मेसिनले अलैंची ग्रेडिङ सहज

बिर्तामोड– अलैंची ग्रेडिङमा मेसिनको परीक्षणले सहजता आउने भएको छ । झापाको बिर्तामोडमा अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएसँगै सहजता आउने अपेक्षा गरिएको हो । नेपाल अलैंची व्यवसायी महासंघ झापाको बिर्तामोडस्थित केन्द्रीय कार्यालयमा अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए ।
अलैंची ग्रेडिङ मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैंची ग्रेडिङको काम हुने बताउँदै उनले अहिले हाते जालीबाट अलैंची ग्रेडिङको काम भइरहेकोमा अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएसँगै ग्रेडिङमा सहजता आउने जानकारी दिए । केही व्यवसायीले भारतबाट अलैंची ग्रेडिङ मेसिन खरिद गरेर अलैंची ग्रेडिङ गरिरहेको बताउँदै उनले भारतबाट ल्याइने अलैंची ग्रेडिङ मेसिन महँगो पर्ने बताए । भारतबाट अलैंची ग्रेडिङ मेसिन खरिद गर्दा एउटाको करिब १० लाख रुपैयाँ पर्छ ।
तर,नेपाल अलैंची व्यवसायी महासंघको कार्यालयमा परीक्षण गरिएको अलैंची ग्रेडिङ मेसिनको मूल्य ५० हजार रुपैयाँ हुने भएकाले यो सफल भएमा यसले अलैंची किसान र अलैंची व्यवसायीलाई सहजता मिल्नेछ । योसँगै लागत र समय बचत हुने उनको भनाइ छ । स्वीस सरकारद्वारा सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इञ्जिनियरिङले अलैंची ग्रेडिङ मेसिनको निर्माण गरेको कामक्ष एग्रो इञ्जिनियरिङका सञ्चालक कृष्णप्रसाद अधिकारीले बताए ।
स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर अलैंची ग्रेडिङ मेसिनको निर्माण गरिएको बताउँदै उनले अलैंची ग्रेडिङ मेसिन परीक्षणका क्रममा रहेकाले अझै परिमार्जित गरिने जनाए । स्थानीय सामानको प्रयोग गरेर अलैंची ग्रेडिङ मेसिनको निर्माण गरिएको बताउँदै उनले एउटा अलैंची ग्रेडिङ मेसिनको अधिकतम मूल्य ५० हजार पर्ने जनाए । उत्पादनलाई प्रविधिसँग जोड्नका लागि अलैंची ग्रेडिङ मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतीक देवकोटाले बताए । अलैंची किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा अलैंची ग्रेडिङ मेसिन बनाएको बताउँदै उनले अलैंची ग्रेडिङ मेसिनले लागत घटाउनुका साथै काम गर्न सहज हुने जनाए ।
नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले अलैंची किसान र व्यवसायीले अलैंचीलाई तीन किसिमबाट गुणस्तर छनोट गरी बिक्री गर्ने गरेको बताउँदै अलैंची ग्रेडिङ मेसिनबाट सबैभन्दा उच्चस्तरको अलैंची ‘जम्बो जेट’ (जेजे), मध्यम खालको (एसडी) र चलनचल्ती गरी तीन तहमा अलैंचीको गुणस्तर कायम हुने जनाए । किसानले अलैंचीको बिक्री गर्नुअघि अलैंचीको ग्रेडिङ (गुणस्तर निर्धारण) गर्नुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय बजारले गुणस्तरीय अलैंची खोजेको र ग्रेडिङ गरिएको अलैंचीको बिक्री पनि छिट्टै हुने भएपछि किसानले यसको गुणस्तरमा ध्यान दिन थालेको जनाए । उनले अलैंची ग्रेडिङ मेसिनको उपयोग गर्न सबैलाई आग्रह गरेका छन् ।