चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणको क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुनेपनि बताए ।
२३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउँदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेका भन्दै उनले वर्तमान सरकार निर्वाचित भएर आईसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी पनि गरे । उनले भने, ‘विगतमा हामीलाई छिमेकीसँगमात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, तर यो सरकार आईसकेपछि हामीले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा पनि सक्रियताका साथ सम्बन्ध अघि बढायौं ।’ अहिले उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रम बढिरहेको उनको भनाई छ ।
कुटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता हाँसिल गरेको पनि उनको दाबी छ । यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्विकारेर चिनियाँ राष्ट्रपति आउन लागेको बताउँदै भट्टराईले अहिले नेपाल र चीनबीच उच्चस्रतीय सम्वाद निरन्तर भैरहेको स्पष्ट पारे ।
नेपाल र चीन दुवै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक भएको र द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाई छ । सन् २०११ मा चिनियाँ राष्ट्रपतिले तिब्बतको भ्रमण गरेको स्मरण गर्दै त्यसयता तिब्बतको विकास धेरै गुणात्मक रुपमा अघि बढेको पनि उनले सुनाए । उनले भने, ‘तिब्बत हिजोजस्तो टनेलको अवस्थामा छैन्, आज सडक, रेलवे, सञ्चार, विद्युत र बजारको विकास भएको छ ।’
भट्टराईले शनिबार काठमाडौं ओर्लने चिनिया राष्ट्रपति कति बजे आउने भनेर अहिले नै समय निश्चित् नभएको सुनाए । तर, शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । उनले चिनियाँ राष्ट्रपतिको स्वागतको लागि आफूहरु तिव्र प्रतिक्षामा रहेको बताए ।
भट्टराईले चिनियाँ राष्ट्रपति आउने दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केह िघण्टाको लागिमात्रै अवरुद्ध हुने जानकारी दिए । ‘रनवे एउटामात्रै भएकोले उहाँ आउने दिन केही घण्टाको लागि मात्रै विमानस्थल अवरुद्ध हुन्छ’, उनले प्रष्टाए ।