Logo

कांग्रेस अब कडा प्रतिपक्षका रुपमा प्रस्तुत हुन्छ

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अब नेपाली कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुने बताएका छन् । विराटनगरस्थित गुराँस पुस्ताकलयको ५४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले कांग्रेस कडा विपक्षीका रुपमा प्रस्तुत हुने बताएका हुन् ।

‘राणासित लडेको पार्टी, राजासँग लडेको पार्टी अब, कम्युनिष्टसँग लड्न कुनै गाह्रो छैन’ नेता कोइरालाले भने, ‘देश र जनताको पक्षमा काम नगरे सरकारले ठूलो मूल्य चुनाउनुपर्छ ।’ नेता कोइरालाले पुष्पकमल दाहाल नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोपसमेत लगाए । कोइरालाले वर्तमान निर्वाचन प्रणाली रहुन्जेल गठबन्धन बनिरहने र बदलिरहने स्पष्ट पारे ।

उनले संविधानमा भएको निर्वाचन प्रणालीलाई परिमार्जन गरेमात्रै कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिने धारणा राखे । कोइरालाले नेपालको राजनीतिमा नैतिकता र संस्कारको खडेरी परेको बताए । कार्यक्रममा बरगाछी पत्रिकाका सम्पादक तथा साहित्यकार दधिराज सुवेदी, उद्योगी तथा समाजसेवी दीनबन्धु गोयल र राजनीतिज्ञ पिताम्बर दाहाललाई स्वर्गीय मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मानले सम्मानित गरिएको थियो ।

गुराँस पुस्तकालयले प्रकाशन गरेको बरगाछी पत्रिकाको ‘राजनीतिक विशेषांक–२०८०’ पुस्तकको पनि विमोचन गरिएको छ । कार्यक्रममा २ हजार ५ सय रुपैयाँ राशीको स्व. पूर्णकुमारी श्रेष्ठ छात्रवृत्ति उत्कृष्ट विद्यार्थीहरू कर्ण डाँगी र सलिना राजवंशीलाई नेता कोइरालालगायतले हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्