रोजगारमुखी होटल म्यानेजमेन्ट शिक्षा «

रोजगारमुखी होटल म्यानेजमेन्ट शिक्षा

काठमाडौं । रोसनी भण्डारी नेपाल एकेडेमी अफ होटल म्यानेजमेन्ट (नाथम) कलेजमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (एचएम) तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा अध्ययनको तयारी गरिरहेकी छन् । भण्डारीले अन्य विषयको तुलनामा एचएममा रोजगारको सम्भावना बढी रहेकाले यो विषय छनोट गरेकी हुन् । “नेपालमा पर्यटनको क्षेत्रमा अवसर देखेर यो विषय छनोट गरेको छु” उनले भनिन् “होटल म्यानेजमेन्ट अन्य कलेजमा अध्ययन गर्न सकिने भए पनि नाथम सस्तो र धेरै प्राक्टिकल गर्ने भएकाले सिधै प्लस टु गरेपछि नाथम कलेज भर्ना भएको हुँ ।”
हाल निजी स्तरमा पनि धेरै कलेजले एचएम कार्यक्रम राखे पनि सरकारसहित निजी क्षेत्रको सहकार्यमा आतिथ्य शिक्षा दिँदै आएको नाथममा ब्याचलर लेबलमा नाम निकाल्न त्यति सजिलो भने छैन । विशेषगरी पर्यटन तथा होटल तालिम केन्द्र भनेर सन् १९७२ मा यसको स्थापना भएको हो । यो एकेडमीले १९९९ सम्म अल्पकालिन कुक, वेटर, ट्रेकिङ ट्राभल सम्बन्धि मात्र तालिम दिने गरेको थियो । विद्यार्थी र बजारको माग एचएममा बढ्दै गएपछि सन् १९९९ पछि यसले शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्न थाल्यो ।
सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ब्याचलर ईन होटल म्यानेजमेन्ट (बिएचएम) भनेर नयाँ कोर्स सञ्चालन हुन थाल्यो । यसरी हस्पिटालिटीमा नै सन् २००३ मा ब्याचरल इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) सम्बन्धि अध्यापन शुरु गर्यो । सन् २०११ मास्टर इन हस्पिटालिटी म्यानेजमेन्ट भनेर स्नाकोत्तरको कक्षा सञ्चालन गरेको थियो । त्यसैगरी पहिलादेखि नै सञ्चालन गर्दै आएको अल्पकालिन ३, ६ र ९ महिने तालिमहरू पनि नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
यो कलेजमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक कक्षा धेरै हुने गरेका कारण एचएम पढ्ने विद्यार्थी लागि यो कलेज पहिलो छनोटमा पर्ने गरेको छ । ‘टिचिङ विथ प्राक्टिकल एन्ड टे«निङ’ आधारमा रहेर कक्षाहरू ‘टे«निङ वेस’ कार्यक्रका लागि यो कलेजले चर्चा कमाएको छ ।
एचएममा रोजगारी मात्र होइन, इन्टर्नसिपको क्षमता पनि विकास हुने भएकाले सविन लामिछानेले एचएम विषय लिएर सोही कलेजमा तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् । “रोजगारमात्र होइन, यो विषय अध्ययनपछि नेपालमा बढ्दै गइरहेको पर्यटन आगमनलाई हेरर आफै व्यवसायी पनि बन्न सकिन्छ,” लामिछानेले भने, “व्यवसाय गर्न इच्छा नहुनेले यो विषय पढेर आर्कषक तलब र राम्रो रोजगारी पनि पाउन सकिन्छ ।”
बिएचएम अध्ययन गरेपछि ९५ प्रतिशतले रोजगारी पाउने भएकाले कलेजमा मास्टर लेबल भन्दा ब्याचलर लेबलमा धेरै विद्यार्थी रहेको नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए । “रोजगारी नपाएका ५ प्रतिशतले खोजी गरेको अवस्थामा रोजगारी पाउने गरेका छन्,” कार्यकारी निर्देशक ढकालले भने, “कतिपय अवस्थामा राम्रा–राम्रा होटल नै कलेजमा आएर मलाई यति विद्यार्थी चाहियो भनेर छनोट गरेर लगेको अवस्था पनि रहेको छ ।” अहिले पनि कलेजका कोअर्डिनेटरलाई सम्पर्क गरेर धेरै विद्यार्थीलाई होटलले लैजाने गरेको गरेका छन् । निर्देशक ढकालले होटल तथा रोजगारदाताले माग गरेजति विद्यार्थीलाई रोजगारीमा पठाउने नसकिएको बताए ।
संख्या र गुणस्तरीय सेवाका लागि दक्षता बढाउनु पर्छ भन्ने आवाज आइरहेको बेला कलेजले थप कोटाका लागि प्रक्रिया अघि बढाएको छ । हाल कलेजमा स्नातक तहमा एचएममा १६०, ट्राभल एन्ड टुरिजममा १२० मात्र कोटा रहेको छ । कलेज सञ्चालनका लागि सरकारले केही लगानी गरेको छ भने बाँकी विद्यार्थीको शुल्कबाट सञ्चालन गर्दै आइरहेको छ । मास्टर लेबलको कोर्स रिसर्च बेस बढी रहेको छ भने ब्याचलर लेबलमा पकाउने र सेवामा बढी केन्द्रित रहेको छ ।

