पुँजीगत खर्च चार प्रतिशतले बढ्यो

काठमाडौं– पुँजीगत खर्च चार प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा गत वर्षको तुलनामा पुँजीगत खर्च ४ प्रतिशतले बढेको हो । महालेखा नियन्त्रक कार्यालयको फागुन २९ गतेको तथ्यांक अनुसार चालु आवको आठ महिनामा पुँजीगत खर्च २६ प्रतिशत भएको छ ।
गत वर्ष सोही अवधिमा २२ प्रतिशत भएको थियो । चालु आवमा सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवको आठ महिनामा ३ खर्ब २ अर्ब बजेटमध्ये ७८ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको छ । गत वर्ष सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आवको सोही अवधिमा गत वर्ष विनियोजित बजेट मध्येमा ८३ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको हो ।
प्रतिशतको आधारमा चालु आवमा पुँजीगत खर्च चार प्रतिशत बढी देखिएता पनि विनियोजित बजेट र खर्चका हिसाबले गत वर्षको तुलनामा ५ अर्ब १० करोड रुपैयाँ कम खर्च भएको तथ्यांकले देखाएको छ । यस्तै महालेखाको फागुन २९ को तथ्यांक अनुसार सरकारको राजस्व संकलनमा पनि केही सुधार आएको छ । चालु आवको आठ महिनामा ४४ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ४० दशमलव ९८ प्रतिशत संकलन गरेको थियो ।
यो गत वर्षको तुलनामा ४ प्रतिशत बढी हो । चालु आवमा सरकारले वार्षिक राजस्व लक्ष्य १४ खर्ब २२ अर्ब रुपैयाँ संकलन गर्ने लिएको छ । चालु आवको आठ महिनामा वार्षिक लक्ष्यमध्ये ६ खर्ब ३३ अर्ब रुपैयाँ संकलन भएको छ । गत वर्ष सरकारले राजस्व संकलन गर्ने वार्षिक लक्ष्य १४ खर्ब ३ अर्ब दिएको थियो । चालु आवको सोही अवधिमा गत वर्ष लिएको वार्षिक लक्ष्यमध्ये ५ खर्ब ७५ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
यो वर्षको तुलनामा चालु आवमा सरकारले ५८ अर्ब रुपैयाँ राजस्व बढी संकलन गरेको छ । यस्तै गैर राजस्वतर्फ चालु आवको आठ महिनामा लक्ष्यको ५१ दशमलव ३२ प्रतिशत संकलन भएको छ । गैर राजस्व संकलनतर्फ सरकारले १ खर्ब १७ अर्ब रुपैयाँको लक्ष्य लिएको छ । जसमा ६० अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै वैदेशिक अनुदानतर्फ लक्ष्यको ५ दशमलव ५२ प्रतिशत आएको छ । सरकारले चालु आवमा वार्षिक लक्ष्य ४९ अर्ब रुपैयाँ वैदेशिक अनुदान आउने लक्ष्य लिएको छ ।
यस्तै चालु आवको फागुन मसान्तसम्म चालुतर्फ सरकारले विनियोजित बजेटको ५० दशमलव ५१ प्रतिशत खर्च गरेको छ । गत वर्षको सोही अवधिमा ५१.२६ प्रतिशत गरेको थियो । गत वर्षको तुलनामा चालु खर्च कम भएको छ । गत वर्ष सरकारले चालु खर्चमा ११ खर्ब ८३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । चालु आवमा सरकारले साधारणतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महालेखाको तथ्यांक अनुसार फागुन २९ गते सम्म सरकारले चालु खर्चतर्फ विनियोजित बजेटमध्ये ५ खर्ब ७६ खर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै वित्तीयतर्फ सरकारले चालु आवको आठ महिनामा ४४ दशमलव ९७ प्रतिशत खर्च गरेको छ । सरकारले वार्षिक लक्ष्य ३ खर्ब लिएको छ ।