डेढ करोड लगानीमा औद्योगिक ग्राम पूर्वाधार निर्माण हुँदै

जुम्ला– तातोपानी गाउँपालिका–४ गिडिखोलामा स्थापना हुने औद्योगिक ग्रामको पहिलो चरणको पूर्वाधार निर्माण सुरु हुन लागेको छ । संघीय सरकारको लगानीमा गिडिखोलाको रातेखोलामा स्थापना हुने औद्योगिक ग्रामको पूर्वाधार निर्माण कार्य सुरु हुन लागेको हो । पहिलो चरणमा डेढ करोड बढीको लगानीमा औद्योगिक ग्राम क्षेत्रमा मेसिनरिवाल सहितको व्यवस्थित घेराबार निर्माण हुन लागेको तातोपानी गाउँपालिकाका प्रवक्ता अमरबहादुर रोकायाले बताए ।
‘चाँडै काम सञ्चालन हुने गरी स्थानीय र ठेकेदारबीच छलफल भइसकेको छ । उनले भने, ‘पालिकाले ठेक्का आह्वान गरेर औद्योगिक ग्रामको पहिलो चरणमा मेसिनरिवाल र घेराबार बनाइने छ । उक्त कामको ठेक्का गौचन निर्माण सेवाले पाएको छ । निर्धारित समयमै काम सक्नसमेत निर्माण कम्पनीलाई अुरोध गरेका छौं ।’
एक करोड ७० लाख लागतमा मेसिनरिवाल र घेराबार निर्माणको ठेक्का गौचन निर्माण सेवाले पाएको तातोपानी गाउँपालिका इन्जिनियर डिल्ली बुढाले बताए । उनका अनुसार आगामी असार मसान्तसम्म काम सक्नेगरी काम हुनेछ । पहिलो चरणमा निर्माण हुने मेसिनरिवाल र घेराबारलाई गुणस्तरीय बनाउन, निर्धारित समयमै काम सक्ने लगायतका विषयमा ठेकेदार तथा स्थानीयबीच घनीभूत छलफल भइसकेको प्रवक्ता तथा वडा नं–४ का अध्यक्ष रोकायाले जानकारी दिए ।
औद्योगिक ग्रामको मेसिनरिवाल र घेराबार भ्याटसहित एक करोड ७० लाख बढीको लगानीमा निर्माण हुने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनका अनसार औद्योगिक ग्रामको मेसिनरिवाल र घेराबारको ठेक्का लागिसकेको छ । पहिलो चरणको पूर्वाधार विकासको काम २०८१ को असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।
युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले जिल्लामै पहिलो औद्योगिक ग्राम स्थापना गर्न थालिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका गर्न औद्योगिक ग्रामले टेवा पुर्याउने उल्लेख गरे । औद्योगिक ग्राम स्थापनाका लागि वडा नं ४ को रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफल सार्वजनिक जग्गा उपलब्ध भइसकेको छ । औद्योगिक ग्रामबाट स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयबासीको रोजगारी सिर्जना हुने अपेक्षा छ ।
औद्योगिक ग्रामको डीपीआर सकियो
रातेखोलामा स्थापना हुने औद्योगिक ग्रामको डीपीआर तयार भइसकेको छ । औद्योगिक ग्राम सञ्चालनका लागि चाहिने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको तातोपानी गाउँपालिकाले जनाएको छ ।
बजेट कार्यान्वयनका लागि औद्योगिक ग्राम सञ्चालनको अनिवार्य डीपीआर, ईआई तथा कार्यविधि निर्माण गर्नुपर्ने प्रावधान रहेकाले डीपीआर निर्माण गरिएको हो । स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सृजना गर्न कृषि तथा वन पैदावारसँग सम्बन्धित साना उद्योग स्थापनाका विषय डीपीआरमा समेटिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको भनाइ छ । राडीपाखी, आरन, काष्ठकलाजस्ता परम्परागत उद्योग पनि औद्योगिक ग्राममा सञ्चालन हुनेछन् ।
औद्योगिक ग्राम सञ्चालन गर्न सुरुवाति चरणमा जडिबुटी, फलफूल, पानी, ग्यामिन, काष्ठकला तथा साना उद्योग सञ्चालन जोड दिइने अध्यक्ष चौलागाईंले उल्लेख गरे । औद्योगिक ग्राम सञ्चालन पश्चात् स्याउ, सिमि, ओखर, जल, जमिन, जडिबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा सहज हुने आशा गरिएको छ । औद्योगिक ग्राम सञ्चालनसम्बन्धी कार्यविधि पहिलो संशोधन २०७७ मा औद्योगिक ग्राम सञ्चालन गर्न २५ रोपनी जग्गा आवश्यक पर्ने उल्लेख भए पनि ३५ रोपनी सार्वजनिक जग्गा प्राप्त भइसकेको छ ।