रकृतिका कोष व्यवस्थापन र पुँजीबजार व्यवस्थापन गर्दै आएको छ । कोषले व्यवस्थापन गर्दै आएको अवकाश कोषमा विशेष आकर्षण देखिन्छ । यसबीचमा कोषले नागरिक पेन्सन योजनाजस्ता कार्यक्रमसमेत अगाडि सारिरहेको छ । कोषले केही महिनाअघि मात्रै नयाँ कार्यकारी निर्देशक पाएको छ । राष्ट्र बैंकमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका पर्वतकुमार कार्की अहिले नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् ।

सेवानिवृत्त भएसँगै उनले साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्ष र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए । त्यसपछि उनी कोषको कार्यकारी निर्देशक बनेका हुन् । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका कार्कीले त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको ग्रिमिथ विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सार :

कोषले अहिले केके काम गरिरहेको छ ?
नागरिक लगानी कोष ऐन, २०४७ बाट स्थापना भएको कोषले ऐनले निर्दिष्ट गरेबमोजिमका कार्य गरिरहेको छ । बाहिरबाट हेर्दा कोषलाई अवकाश कोष व्यवस्थापन गर्ने संस्था भन्ने बुझिए पनि यसले विभिन्न प्रकृतिका कोष व्यवस्थापन र पुँजीबजारसम्बन्धी काम गरिरहेको छ । यसले सहभागीलाई लगानीको अवसर प्रदान गर्छ । अवकाश तथा सामाजिक सुरक्षाका विभिन्न कार्य गरिरहेको छ । अवकाश सम्बन्धमा कर्मचारी वचत वृद्धि अवकाश योजनामार्फत कर्मचारीको वचतलाई एकत्रित गर्ने काम गरिरहेको छ । कोषले पेन्सन योजनादेखि उपदान, लगानीकर्ता हिसाब योजना, पुँजीबजार, बीमा कोषलगायतका योजना पनि सञ्चालन गरिरहेको छ ।

कोषले हाल कर्मचारी वचत वृद्धि अवकाश कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना, नागरिक पेन्सन योजना, राष्ट्रसेवक बीमा कोष, नागरिक एकांक योजनालगायतका कार्यक्रम तथा योजना सञ्चालन गरी करिब २४० अर्ब वचत परिचालन गरेर विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषले साना तथा मझौला स्तरका वचतकर्ताको वचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यले सार्वजनिक संस्थान र अन्य संगठित संघसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व सुरुमै कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्नेलगायतका कार्यसमेत गर्दै आएको छ ।

पुँजीबजारमा संस्थागत लगानीकर्ताको आधार तयार पार्न नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा ल्याइसकेको छ भने कोष आफैंले पनि पुँजीबजारमा लगानी गर्ने गरेको छ । कोषले ट्रस्टीका रूपमा काम गरिरहेको छ । कोष विगत लामो समयदेखि एउटा निश्चित प्रणालीमा चलेको संस्था हो । सञ्चालक समितिले आवश्यक नीति निर्माण गर्ने र सोको प्रभावकारी कार्यान्वयनमा व्यवस्थापन गर्न लागिपरेको छ । राष्ट्र बैंकका कर्मचारीलगायत सर्वसाधारण जनतालाई समेत पुँजीको वचत गर्न प्रोत्साहित गरी पुँजी संकलन गर्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कार्यमा कोष संलग्न छ ।

कोषमा कर्मचारी र रोजगारीमा संलग्न व्यक्तिलगायत सर्वसाधारणको रकम सेभिङ गर्ने गरिएको छ । यसले राष्ट्रिय वचतलाई प्रोत्साहन गर्छ । अहिले मुलुकमा अधिकांश रकम उपभोगमा खर्च गर्ने र वचत न्यून हुने ठूलो प्रवृत्ति समस्याका रूपमा देखिएको छ । यस्तो अवस्थामा वचत परिचालन बढाउन कोषजस्ता कम्पनीले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने हुँदा कोष यसतर्फ थप क्रियाशील भएको छ ।

