Logo

निजी लगानीमा बनेको क्रिकेट रंगशाला उद्घाटन

बुटवल– रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा बनेको क्रिकेट रंगशालाको उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको निर्माण भएको छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले क्रिकेट रंगशालाको निर्माण गरेका हुन् । रंगशाला निर्माणको पहिलो चरण अन्तर्गत मैदान तयार भएपछि उद्घाटन गरिएको हो ।

रंगशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले निजी लगानीमा क्रिकेट मैदान तयार हुनु ठूलो उपलब्धी भएको बताए । क्रिकेट मैदानले अन्तराष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पुर्याउने शेरचनले विश्वास व्यक्त गरे । रुपन्देही क्षेत्र नम्बर २ का संघय सांसद तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले मैदानबाट सिद्धार्थ राजमार्गसम्म कालोपत्रे सडक निर्माण गर्न तिलोत्तमा नगरपालिकासँग सहकार्य गरेर आफूले काम गर्ने उल्लेख गरे । ‘तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखज्युहरुसँग छलफल गरेर र सहकार्य गरी खेल मैदानसम्म आउनका लागि फराकिलो बाटो निर्माण गर्न राज्यको तर्फबाट बजेट विनियोजन गर्ने काममा लाग्नेछौं’ पौडेलले भने । गत जेठ ३० मा रंगशाला निर्माणको शिलान्यास भएको थियो ।

आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । विनोद कुँवरले ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सुरु गरेका हुन् । रंगशालाका अन्य पूर्वाधार पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लागतमा प्याराफिटको काम पनि छिटै सुरु हुने उनको भनाइ छ ।

क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्राण्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्व क्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरको भनाइ छ । मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ ।

जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका थिए । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलिले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्