Logo

जीवनउपयोगी शिक्षाको आवश्यकता

शिक्षा र गुणस्तरीय शिक्षा पृथक् कुरा हो । गुणस्तरीय शिक्षाले विद्यार्थीको भविष्य मात्र सुन्दर, सुरक्षित, समृद्ध र मूल्यवान् तुल्याउँदैन, बल्कि सिंगो राज्यको भविष्य सुुन्दर, सबल एवं समृद्ध बनाउँछ । अर्को शब्दमा भन्नुपर्दा जुन मुलुकको शैक्षिक स्तर अब्बल वा गुणवत्तापूर्ण हुन्छ, उक्त मुलुकले शीघ्र तरक्की गर्छ । यसकारण कि, गुणस्तरीय शिक्षाले मानिसलाई तर्कवान्, सिर्जनशील, जिज्ञासु, ऊर्जावान्, खोजमूलक र आत्मविश्वासी बनाउँछ ।

अब्बल शिक्षाले कार्य गर्ने तौरतरिका, सीप, खुबी, जिज्ञासामा बढोत्तरी प्रदान गर्छ । सीपयुक्त, दक्ष, तर्कवान्, खोजमूलक जनशक्तिको काँध पाउँदा मुलुक स्वतः समृद्धितर्फ लम्कन्छ । जसरी गुणस्तरीय शिक्षाले एउटा मानिसलाई अर्को मानिसभन्दा पृथक् बनाउँछ, त्यसैगरी गुणस्तरीय शिक्षा प्राप्तिद्वारा त्यहाँका नागरिकले आफ्नो मुलुकलाई अन्य देशभन्दा भिन्न उचाइमा उभ्याउन सक्छन् ।

अमेरिका, चीन, जर्मनी, क्यानडा, जापान, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, साउदी अरबजस्ता विकसित मुलुकहरूको तुलनामा सोमालिया, दक्षिण सुडान, तान्जानिया, युगान्डा, नेपाल, अफगानिस्थान तथा चाँदजस्ता अविकसित मुलुकको कुल राष्ट्रिय आयमा ठूलो असमानता हुनुमा शैक्षिक गुणस्तरकै हात रहेको छ । यसकारण कि, शैक्षिक गुणस्तरमा अब्बल साबित भएका हार्डवर्ड, क्याम्ब्रिज, स्ट्यानफोर्ड, अक्सफोर्डलगायतका ९८ प्रतिशत विश्वविद्यालय विकसित मुलुकको स्वामित्वमा रहेका छन् र ती विश्वविद्यालयले उक्त मुलुकमा उत्पादन हुने वस्तु तथा सेवाको पेटेन्टराइट, कपिराइट वा ट्रेडमार्क निर्माणमा योगदान पुर्याइरहेका छन् ।

त्यस्तै गुणस्तरकै कारण एप्पल, माइक्रोसफ्ट, एमेजोन, टेस्ला, अलिबाबा, गुगल, सामसुङ, फेसबुकजस्ता टेक्नो कम्पनीहरूको नेटवर्थ मल्टिबिलयन डलर पुगेको हो । टोयोटा, नेस्ले, जोनसन एन्ड जोनसन, युनिलिभर, कोकाकोलाजस्ता कमोडिटी कम्पनीको नेटवर्थलाई टेक्नो कम्पनीहरूले पछाडि पार्नुको मूल कारण नवप्रवर्तन (इनोभेसन) हो । यसको अर्थ अहिले गुणस्तर (क्वालिटी) भन्दा नवप्रवर्तनले महत्व पाएको छ भन्ने हो । जुन मूलतः गुणस्तरीय शिक्षाकै उपज हो । यसकारण कि, नवप्रवर्तनीय (इनोवेटिभ वेस्ड) कम्पनीहरूले औसत ९८ प्रतिशत मानवपुँजी उपयोग गर्दै गर्दा कमोडिटी बेस्ड कम्पनीहरूले ३५ प्रतिशत मात्र मानवपुँजी प्रयोग गर्ने गरेका छन् । मानवपुँजीको उत्पादकत्व अन्य उत्पादनका साधनभन्दा अत्यधिक हुन्छ भन्ने सबुत हो, यो । यसको अर्थ अब्बल जनशक्ति उत्पादनका लागि गुणस्तरीय शैक्षिक संस्था आवश्यक पर्छ भनेर बुझ्नुपर्छ ।