कोषको कार्यकारी निर्देशकमा नियुक्त भएपछि के गर्दै हुनुहुन्छ ?
कोषको कार्यकारी निर्देशक भएर आएपछि सर्वप्रथम यसको बेसलाइन बुझ्नका लागि भित्रदेखि नै अध्ययन गरिरहेको छु । यस अध्ययनका आधारमा कोषको व्यवसाय विस्तार, जोखिम व्यवस्थापनसहित प्रतिफलयोग्य लगानी विविधीकरणमा पुँजीबजारसम्बन्धी कार्य र कोषको डिजिटलाइजेसनका लागि थप कार्य योजनाबद्ध ढंगले अघि बढाउने सोचेको छु । साथै, कोषमा लामो समयदेखि प्रक्रियामा रहेका विभिन्न कार्यविधिको संशोधन प्रक्रियालाई यथाशीघ्र टुंग्याउने गरी कार्य अघि बढाएको छु ।

कोषको व्यवसाय वृद्धि गर्न नीतिगत, कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने विषय पहिचान गरी यसतर्फ आवश्यक गृहकार्य गरिरहेको छ । सबै सहकर्मी साथीहरूको सहयोगबाट कोषका दुर्बल पक्षलाई सच्याउँदै आन्तरिक तथा बाह्य चुनौतीको सामना गर्न उपलब्ध अवसर तथा सबल पक्षको भरपुर उपयोग गर्नेतर्फ काम अगाडि बढाउनुपर्ने देखेको छु । संस्थाको विद्यमान संगठनात्मक स्वरूपलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका बारेमा समेत अध्ययन भइरहेको छ ।

कोषमा प्राय: सबै राष्ट्र बैंकबाट सेवानिवृत्त भएका कर्मचारी मात्रै आएको देखिन्छ नि ?
यो एक संयोगमात्र हो । पछिल्ला दिनमा कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरिएको छ । योग्यता पुगेका इच्छुक सबै नेपाली नागरिकलाई यसमा प्रतिस्पर्धा गर्ने बाटो खुला नै थियो । छनोटका क्रममा नेपाल राष्ट्र बैंकका सेवानिवृत्त कर्मचारीहरू पनि पर्नुभएको छ ।

कोषलाई कसरी अगाडि बढाउने सोच्दै हुनुहुन्छ ?
आगामी दिनमा कोषलाई अझ प्रभावकारी बनाउन कोषले गर्ने सबै कार्यलाई प्रतिफलमुखी र प्रविधियुक्त बनाउनेतर्फ म र मेरो टिम कार्यरत छ । मूलभूत रणनीतिमा वचत कार्यक्रमलाई प्रभावकारी बनाई कोषको वचत वृद्धि कार्यक्रम सञ्चालन गर्ने, वचत वृद्धिका लागि थप कार्यक्रम ल्याउने, जोखिम विश्लेषण गर्दै प्रतिफलयोग्य क्षेत्रमा लगानी विस्तार गर्ने, लगानी विविधीकरण गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गर्ने, कोषको काम–कारबाहीलाई प्रविधिमैत्री बनाई सहभागीलाई डिजिटल सेवा उपलब्ध गराउने, जोखिम व्यवस्थापनको उचित फ्रेमवर्क बनाउने, पुँजीबजारसम्बन्धी कार्य बढाउने, सामाजिक उत्तरदायित्वसम्बन्धी थप कार्य गर्नेजस्ता कार्यलाई प्राथमिकतामा राखी सोसँग सम्बन्धित कार्यहरू अगाडि बढाउन ध्यान दिएको छु । मेचीदेखि महाकालीसम्म रहेका कोषका सहभागीलाई प्रदान गर्ने सेवालाई भोलिका दिन अझ बढी प्रभावकारी बनाउने योजना छ । हाल कोषमा भइरहेका समग्र कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आवश्यक अनुसन्धान गरी थप कार्यक्रम तथा योजना सञ्चालन गर्ने सोचाइ बनाएको छु ।

