Logo

ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीकाे आग्रह

काठमाण्डौं– अर्थमन्त्री वर्षमान पुनले उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिसँग मंगलबार मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकोले ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् ।

भेटमा परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले मन्त्री पुनलाई बधाई तथा शुभकामना दिँदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव दिएका थिए । अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए ।

उनले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्दै बहुदर भ्याट प्रणालीमा जान आग्रह गरे । अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भइरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकोले व्यावसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानुनहरुलाई ‘डिक्रिमिनलाइज्ड्’ गरिनुपर्ने आवश्यकतामा उनले जोड दिए । सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए । प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीलाई दिएको भन्दै निजी क्षेत्रलाई अगाडि बढाएरै आफू अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

मन्त्री पुनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागु गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन’ मन्त्री पुनले भने ।

अर्थतन्त्र केही दबाबमा रहेको भन्दै निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०/४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उनले बताए । बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक रुपमा लिदै उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रूपमा छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्