दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त

नेपालको वृद्धि ६.४ प्रतिशतमात्रः विश्व बैंक |
सरकारले साढे आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइरहेका बेला विश्व बैंकले भने नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ६.४ प्रतिशतमात्र हासिल हुने प्रक्षेपण गरेको छ ।
चालू आर्थिक वर्षका लागि ७.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको बैंकले सन २०२० मा दक्षिण एसियाकै आर्थिक वृद्धिदर घट्ने भन्दै नेपालको वृद्धिको प्रक्षेपण घटाएर ६.४ प्रतिशत रहने बताएको हो । जसअनुसार चालू आर्थिक वर्षमा दोश्रो स्थानमा रहेको नेपाल उच्च आर्थिक वृद्धि हुने दक्षिण एसियाली मुलुकहरूमा चौथो देश बन्ने छ । विश्व बैंकले आइतबार आफ्नो प्रतिवेदन सार्बजनिक गर्दै चालू आर्थिक वर्षमा दक्षिण एसियाकै अर्थतन्त्रमा सुस्तता देखिएकोले त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा देखिने बताएको छ । उसले विश्वको अर्थतन्त्र ओरालो लागिरहेका बेला दक्षिण एसियाका मुलुकको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । प्रतिवेदन अनुसार दक्षिण एसियाको वृद्धिदर ५.९ प्रतिशतमा सीमित हुनेछ ।
औद्योगिक क्षेत्रको घट्दो उत्पादन र निर्यात तथा वित्तीय क्षेत्रमा देखिएको मन्दीका कारण अर्थतन्त्र कमजोर हुन सक्ने देखिएको बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हाटविङ स्क्याफरले बताए । विश्वबजार तथा दक्षिण एसियाली मुलुकको घरेलु अर्थतन्त्रको अनिश्चितताले यस क्षेत्रको आर्थिक परिदृश्यलाई अस्थिर बनाइरहेको उनको दाबी छ । उनले दक्षिण एसियाली मुलुकहरूले निजी उपभोगिता तथा लगानीलाई बढाउन आफ्नो आर्थिक नीतिमा परिवर्तन ल्याउनुपर्ने बताए । प्रतिवेदन अनुसार सन २०२० मा भुटानले सबैभन्दा बढि ७.४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने छ भने बंगलादेशले ७.२ प्रतिशत हुने प्रक्षेपण बैंकको छ ।
त्यस्तै, दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशत र मालदिभ्सको ५.५ प्रतिशतको प्रक्षेपण गरिएको छ । यस्तै श्रीलंकाले आर्थिक वृद्धिदर ३.३ प्रतिशत र अफगानिस्तानको ३ प्रतिशत र सबैभन्दा कम पकिस्तानको २.४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकले जनाएको छ ।
प्रतिवेदन अनुसार सन् २०१९ अप्रिलको भन्दा पछिल्लो पटक अर्थतन्त्रको वृद्धिदर १.१ प्रतिशतले सुस्ताएको छ । “जसले छोटो समयमा अर्थतन्त्र सुधारमा अनिश्चितता ल्याएको छ” विश्व बैंकले भनेको छ ।
विश्व बैंकका अनुसार विगतमा हुने बलियो घरेलु मागका कारण वृद्धिदर कायम रहेको र हालको अवस्थामा यो अवस्था कमजोर बन्दा यसले दक्षिण एसियाली क्षेत्रभरि नै मन्दी ल्याउने संकेत देखिएको हो । प्रतिवेदनले पाकिस्तानको अर्थतन्त्र १५ प्रतिशत र श्रीलंकामा २० प्रतिशतले अर्थतन्त्र खुम्चिएको उल्लेख गरेको छ । भारतमा घरेलु माग घट्नुका साथै निजी उपभोगिता एक वर्षअघिको ७.३ प्रतिशतबाट अन्तिम चौमासिकमा ३.१ प्रतिशतले झरेको बैंकले सार्बजनिक गरेको पछिल्लो संस्करणमा उल्लेख छ । आयात र औद्योगिक उत्पादनमा देखिएको कमी तथा वित्तीय बजारमा देखिएको तनावले दक्षिण एसियाली क्षेत्रमा ठूलो आर्थिक मन्दीको आउने संकेत बैंकले गरेको छ ।
आर्थिक वृद्धि ६.३ प्रतिशतः एडीबी |
एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिमा सुधार हुने प्रक्षेपण गरेको छ । एडीबीले हालै सार्वजनिक गरेको नेपालको वृहत आर्थिक अवस्थाको अद्यावधिक प्रतिवेदन अनुसार २०२० मा नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने अनुमान एडीबीको छ । तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीमा बढोत्तरी भएमा आर्थिक वृद्धि प्रक्षेपण गरिएको भन्दा पनि बढी हुने एडीबीको अनुमान छ । यो वर्ष सार्वजनिक खर्चमा वृद्धि, अनुकुल मौसम, ठूला परियोजनामा लगानी र पर्यटक आगमनमा वृद्धि भएमा नेपालको अर्थतन्त्र सोचेभन्दा बढीले विस्तार हुने एडीबीका देशिय निर्देशक मुक्दर खामदुनखाभले बताएका छन् । गत असारमा बाढीले ठुलो क्षति गरेपछि कृषि क्षेत्रको विस्तार भने खुम्चिनिने अनुमान एडीबीको छ ।
निरन्तर बिजुलीको आपूर्ति, लगानीमैत्री वातावरणमा सुधारले यो वर्ष औद्योगिक विस्तार ७.९ प्रतिशत हुने एडीबीले जनाएको छ । सेवा क्षेत्र पनि ६.९ प्रतिशत हुने अनुमान छ ।
थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्तता र पर्यटन क्षेत्रमा देखिएको सुधारले यो वर्ष पनि सेवा क्षेत्रको विस्तार राम्रो हुने अनुमान एडीबीको छ । मूल्यवृद्धि गत वर्षको तुलनामा बढेर ५.५ प्रतिशत पुग्ने देखिएको छ । भारतमा पनि भाउ बढेकाले नेपालमा यसको असर पर्ने एडीबीको विश्लेषण छ । गत वर्षको तुलनामा बजेट घाटा कम भएपनि यो वर्ष ५.१ प्रतिशत हुने देखिएको छ । गत वर्ष ६.७ प्रतिशत थियो ।
व्यापारघाटा बढ्दै गएकाले यो वर्ष वाह्य क्षेत्रमा जोखिम रहेको एडीबीले औल्याएको छ । व्यापार घाटाले वाह्य क्षेत्रलाई अस्थिर बनाएको छ । चालू खाता घाटा कम भएर कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ७.७ प्रतिशत रहने अनुमान छ । गत वर्ष ८.२ प्रतिशत थियो ।