कोषको कार्य अझै पनि चुस्त हुन सकेको छैन भन्ने गुनासो छ नि ?
कोषले आफ्नो सेवा समयसापेक्ष परिमार्जन गर्दै ग्राहकलाई सन्तुष्ट पार्ने गरी सेवा अघि बढाइरहेको छ । यद्यपि कोषका सामु प्रशस्त चुनौती तथा सेवाप्रवाहमा विभिन्न किसिमका समस्या रहेका छन् । आजको डिजिटल युगमा कोषलाई पूर्णरूपले प्रविधिमैत्री बनाउन सकिएको छैन । कोषको हिसाबमिलान कार्य समयमा सम्पन्न हुन नसकेकाले समयमै वार्षिक साधारणसभा गर्न सकिएको छैन । कोषको आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन पनि हुन सकेको छैन । यी कारणले कोषको काम–कारबाहीमा केही प्रभाव पर्न गई सम्बन्धित सरोकारावालाहरूको गुनासो आएको हुनुपर्छ ।

त्यसो भए कोषको संगठनात्मक संरचना परिवर्तन गर्ने सोच राख्नुभएको छ ?
कुनै पनि संस्थालाई गतिशील रूपमा सञ्चालन गर्नका लागि समयसापेक्ष संगठनात्मक संरचनामा पनि अद्यावधिक गर्न आवश्यक हुन्छ । हाल कोषको संगठनात्मक स्वरूपअनुसार कर्मचारी व्यवस्थापन हुन नसकिरहेको अवस्था विद्यमान छ । हालको प्रतिस्पर्धी समयमा कोषको वर्तमान संगठनात्मक स्वरूपमा केही परिवर्तन एवं सोहीबमोजिम थप जनशक्ति आवश्यक छ भन्ने मैले महसुस गरेको छु ।

पछिल्लो समय सामाजिक सुरक्षा कोष पनि सञ्चालनमा छ । सुरक्षा कोष आइसकेपछि लगानी कोषलाई असर परेको त छैन ?
नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले गर्ने कतिपय कार्य समान प्रकृतिका भए पनि यी भिन्न समयमा भिन्न उद्देश्यका साथ स्थापना भएका संस्था हुन् । हाल सामाजिक सुरक्षा कोषले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी कार्य सञ्चालनमा ल्याएको छ । यो कार्य आएपश्चात् नागरिक लगानी कोषमा आवश्यक भएका वा हुन सक्ने दायित्व एवं संघ–संगठन सामाजिक सुरक्षा कोषमा भएको अवस्था छ ।

यसले निश्चित रूपमा कोषको व्यवसायमा असर गरेको छ । तर, नागरिक लगानी कोषले विशिष्टीकृत ढंगले काम गर्ने क्षेत्र पहिचान गर्दै नयाँ कार्यक्रम, योजना सञ्चालन गरेर चुस्तदुरुस्त र प्रभावकारी सेवा प्रदान गरी सेवाग्राहीलाई सुविधा दिँदै आएको छ । हाम्रा भइरहेका संस्था सामाजिक सुरक्षा कोषका कारणले घट्ने भन्ने हँुदैन । कोषले दिएको सेवासुविधा, इन्भेस्टमेन्ट पोर्टफोलियो म्यानेजमेटजस्ता सेवाका कारण सहभागी कोषसँग सन्तुष्ट हुनुहुन्छ । केही न केही असर पर्नु भनेको सामान्य कुरा मात्रै हो ।

कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषजस्ता संंस्थालाई एउटै छाताभित्र सञ्चालन गर्न सकिँदैन ?
यी संस्थाले हाल सञ्चालन गर्दै आएका केही कार्य मिल्दाजुल्दा प्रकृतिका भए पनि यी विभिन्न समयमा भिन्न–भिन्न उद्देश्यले छुट्टाछुट्टै ऐनद्वारा स्थापित संस्था हुन् । पछिल्लो समयमा कतिपय प्रसंगमा यी संस्थालाई गाभेर एउटै संस्था बनाउँदा के हुन्छ भन्ने धारणा पनि सुनिन थालेको छ । यी तीनवटै नेपाल सरकारको स्वामित्व भएका संस्था भएकाले यस विषयमा सरकारको दृष्टिकोण बनाउने विषय पनि हो ।

तर, नागरिक लगानी कोष ऐनले कोषलाई अवकाश योजना व्यवस्थापनका अतिरिक्त पुँजीबजारको विकास र स्थायित्वका लागिसमेत काम गर्ने कार्यक्षेत्र तोकेको छ । यस सन्दर्भमा यी संस्थालाई एउटै संस्थामा रूपान्तरण गर्नेभन्दा संस्थागत रूपमा विशिष्टीकृत कार्य गर्ने गरी अघि बढाउँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । कतिपय अवस्थामा विभिन्न संस्था मर्ज गरेको तर अवकाश योजनासम्बन्धी कार्य गर्दा एउटै संस्था मात्र भई सेवाग्राहीले राम्रो सेवा पाउन नसक्ने अवस्था पनि सिर्जना हुन सक्छ । यसतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ ।

कोषमा व्यक्तिगत रूपमा सहभागी हुन पाउने व्यवस्था छ कि छैन ?
कोषले हाल सञ्चालन गरेका अधिकांश कार्यक्रममा राष्ट्रसेवक कर्मचारी र संगठित संघसंस्थाका कर्मचारीको सहभागिता रहेको छ । पछिल्लो समय कोषले ल्याएको नागरिक पेन्सन योजनामा विभिन्न क्षेत्रका स्वरोजगार नागरिकले व्यक्तिगत रूपमा सहभागी हुने व्यवस्था मिलाइएको छ । योबाहेक कोषको नागरिक एकांक योजनासमेत सञ्चालनमा छ, जुन खुला म्युचुअल फण्ड हो । यसमा निश्चित दरमा ब्याजदर प्रदान गरिन्छ । यसमा सबै लगानीकर्ताले व्यक्तिगत रूपमा आफूलाई उपयुक्त लागेको समयमा लगानी गर्ने र बाहिरिने गर्न सक्छन् ।

नागरिक लगानी कोषमा किन सहभागी हुने ?
कोषमा साढे ६ लाखभन्दा बढी वचतकर्ताको सहभागिता रहेको छ । सरकारले नै नागरिक लगानी कोषको अवकाश योजनामा सहभागी हुनेलाई वार्षिक ३ लाख रुपैयाँसम्मको कर छुट दिने व्यवस्था गरेको छ । कोषले प्रदान गर्ने सेवा छिटोछरितो छ । कोषमा सहभागीले आफूले चाहेजति रकम जम्मा गर्न सक्नुहुन्छ । कोष सरकारको स्वामित्व भएको संस्था पनि हो । कोषमा गरेको लगानी पूर्णरूपमा सुरक्षित हुन्छ । यसले दिने प्रतिफलसमेत आकर्षित एवं दिगो छ । कोषमा भएका यी यावत् सुविधा र विशेषताका कारण लगानी कोषमा सहभागी हुन फाइदा पुग्ने हुँदा सबैलाई सहभागी हुन आग्रह गर्छु ।

कोषको लगानी अवस्था कस्तो छ ?
कोषले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा मुद्दति निक्षेपमा राखेको छ । योसँगै विभिन्न संस्थाको सेयर, डिबेन्चरमा विभिन्न परियोजनामा आवधिक कर्जाका रूपमा सहभागीलाई विभिन्न प्रकारका सापटी तथा आवास कर्जाको रूपमा लगानी गरेको छ । सरकारको जमानतमा विभिन्न संस्थालाई आवधिक (समयकालीन) कर्जासमेत प्रदान गरेको छ । २०८० पुस मसान्तसम्ममा कोषले २ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेको छ ।

