Logo

जलवायुमैत्री खेतीमा किसानको आकर्षण

जुम्ला– पातारासी गाउँपालिका–६ की चन्द्रा बुढाको मुख्य आयस्रोत कृषि हो । श्रमअनुसारको उत्पादन नभएर निरास भएकी चन्द्रा आजभोली जलवायुमैत्री खेतीपाती गर्न थालेपछि मख्ख छन् ।

गाउँमै कृषि पाठशाला सञ्चालन भएपछि मौमसी बेमौमसी, तथा जलवायु अनुकूल खेतीबारे थाहा पाउँदा कृषिमा अझ आकर्षण बढेको छ । उनी भन्छिन्, ‘समयानुकूल खेतपाती गर्न नजान्दा सोचेजस्तो उत्पादन हुँदैन । सीप ज्ञानको अभावले हाम्रो श्रम खेर गयो । पछिल्ला वर्षमा हिउँ समयमै नपर्ने, पानी नआउने समस्याले उत्पादन घट्दै छ । यो सबै जलवायुमैत्री परिवर्तनको असर रहेछ । यस्तो अवस्थामा मलजल, गोडमेल, रोग किरा नियन्त्रणजस्ता कुरामा ध्यान दिँदा उत्पादन पनि बढ्ने अनुभूति भयो ।’

विगतमा ग्रिन हाउसमा तरकारी लगाए पनि बोटमै कुहिने गरे पनि यसपालि राम्रो उत्पादन भएको उनको भनाइ छ । चन्द्रा बुढाजस्तै जुम्ला पातारासी, गुठिचौर, चन्दननाथ, तातोपानी र तिला गाउँपालिकाका किसान जलवायुमैत्री कृषिमा आकर्षित भएका छन् । पाँचवटा पालिकामा १० वटा कृषि पाठशाला सञ्चालन भएपछि किसान जलवायुमैत्री कृषिमा आर्कषित भएका हुन् । पाठशालामा माटोको संरक्षण, मलजल, गोडमेल, रोग किरा नियन्त्रणमा जैविक विधिको प्रयोग, बीउबाली छनोट, जैविक मलको प्रयोगमा वृद्धि लगायतका विषयमा किसानबीच नियमित छलफल हुने गरेको छ ।

जसले गर्दा किसानले समयानुकूल खेती गर्न थालेका हुन् । वल्र्ड भिजनको आर्थिक सहयोगमा किर्डाक नेपाल जुम्लाद्धारा सञ्चालित जलवायु पोषण तथा उत्थानशील जीविकोपार्जन (एनआरएल) परियोजनामार्फत रैथानेबालीको उत्पादन वृद्धिका लागि जलवायुमैत्री कृषिमा जोड दिन १० वटा पाठशाला संचालन गरेको परियोजनाका फिल्ड अधिकृत सरु महतले बताइन् । समयमै हिउँ नपर्ने, खेतीपाती नसप्रिने र उत्पादन वृद्धि नहुने समस्याले किसानमा मर्कामा छन् ।

उलने भनिन्, ‘किसानको श्रमअनुसार उत्पादन बढाउन, जलवायुमैत्री कृषिको विकल्प छैन । त्यसका लागि परम्परागत खेती प्रणाली छोडेर समय नयाँ ज्ञान सीपसहित जलवायुमैत्री खेतीमा लाग्न परियोजनाले किसानलाई प्रेरित गरिरहेको छ । यसले किसानको ज्ञानसँगै उत्पादन बढ्ने आशा गरिएको छ ।’ जुम्लामा कृषिको प्रचुर सम्भावना भए पनि जलवायुमैत्री खेती प्रणाली नअपनाउँदा उत्पादन घट्दै गएको छ । जुम्लामा उत्पादन हुने अन्नको माग बढे पनि उत्पादन घटेको छ ।

यसबाट प्रत्यक्ष मारमा किसान परेका छन् । रैथानेबालीको उत्पादन बढाउनकै लागि किसानको अन्तरपालिका भ्रमण तथा अनुभव आदानप्रदानसमेत गरिएको छ । शुक्रबार पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीका किसान तिलामा र तिलाका किसान चन्दननाथमा पुगेर जलवायुमैत्री खेतीको अनुभव साटासाट गरेका छन् । तातोपानी गाउँपालिका–५ की काली रावतले एउटै जिल्लामा फरक भूगोल हुने भएकोले अनुभव आदानप्रदानबाट धेरै कुरा सिक्न मद्दत पुग्ने बताइन् ।

उनले भनिन्, ‘जलवायुमैत्री कृषिका लागि बीउ बिजनदेखि, खेती प्रविधि तथा गोडमेल, मलजलमा विगतको भन्दा किसानको ज्ञान बढेको छ । बालिलाई आबश्यकतानुसार सिँचाइ गर्नुपर्ने, समयमा बिरुवा व्यवस्थापन गर्ने, बीउबाली छनोटमा ध्यान दिनुपर्नेजस्ता कुरामा सचेत छाैं । यो सबै कृषि पाठशालाको देन हो ।’

जुम्लाको कृषि उत्पादनलाई बढाउन र किसानको आयस्तर वृद्धिका किसानलाई सीप र ज्ञान दिन आवश्यक रहेको सामाजिक परिचालक अजित थापाले बताए । उनका अनुसार दैनिक किसानसँग छलफल गरिरहँदा विगतको भन्दा जलवायुमैत्री खेतीमा किसानले अब्बलता हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्