पोखरालाई पर्यटन राजधानी घोषणा गरिँदै

पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गरिने भएको छ । आइतबार बाराही घाटमा आयोजना हुने कार्यक्रममा यो घोषणा गरिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा यो घोषणा हुने गरी आन्तरिक तयारी पूरा भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । बृहत् झाँकीसहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । यस अवसरमा हरिदेवी कोइराला, कन्दरा ब्यान्ड, प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवानलगायतको प्रस्तुति पनि कार्यक्रममा हुनेछ ।
गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा पोखरालाई नेपालकै पर्यटन राजधानी घोषणा गर्न लागिएको हो । पोखराको प्रचारप्रसार गरी यहाँका पर्यटन गन्तव्यहरुको प्रवद्र्धन गर्न तथा पोखरालाई अझ ब्रान्डिङ गर्न यो आवश्यक भएको मेयर आचार्यको भनाइ छ । राजधानी घोषणासँगै यहाँको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ तीनै तहका सरकारले काम गर्ने उनले बताए ।
पोखराको पर्यटनमा करिब ७ खर्ब लगानी भएको प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले जनाइन् । लगानीमैत्री वातावरण तयार गरी यहाँको आर्थिक पर्यटनको प्रवद्र्धन गर्न राजधानी घोषणाले मद्दत पुग्ने उनको भनाइ थियो । प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले पर्यटन राजधानी घोषणाले यहाँको पर्यटन पूर्वाधार निर्माणमा राज्यको ध्यान जाने बताए । पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने चर्चा ७ वर्ष अघिदेखि चले पनि बल्ल सार्थकता पाउन लागेको हो ।
२४ सै घण्टा खुला
पोखरामा अब अधिकांश व्यवसाय राति १ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसैगरी केही निश्चित व्यवसाय मापदण्ड पूरा गरेर २४ सै घण्टा पनि खुला गर्न पाइनेछ ।
पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै आइतबारदेखि यो व्यवस्था गर्न लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । आवश्यकता र स्थानीयको मागअनुसार सबै क्षेत्र २४ सै घण्टा खोल्ने योजना रहेको उनले जानकारी दिए । खाना, खाजा, पान पसलदेखि किराना पसलका लागि राति १ बजेसम्मको समय निर्धारण गरिएको छ । दोहोरी, डिस्को, डान्स बार, पप म्युजिकलगायत मनोरञ्जन व्यवसाय भने निश्चित मापदण्ड पूरा गरी रातभर नै खोल्न पाइनेछ ।
गैराको चौतारादेखि चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लन चोकसम्म २४ सै घण्टा खुला राख्ने निर्णय भएको छ । २४ सै घण्टा व्यवसाय खोल्ने निर्णयले आफूहरुलाई थप उत्साहित बनाएकोे पोखरा पर्यटन परिष्दका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । यसबाट आर्थिक क्रियाकलाप बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । पोखराको पर्यटनमा खर्बौंको लगानी भएकोले त्यसको सुरक्षासहित नयाँ लगानी भित्र्याउन बल पुग्ने श्रेष्ठले बताए ।