जहाँसम्म हाम्रो शैक्षिक गुणस्तरको सवाल छ, पाठ्यक्रमलाई चाखलाग्दो बनाउन सकिएको छैन, बरु अध्ययनको नाममा विद्यार्थीले मानसिक तनाव बेहोर्नुपर्ने बनाइएको छ । हाम्रो शैक्षिक प्रणालीले विद्यार्थीलाई ज्ञान मात्र बाँड्ने गरेको छ, जीवनोपयोगी सीप सिकाउन सकेको छैन । प्राथमिक तहको शिक्षा मूलतः प्रवृत्ति विकासमा मुखरित हुनुपर्छ । तर, प्राथमिक तहमा अनुशासन, आचरण, नैतिकता र सुझबुझ केन्द्रित पठनपाठनमा ध्यान पुग्न सकेको छैन । किताबी ज्ञानमा जोड दिइएको मात्र छैन, बल्कि बालबालिकाले बोक्न नसक्ने पुस्तक र नानाथरीका विषयवस्तु लाद्ने गरिएको छ । शैक्षिक सत्र प्रारम्भ भइसक्दा पनि पुस्तक प्राप्त गर्न नसकेका कैयन् नजिर छन् ।

निम्न माध्यमिक तथा माध्यमिक तहको शिक्षा मूलतः समष्टिगत क्षमता विकासमा मुखरित हुनुपर्छ । तर, निम्न माध्यमिक तथा माध्यमिक तहमा अध्ययन गर्नुपर्ने विषयवस्तुको वास्तविक प्रयोग तथा उपयोगिता ध्यान पुग्न सकेको छैन । प्रयोगात्मक शिक्षाको नाममा कम्प्युटर साइन्समा टाइपशाला, माइक्रोसफ्ट वर्ड वा एक्सेलमै सीमित गर्ने कार्य भएको छ । अन्य प्रयोगात्मक भनिएका विषयहरूको सिकाइ पनि योभन्दा फरक छैन । विषयगत ज्ञान भएका शिक्षक तथा प्रयोगशालाको अभाव छ । विगतका पाठ्यक्रममा समाविष्ट संस्कृत शिक्षा, नैतिक शिक्षा, शारीरिक शिक्षा, भूगोल, इतिहासजस्ता विषयहरूलाई तिलाञ्जली दिँदा विद्यार्थीभित्र विकास हुनुपर्ने अनुशासन, चरित्र, नैतिकता नाजुक बनेको छ । मुलुकको साहित्य, कला, संस्कृति, सामाजिक संरचना, रहनसहन, पितापुर्खाको विरासत, प्राकृतिक स्रोतसाधन र भौगोलिक बनावटका बारेमा विद्यार्थी अनभिज्ञजस्तै भएका छन् ।

उच्च माध्यमिक तहको शिक्षा मूलतः निश्चित विधा वा क्षेत्रका लागि आधारशिला निर्माणमा केन्द्रीकृत हुनुपर्छ । तर, उच्च माध्यमिक तहमा व्यावहारिक प्रयोगभन्दा घोक्न र लेख्न मात्र सिकाइएको छ । अर्थात् मार्कसिटमा प्राप्त अंकलाई मात्र सफलताको मानक ठान्ने गरिएको छ । अर्को शब्दमा भन्नुपर्दा विद्यार्थीलाई नोट, गाइड, ट्युसन र कोचिङमुखी बनाइएको छ । अध्यापन विधि अन्तक्र्रियात्मकभन्दा एकपक्षीय बनाइएको छ । व्यावहारिक ज्ञान वा सिर्जनात्मक सोचाइ (क्रिटिकल थिंकिङ) को विकासतर्फ ध्यान पु¥याउन सकिएको छैन ।

विश्वविद्यालय तहको शिक्षा मूलतः शोध–क्षमता र विशिष्टीकरण केन्द्रित हुुनुपर्छ । तर, शोध–अनुसन्धान र विज्ञता विकासमा विश्वविद्यालयहरू चुकेका छन् । शैक्षिक संकायहरू असान्दर्भिक छन् । त्रिविलाई विशाल, केन्द्रीकृत र भद्दा बनाइएको मात्र छैन; यसकोे शैक्षिक प्रशासन नाजुक छ । प्राज्ञलाई शैक्षिक स्वायत्तता प्रदान गरिएको छैन । राम्रा भनिएका चिकित्सा, इन्जिनियरिङ वा चार्टर्ड एकाउन्टेन्सीजस्ता विषयहरू तीक्ष्णताभन्दा खर्च गर्ने सक्ने आर्थिक हैसियतका आधारमा प्राप्त गर्न सक्ने शैक्षिक पद्धति विकास गरिएको छ । परीक्षा लिएको १२–१५ महिनासम्म पनि नतिजा प्रकाशन गर्नु दुर्लभजस्तै छ । शैक्षिक गुणस्तर सुधारार्थ उच्च शिक्षा आयोगको स्थापना गरिएको भए तापनि नतिजा प्राप्त गर्न सकिएको छैन । प्राज्ञको नियुक्ति गर्दा कार्य सम्पादन गराउनु आवश्यक नै ठानिएको छैन, तर प्रतिफलको अपेक्षा गरिएको छ ।

शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन शैक्षिक विधिमा रहेका कमी–कमजोरीहरू संशोधन वा परिमार्जन आवश्यक पर्छ । यस्ता संशोधन वस्तुनिष्ठ र उद्देश्यमुखी हुनुपर्छ । तर, हाम्रो शैक्षिक क्षेत्रमा पद्धतीय सुधारको नाममा एसएलसीलाई–एसइई, प्रवीणता प्रमाणपत्रलाई– १२ कक्षा, अंक वा प्रतिशत (डिभिजन) लाई– श्रेणी (ग्रेडिङ), वार्षिक पद्धति (एनुएल)लाई– ६ महिने (समेस्टर), दुईवर्षे स्नातकलाई– चारवर्षे बनाइएको छ । पाठ्यव्रmम परिमार्जनको नाममा उही शीर्षकलाई तलमाथि पार्ने वा एउटा कक्षा वा सेमेस्टरमा अध्ययन गर्नुपर्ने विषयवस्तुलाई अर्को कक्षा वा सेमेस्टरमा समावेश गर्ने कार्य भएको छ । गुणस्तर सुधारका लागि अतिथि प्राध्यापक (गेस्ट लेक्चर), स्थलगत अवलोकन (फिल्ड भिजिट), कार्यभार सोपन (असाइनमेन्ट) र शोध–अनुसन्धान थोरबहुत हुने गरे तापनि आशातीत नतिजा प्राप्त हुन सकेको छैन ।

अन्य क्षेत्रमा असफल भएका व्यक्ति शिक्षण पेसामा आउने संस्कार निर्माण गरिएको छ । शिक्षकले आर्जित ज्ञानलाई व्यवहारमा उतार्ने गरेको विरलै पाइन्छ । जसले जीवनमा कुनै व्यापार–व्यवसाय नै गरेको छैन उसले बीबीए वा एमबीएजस्ता संकाय हाँक्ने गरेका छन् । शिक्षकलाई अध्ययनशील, प्रविधिमैत्री र शोधक बनाउन सकिएको छैन । आवश्यकताअनुसार शिक्षकको चयन, क्षमताअनुसार नियुक्ति तथा बर्खास्ती, कार्य–सम्पादनमा आधारित पारिश्रमिक पद्धति अवलम्बन गर्न उदासीन बनेको छ । शिक्षकले समयमा पारिश्रमिक प्राप्त गर्न नसक्दा त्यसको नकारात्मक प्रभाव स्वाभाविक रूपमै अध्यापनमा पर्ने गरेको छ । शिक्षकको क्षमता अभिवृद्धिका लागि यथेष्ट तालिम, सिकाइ वा प्रशिक्षणको व्यवस्था गर्न सकिएको छैन ।

गुणस्तरहीन शिक्षाले निराशा, कुण्ठा, बेरोजगारी र विसंगति मात्र निम्त्याउने हुँदा शैक्षिक संस्थाबाट प्रदान गरिने शिक्षा गुणस्तरीय, जीवनोपयोगी, व्यावहारिक र वैज्ञानिक हुनुपर्छ । तर, हाम्रो शैक्षिक प्रणालीले गुणात्मकभन्दा मात्रात्मक जनशक्ति उत्पादनमा जोड दिएको छ, जुन दोषपूर्ण छ । यसर्थ, गुणात्मक शैक्षिक जनशक्ति उत्पादन गर्न प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक र उच्च शिक्षाबीच तारतम्य मिलाउनुपर्छ । शैक्षिक गुणस्तर सुधारका लागि सरकारी, सामुदायिक तथा निजी तहमा सञ्चालित प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तथा उच्च माध्यमिक र विश्वविद्यालयहरूमा निहित प्रयोगशाला, पाठ्यसामग्री, भौतिक पूर्वाधार, अध्यापकीय क्षमता, अनुगमन तथा निरीक्षण पद्धतिलाई अब्बल तुल्याउनुपर्छ ।