विदेशमा इन्टर्नसिप
सुरुमा कलेजले बिएचएमका विद्यार्थीलाई एक वर्षका लागि इन्टर्नसिपका लागि मलेसिया पठाएको थियो । मलेसिया, थाइल्याण्ड, कुबेत, बहराइन, चीनलगायतका देशमा पठाउने गरिएको छ । खास गरेर स्थानिय र दुर्गम क्षेत्रमा होटल, होम स्टेलगायतका हस्पिटालिटी क्षेत्रका व्यवसाय सञ्चालन भएका क्षेत्रमा तालिम दिन नाथमको स्थापना गरिएको भए पनि हाल आएर कलेजले होटल म्यानेजमेन्टमा राम्रा जनशक्ति उत्पादन गर्दै आएको छ ।

दुर्गादत्त ढकाल
कार्यकारी निर्देशक, नाथम कलेज
सन् २००० अघिसम्म नेपालबाट होटल म्यानेजमेन्ट अध्ययनका लागि भारत जानुपर्ने अवस्था थियो । यो एकेडेमीको स्थापना हँुदा नेपालमा होटल म्यानेजमेन्ट अध्ययन गराउने संस्था यहीमात्र थियो । २००० पछिमात्र निजी क्षेत्रबाट यो विषय अध्ययनका लागि कार्यक्रम सञ्चालन हुन थाल्यो । नेपाल एकेडेमी अफ होटल म्यानेजमेन्ट (नाथम) मा अन्य सस्थाले भन्दा पहिलादेखि नै होटल म्यानेजमेन्टको कार्यक्रम सञ्चालन रहेको थियो । हस्पिटालिटी अध्ययनका लागि सबैको रोजाइ नाथम कलेज नै हो । तर नाथम कलेजमा बिएचएममा निश्चित कोटा भएकाले पढ्न इच्छुक सबै विद्यार्थीलाई भर्ना दिन सक्ने अवस्था छैन । ८० महिला र ८० पुरुष गरेर १६० जनाका लागिमात्र कोटा निर्धारण गरिएको छ । यसरी नै बिटिटिएममा ६० जना पुरुष र ६० जना महिलाको लागि कोटा निर्धारण गरिएको छ ।
हजारदेखि १२ सयले आबेदन दिने गरेको भएपनि कोटा कम भएर सबैलाई अवसर दिन सकिएको छैन । बिएचएम १६० र बिटिटिएम १२० वटा कोटालाई बढाउने पहल गरिरहेका छौ ।
हामीले विद्यार्थीको संख्यामात्र बढाउन कोटा थप गर्न खोजेको होइन । हामीले पूर्वाधार र कक्षाकोठाहरू पनि निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका पनि छन् । यहाँ सञ्चालन हुने सबै कक्षाहरूको व्यवहारिक ज्ञान पनि दिनुपर्ने भएकाले यसका लागि सबै पूर्वाधार एकेडेमीसँग रहेको छ । होटल म्यानेजमेन्टमा सौद्धान्तिक भन्दा व्यवहारिक कक्षा धेरै हुने गरेका छन् । त्यसकारणले गर्दा विद्यार्थीको धेरै चाप यहाँ हुने गरेको छ । विद्यार्थीको चाप हुनुको कारण दक्ष र अनुभवी शिक्षक, सरकारी व्यवस्थापनका साथै लोगो पनि महत्वपूर्ण कुरा हो ।
मास्टर लेबलमा भने त्यति विद्यार्थीको चाप छैन । मास्टर लेबल २ वर्षे भएका कारण पनि हो । ब्याचलर र मास्टर लेबलमा केही ग्याप भएकाले यस्तो भएको हो भने अर्को कुरा यहाँबाट विदेशमा इन्टर्नसिपमा पठाएका विद्यार्थी फर्किसकेको अवस्था हुँदैन ।
यो सरकारी भएकाले अलिक बढी शुल्क भयो भन्ने गुनासो पनि आएको छ । बिएचएमको ५ लाख ७५ हजार रुपैयाँ छ । यो ४ वर्षको सम्पूर्ण खर्च हो । यसरी नै बिटिटिएममा ४ वर्षको सम्पूर्ण कोर्सका लागि ३ लाख रुपैयाँ निर्धारण गरिएको छ । मास्टर लेबलमा २ वर्षको ३ लाख रुपैयाँ रहेको छ । यो किस्ताबन्दीमा बुझाउन सकिने शुल्क हो ।
क्षेत्रगत रूपमा शाखा विस्तार गर्ने तयारीमा नै चुनौती रहेको छ । यसका लागि ऐन बनाउने र संशोधन गर्ने तयारीमा छौं हामी । अब कलेजले एडभेन्चर टुरिजमका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्नुपर्छ भनेर त्यस क्षेत्रतिर पनि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्