Logo

आगलागीका कारण कर्णाली पुल बन्द

धनगढी– गुडिरहेको ट्रकमा आगलागी भएर पुलमा सल्किएको आगोले क्षतिग्रस्त भएको कर्णाली पुल बन्द भएको छ । पुलको लट्ठाको कभर र ग्राउण्डको सिमेन्टसमेत जलेकोले प्राविधिक टोलीको प्रतिवेदन नआउन्जेलसम्मका लागि पुलबाट आवागमन बन्द गरिएको हो ।

पुलबाट आवागमन बन्द भएपछि लम्कीबाट टीकापुर हुँदै हुलाकी सडक भएर नेपालगन्ज कोहलपुर हुँदै सावरीसाधन कोहलपुरबाट पूर्वपश्चिम राजमार्गमा चलिरहेका छन् । सोमबार अपरान्ह लाइटर बोकेर वीरगन्जबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएपछि नजिकका स्थानीय तहको दमकल, सेना, प्रहरीको सहायतामा आगो नियन्त्रण गरिएको थियो ।

त्यसपछि लम्कीचुहा नगरपालिकाको जेसिबीले जलेको ट्रकलाई साइट लगाएपछि पुलबाट सवारीसाधन आवागमन गराइएको थियो । तर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार बिहान निरीक्षण गरेपछि पुलबाट आवागमन बन्द गरी वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिएका थिए ।

काठमाडौं र बुटवलबाट प्राविधिक टोली आएर मंगलबार नै पुलको प्राविधिक जाँच गरेको छ । टोलीले बुधबारमात्रै सो प्रतिवेदन पेस गर्ने जनाएको छ । आगलागीबाट कर्णाली पुलको १४ वटा फलामे लट्ठाको प्लास्टिक कभर जलेको छ ।

प्रतिक्रिया दिनुहोस्