Logo

हस्तकलाबाट आम्दानी गर्दै महिला

दाङ– पछिल्लो समय हस्तकला महिलाको आयआर्जनको माध्यम बन्दै गएको छ । थारू समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर आयआर्जन गर्दै आएका छन् ।

घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्दै आएका छन् । सीपका माध्यमबाट आयआर्जनमा जोडिएपछि घरको दैनिकी चलाउन सहज भएसँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् ।

थारू हस्तकलासम्बन्धी मेह्री हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला संस्कृतिको संरक्षणसँगै आफुजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन् ।हस्ताकलाका सामग्री उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएकी चौधरी भन्छिन्, ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएका सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ ।’

उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्ताकलासम्बन्धी सामग्री बनाउनसके महिनामा १५–२० हजार सजिलै कमाउन सकिने बताउँछिन् । हस्तकलाको व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदमै समय बित्ने गरे पनि काम सुरु गरेपछि भने फुर्सद नै नहुने गरेको भन्दै भन्छिन्, ‘घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर बित्थ्यो तर अहिले कामले गर्दा फुर्सद नै हुँदैन ।’

उनका अनुसार गमला, ढकिया, टोकरी, पेनहोल्डर, हट्केस, थाल, टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएको बताइन् । सरिताजस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी छिन् । पाँच वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लागेकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने गरेको बताउँछिन् ।

घरको काम गरेर बचेको फुर्सदको समयमा आफुले सामग्री बनाएर बिक्री गरेर राम्रो आम्दानी भइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन तर हस्तकलाका सामग्री उत्पादनमा मात्रै लाग्नु भएका महिलाले महिनामै ३० हजार रुपैयाँसम्म कमाउनु हुन्छ ।’ काठमाडांैमा विदेशीसँगै जिल्लामा हस्तकलाका सामग्रीप्रति रुचि राख्नेले खरिद गर्ने गरेको उनी बताउँछिन् ।

उनका अनुसार काठमाडौंमा धेरै बिक्री हुने भएकाले धेरै सामग्री अर्डरमै बन्छ । एक्लाएक्लै भन्दा गाउँमा १४ जना महिला मिलेर मेह्री हस्तकला उद्योगका माध्यमबाट गमला, ढकिया, टोकरी, पेन–होल्डर, हट्केस, थाल टोकरी, ट्रेलगायतका सामान उत्पादन गर्ने र समय मिल्नेले जिल्लामा हुने मेला महोत्सवमा लगेर बिक्री गर्ने गरेका छन् । हस्तकलाका सामग्री उत्पादनमा समस्या नभए पनि कच्चा पदार्थ भने कपिलवस्तुबाट ल्याउनुपर्ने बाध्यता भएको बताउँछिन् ।

हस्तकलाका सामग्री बनाउन कुस देउखुरीकै राप्ती नदीको बगरलगायतका ठाउँमा पाइने भए पनि मुन्ज भने कपिलवस्तुबाट ल्याउनु पर्ने बाध्यता रहेको उनी बताउँछिन् । स्थानीय सरकारले देउखुरीको राप्ती नदीलगायतका सीमसार क्षेत्रमा उत्पादन गर्न सकिने कुस र मुन्जको व्यवस्था गर्दिनसके महिलाका लागि राम्रो आयआर्जन हुने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्