नयाँ योजना सञ्चालन गर्नेतर्फ कस्तो सोच बनाउनुभएको छ ?
मुलुक र समाजको आवश्यकताका कार्यक्रमहरूको पहिचान गरी सञ्चालन गर्नुपर्ने खाँचो देखिएको छ । हाल सञ्चालित कार्यक्रमलाई अझ प्रभावकारी बनाई नसमेटिएका संघसंस्था र व्यक्तिलाई समेट्ने गरी काम अगाडि बढाइनेछ । कोष सरकारको स्वामित्वमा स्थापना भएको संस्था भएकाले सरकारी प्राथमिकतामा परेका पूर्वाधार निर्माणका योजनाहरूमा समेत लगानी बढाई देश निर्माणमा सहभागी बन्ने सोचाइ राखिएको छ । पुँजीबजारको विकास एवं गतिशीलताका लागि कोषले आवश्यकताका आधारमा अध्ययन गरी आफ्नो भूमिकालाई प्रभावकारी बनाउनेछ । मर्चेन्ट बैंकरसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाइनेछ । कोषमा संकलन भएको रकम उत्पादनमूलक क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सो कार्य गर्ने सोचाइ पनि छ ।

विदेशमा रहेका नेपालीहरूलाई पनि समेट्ने कुनै योजना छ ?
तपाईंले भन्नुभएजस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई कोषमा कसरी आबद्ध गराउन सकिन्छ भनेर सोच बनाएका छौं । कोषको नेटवर्क नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुकमा समेत विस्तार गर्न आवश्यक छ । मुलुकको अर्थतन्त्र रेमिटेन्समुखी हुँदै गएको, हाल करिब १४४ देशमा नेपाली युवा कामको खोजीमा पुगेका र ठूलो संख्यामा मलेसिया तथा खाडीका मुलुकमा वैदेशिक रोजगारीमा जाने तथ्यांक रहेको छ । स्वदेशमा रोजगारीको अवसर नपाएर बेरोजगार भएका युवा विदेसिने गरेकाले त्यस्तो समुदायलाई लक्षित गरेर कोषले नयाँ कार्यक्रम ल्याउनेतर्फ कार्य गर्नुपर्ने खाँचो मैले महसुस गरेको छु । बढी रेमिटेन्स आउने मुलुकमा आजको भोलि नभए पनि अध्ययन गरेर कोषको नेटवर्क विस्तारका लागि काम गर्न सकिन्छ । त्यसका लागि लाभ लागत हेरेर काम गर्ने सोचाइ छ ।

अहिले सेयर बजारलाई कसरी हेर्नुभएको छ ?
अहिले नेपालको पुँजीबजार केही मात्रामा मन्दीले प्रभावित भइरहेको छ । सेयर बजार अहिले बियरिस ट्रेण्डतर्फ रहेको छ । तर पनि कतिपय अवस्थामा सट्टेबाजहरूले बजारलाई चलाएका हुन सक्छन् । नियन्त्रणभन्दा बाहिर गएको जस्तो देखिएको बजारमा पछिल्लो समय केही सुधारका संकेत देखिएको छ । हाल अर्थतन्त्रका कतिपय सूचकांकमा क्रमिक सुधार हुँदै गएको, सेयर बजारमा स्थिरता कायम गर्न सरकारले प्राथमिकताका साथ आवश्यक कार्य अघि बढाएकाले राष्ट्र बैंकले समेत वित्तीय स्थायित्वलाई ध्यान दिँदै पुँजीबजारलाई मद्दत पुग्ने किसिमका नीतिगत व्यवस्था गरिरहेकाले नेप्सेमा सुधार आउने निश्चित छ । तर पनि हाम्रो सेयर बजारमा वास्तविक र उत्पादनमूलक समूहको उपस्थिति ज्यादै न्यून रहेकाले यी क्षेत्रलाई समेट्न विशेष कार्य गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्