Logo

सिमरा सेजमा भारतीय र चिनियाँ लगानी

बारा– सिमरामा बनेको विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय र चिनियाँ लगानीका उद्योग सञ्चालनमा आउने भएका छन् ।
सेज प्राधिकरणले सिमरा सेजको ‘ए’ ब्लकमा २२ वटा उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । यीमध्ये ७ वटा भारतीय र ६ वटा चिनियाँ लगानीकर्ताले निर्माण गरिरहेका छन् । चार वटा उद्योगमा नेपाली, चिनियाँ र भारतीय कम्पनीको संयुक्त लगानी रहेको छ । यही ब्लकमा ५ वटा उद्योग भने नेपाली व्यवसायीका छन् । सबै उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण सकिएसँगै उद्योग सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ ।

चिनियाँ लगानीकर्ताले जुत्ता, ब्याट्री, अटो एसेम्बल, इलेक्ट्रोनिक पार्टपुर्जा र आलमुनियमका ६ उद्योग निर्माण गरिरहेका छन् । यस्तै, भारतीय लगानीमा ग्रेनाइड स्ल्याब, टायल, टायर प्रोसेसिङ र कस्मेटिक्सका ७ उद्योग बन्दैछन् । यीमध्ये केहीले निर्माण पूरा गरी परीक्षण उत्पादन सुरु गरेको सिमरा सेजका सहायक इन्जिनियर अजय चौधरीले बताए ।

‘केही उद्योगमा दुवै देशका लगानीकर्ताले नेपाली उद्यमीसँग साझेदारी गरेका छन् । प्लट बुक भइसकेकाले नाम चलेका भारतीय उद्योगलाई जग्गा दिन सकिएको छैन,’ उनले भने । केही नेपाली उद्यमीले बुकमात्रै गरेर राखेका छन् । १० वटा प्लटको समय यही साता सकिने हुँदा तत्काल सूचना प्रकाशित गरी उद्योगका लागि खुला गरिने सेज प्राधिकरणले जनाएको छ ।

भारतको गुजरातमा ५ दशकदेखि टायल उद्योग सञ्चालन गरेका अनुभवी भारतीय लगानीकर्ताले सेजमा रहेका केही टायल्स उद्योगमा नेपाली उद्यमीसँग साझेदारी गरेका छन् । सेजभित्र सञ्चालनको तयारीमा रहेको १५० करोड लगानीको पशुपति सेरामिक्सका सञ्चालक तुलसी साहले आफूबाहेक ३ जना भारतीय साझेदार रहेको बताए । टायल उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालमै पाइने र तेस्रो मुलुक निर्यातमा भन्सार छुटको व्यवस्था भएकाले यी उद्योगमा भारतीय लगानी बढेको हो ।

सेजभित्र मात्रै होइन, पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा स्थापना हुने गरी पछिल्लो समय एक दर्जन सेरामिक्स कम्पनीले अनुमति लिएका छन् । सेजमा चिनियाँ लगानीकर्ताले ठूलो परिमाणमा जुत्ता उत्पादन गरी निर्यात गर्न उद्योग निर्माण गर्दैछन् । चिनियाँ लगानीकर्ता फेङ छियुसो, ली झान्विन, लिउ कियालले विश्व बजारमा माग बढ्दै गएको ब्याट्री, अटो एसेम्बल, पार्टपुर्जा र इलेक्ट्रोनिक सामानका उद्योग निर्माण धमाधम गरिरहेको सेज प्राधिकरणले जनाएको छ ।

‘ए’ ब्लकमा रहेका ६८ वटा प्लटमा दुई वर्षभित्र कारखाना सञ्चालन गर्र्ने शर्तमा उद्योगहरुले अनुमति पाएका थिए । यी उद्योगमा ८ अर्ब ७५ करोड लगानी हुनेछ भने करिब तीन हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् । उद्योगहरुले वार्षिक २४ अर्ब ५५ करोडको निर्यात गर्ने प्राधिकरणले जनाएको छ । उद्योग सञ्चालनका लागि चाहिने उपकरण, मेसिन, औजार, पार्टपुर्जा र कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था छ । यसैगरी प्राधिकरणले २ वर्ष निर्यात गर्नु नपर्ने, तेस्रो वर्षदेखि २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौं वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ ।

कुल ८ सय ३३ बिघा क्षेत्रफल रहेको ५ वटा ब्लकमध्ये सेजले ‘ए’ ब्लकमा प्रशासनिक भवन, दुषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोल पम्प, धर्मकाँटा, सुरक्षा, क्यान्टिन र विद्युतीकरण लगायतका संरचना सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका सभापति सञ्जय साहले सेजमा उत्पादनको तयारीमा पुग्दै गरेका उद्योगलाई प्राधिकरणले सुरक्षा व्यवस्था गर्न ढिलो भइसकेको बताए । सेजमा निर्माण भएको प्रशासनिक भवनमा कर्मचारी व्यवस्थापन, बैंक तथा भन्सार तत्काल व्यवस्था गर्न उद्योगीले माग गरेका छन् ।

प्राधिकरणले गत वर्ष सिमरा सेजमा १९ जना कर्मचारी व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पठाएको थियो । तर, यसको कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय रुपमा व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले देशका विभिन्न क्षेत्रमा सेज सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्