Logo

११ पालिकामा निस्सा वितरण

गुल्मी– गुल्मीका ११ पालिकामा निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीद्वारा रेसुंगा नगरपालिकाबाहेक ११ पालिकामा निस्सा वितरण गरिएको हो । पछिल्लो साढे दुई वर्षको अवधिमा गरिएको कार्यविवरण राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले मंगलबार जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

समितिले पछिल्लो साढे दुई वर्षमा जिल्लाका १२ स्थानीय तहका दुई हजार ५९९ लाभग्राही भएको तथ्यांक निकालेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए । उनका अनुसार, जसमा भूमिहीन दलित तीन सय आठ, भूमिहीन सुकुम्वासी २६१ र अव्यवस्थित बसोबासी दुई हजार ३० गरी कुल दुई हजार ५९९ लाभग्राही रहेका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले हालसम्म जिल्लास्तरीय पत्रकार सम्मेलन, राजनीतिक दलसँग सर्वदलीय बैठक सम्पन्न, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक विवरण माग गरी केन्द्रमा पठाएको, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रशासकीय अधिकृत र सरोकारवा कार्यलयसँग अभिमुखीकरण कार्यकम सम्पन्न गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । त्यस्तै धुर्कोट, मदाने र गुल्मीदरबार गरी तीनवटा स्थानीय तहको सम्झौता केन्द्रमा भएको तथा बाँकी नौवटा स्थानीय तहको सम्झौता जिल्लामै गरिएको, पहिलो चरणको १२ वटा स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन तथा स्थानीय अधिकारको काम कर्तव्य र अधिकारकार बारे अभिमूखीकरण सम्पन्न गरिएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा निस्सा वितरण/रेसुंगा नगरपालिकामा वितरण गर्ने तयारी, रुरक्षेत्र गाउँपालिका, मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्य सम्पन्न भएको, रुरुक्षेत्र गाउँपालिकामा कार्य अन्तिम चरणमा पुगि सात दिने सूचना प्रकाशित गर्ने तयारी गरिएको छ । मदाने गाउँपालिकामा जग्गा नापजाँचको लागि १५ दिने सूचना प्रकाशित, अधुरा अपुरा कामको पुरानो आयोगमा पेश भएका फाइल अध्ययन गरी सोको पहिचानका लागि मालपोत कार्यालयमा पठाइएको छ ।

विगतका आयोगले वितरण गरेका जग्गाधनी प्रमाणपूर्जा/श्रेष्ताका आवश्यक थप पूरक प्रमाण पेश गर्न सूचना प्रकाशित गरिएको, नापी कार्यालय गुल्मी र मजुवामा विगतका आयोगले वितरण गरेका जग्गाधनी प्रमाण पुर्जा÷श्रेष्ताका नक्सा सिट माग गरिएको छ । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहबाट निर्णय र प्रमाणित भई आएका भूमिहिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जिल्ला समितिबाट निर्णय गरी तीन पुस्ते पारिवारिक जग्गा पहिचानका लागि मालपोत कार्यालयमा पठाइएको र सो कार्य सम्पन्न भई निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई ३४० वर्गमिटिर जग्गा पाउनेछन् । त्यस्तै कृषि प्रयोजनका लागि तीन हजार वर्ग मिटर, अव्यवस्थित बसोबासीका लागि एक हजार वर्ग मिटर, कृषि प्रयोजनका लागि १० हजार वर्गमिटर र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमा दोहोरो लिन नपाइने समितिका विज्ञ सदस्य पाण्डेले जानकारी दिए । स्थानीय तहमा प्रमुख तथा अध्यक्षको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी सहजीकरण समिति गठन गरिएका छन् ।

जिल्लाका सबै स्थानमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नछुटाउने गरी काम गरिरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्