गुणस्तर सुधार लक्ष्य र समय–सीमा अनुबन्धित हुनुपर्छ । पाँच, दस वा बीस वर्षमा मुलुकको शैक्षिक हैसियतलाई के–कस्तो गुणस्तरसहित कुन उचाइमा पु¥याउने, लक्ष्य र समय–सीमा निर्धारण गरी, लक्ष्य प्राप्तार्थ आवश्यक स्रोतसाधन सुनिश्चित गर्नुपर्छ । लक्ष्य प्राप्तिको योजना एवं कार्यक्रम तर्जुमा गरी स्रोतसाधनको उच्चतम उपयोग हुने गरी कार्यान्वयन गर्न चुक्नु हुँदैन । उच्च शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउन अत्याधुनिक प्रयोगशालासहित प्राविधिक शिक्षामा जोड दिनुपर्छ । यसका निमित्त शोध–अनुसन्धान, समस्या समाधान, आलोचनात्मक सोचाइ, सूचना प्रविधिको प्रयोग र विद्युतीय पुस्तकालयजस्ता शैक्षिक आयामहरू मजबुत बनाउनुपर्छ ।

गुणस्तर सुधारका लागि समयसारिणीको अहम् भूमिका हुने हुँदा के, कहिले प्रवेश परीक्षा लिने ? के–कति समयमा नयाँ भर्ना लिने ? के–कति समयमा जाँच लिने ? के–कति महिना अध्ययन गराउने ? जाँचपश्चात् के–कति समय फाजिल रहने ? प्रस्ट किटानीका साथ शैक्षिक क्यालेन्डर निर्माण गरी लागू गर्नुपर्छ । शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्ने पदाधिकारीलाई दण्डित गर्न नियामक निकाय चुक्नु हुँदैन । शैक्षिक संस्थाका शैक्षिक गतिविधिहरू आगामी पाँच, दस वा पन्ध्र वर्षमा के–कसरी अगाडि बढ्ने भन्ने कुरा क्यालेन्डरले बोलेको हुनुपर्छ ।

गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय अध्यापक स्वाभाविक रूपले आवश्यक पर्छ । जसरी पौराणिक कालमा अर्जुनले द्रोणाचार्य र चन्द्रगुप्त मौर्यले चाणक्यजस्ता असल गुरु प्राप्त गरेका कारण आ–आफ्नो क्षेत्रमा निपुणता प्राप्त गरेका थिए, त्यसैगरी असल विद्यार्थी उत्पादन गर्न असल शिक्षक वा गुरु आवश्यक पर्छ भन्ने कुरा भुल्नु हुँदैन ।

क्षमतावान्, गुणवान्, विनयी, अध्ययनशील अध्यापकबिना असल चेला जन्मन सक्दैन । अर्थात् गुणवान् चेला उत्पादन गर्न गुणवान् गुरु आवश्यक पर्छ । शिक्षकले एउटा विद्यार्थीको मात्र नभई समाज र मुलुकको भविष्य निर्धारण गर्ने हुँदा क्षमतावान् व्यक्ति मात्र शिक्षण पेसामा प्रवेश गर्ने वातावरण निर्माण गर्नुपर्छ । शिक्षकको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा तालिम, सिकाइ, प्रशिक्षण, अनुसन्धान, आकर्षक सेवासुविधा उपलब्ध गराउँदै निजलाई अध्ययनशील, शोधक, नैतिकवान् तथा अद्यावधिक बनाउने वातावरण सिर्जना गर्नुपर्छ ।

अध्यापकलाई अध्ययनशील एवं अद्यावधिक तुल्याउन नियुक्ति तथा निष्कासन स्वतन्त्रता (हायर एन्ड फायर) र कार्य सम्पादनमा आधारित पारिश्रमिक (पर्फमेन्स वेस्ड पेइङ) विधि कार्यान्वयमा ल्याउन हिचकिचाउनु हुँदैन । अध्यापन पेसाको सामाजिक प्रतिष्ठा खस्किरहेकाले उठानका उपायहरू पहिल्याई कार्यान्वयन गर्नुपर्छ । अर्थात् आकर्षक सेवा–सुविधाको प्रबन्ध गरी निजामती वा सोसरह आकर्षक तुल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्