ओखलढुंगाको सरकारी अस्पताल ओझेलमा «

ओखलढुंगाको सरकारी अस्पताल ओझेलमा

सामुदायिक अस्पतालका कारण ओखलढुंगाको एकमात्र सरकारी अस्पताल ओझेलमा परेको छ । सरकारी जिल्ला अस्पताल सदरमुकामदेखि ११ किमि टाढा भएका कारण सदरमुकामकै सामुदायिक अस्पतालमा बिरामीले सेवा लिने भएकाले सरकारी अस्पताल ओझेलमा परेको हो ।
रुम्जाटाररमा रहेको सरकारी अस्पतालमा उपचार गराउन जाने बिरामीको संख्या न्यून छ । सरकारले दिने निशुल्क औषधि र दक्ष जनशक्ति अस्पतालमा खटाए पनि बिरामीहरू भने उपचार गर्न सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा आउने गरेका छन् । जिल्लाभित्रका मात्र नभएर छिमेकी जिल्ला सोलुखुम्बु, खोटाङ र उयदपुरबाट समेत आउने बिरामीहरू सरकारी अस्पताल छोडेर सामुदायिक अस्पताल जाने गरेका छन् ।
अन्य अस्पतालमा भन्दा उपचार तथा सेवा नराम्रो भएकाले जिल्ला अस्पताल ओझेलमा परेको सरोकारवाला बताउँछन् । अस्पतालको सेवा र गुणस्तर वृद्धि गरेर प्रभावकारी बनाउनु पर्ने समाजसेवी सिताराम गुरुङको भनाइ छ ।
१५ शै्याको रुम्जाटार जिल्ला अस्पतालको प्रमुख काम पोस्टमार्टम गर्ने मात्र देखिएको सरोकारवालाको गुनासो छ । यो अस्पतालमा दक्ष जनशक्तिको दरबन्दी पनि छ । दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी पनि छन् । तर अस्पतालका शै्या प्रायः रित्तै देखिन्छन् । अस्पतालका प्रमुख डा. मुकुन्द यादवले अस्पतालमा सामान्य शल्यक्रिया पनि नहुने भएकाले बिरामी कम आउने मुख्य कारण रहेको बताए । अस्पतालसम्म आउने बाटोसमेत असहज भएकाले पनि बिरामीहरू सदरमुकामको सामुदायिक अस्पताल र निजी क्लिनिकहरूमा जाने गरेका छन् ।
अस्पतालका अनुसार दैनिक औसत ५० देखि ६० जना ओपीडीमा बिरामी आउँछन् । अन्य सबै बिरामी सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा जाने गरेका छन् । सरकारी अस्पताल रित्तो हुँदा सामुदायिक अस्पतालमा बिरामीको भीड लाग्ने गर्छ । उक्त अस्पतालमा दैनिक ३ सयसम्म बिरामी उपचार गर्न आउँछन् ।

सरकारी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले करोडौं लगानी गरेको छ । तर प्रभावकारी सेवा, सस्तो र भरपर्दाे दिन नसक्दा यहाँ आउने स्वास्थ्यकर्मी समेत छिट्टै सरुवा लिएर जाने गरेका छन् । उपचारसम्बन्धी उपकरण र सुविधा बढाउन सके अस्पतालबाट सर्वसाधारणले पाउने उपचार सेवा पनि प्रभावकारी हुने स्थानीयको भनाइ छ । रुम्जाटारकै बिरामीहरू पनि सामुदायिक अस्पताल आउने गरेपछि अन्य क्षेत्रका बिरामीहरू जिल्ला अस्पताल जान छाडेका छन् ।

उत्तम चौलागार्इं

प्रतिक्रिया दिनुहोस्