Logo

झापामा चैते धान रोपाइँ सुरु

बिर्तामोड– झापाको विभिन्न स्थानमा चैते धान रोपाइँ सुरु भएको छ । किसानले आधुनिक प्रविधिको प्रयोग गरेर धान रोपिरेहेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा तुलनात्मक रूपमा चैते धानको खेती बढ्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

आधुनिक प्रविधिको प्रयोग, माटो सुधार र स्थानीय सरकारले बीउ बिजन तथा मलखादमा समेत सहयोग गर्न थालेपछि झापामा चैते धानको खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए । लागत कम र बढी मूल्य पाउन थालेपछि चैते धानमा किसानहरूको आकर्षण बढ्दै गएको बताउँदै उनले चैते धानको खेती बढ्ने दाबी गरे ।

पछिल्लो समयमा आधुनिक तवरबाट धानको ब्याड राख्नेदेखि लिएर मेशिनले धान रोप्ने कार्यप्रति आकर्षण बढेको कचनकवलका अगुवा किसान कन्यैलाल गणेशले बताए । सुरुमा आफूहरूले खास नपत्याए पनि अहिले भने उत्पादन बढेको र उत्पादन लागत कम भएको उनको भनाइ छ ।

झापा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन क्षेत्र पनि घोषणा गरिएको र २०७३ सालमा कचनकवल गाउँपालिका र भद्रपुरको केही वडा मात्रमा परियोजना लागू भए पनि २०७७ सालदेखि उक्त परियोजना झापाभर विस्तार भएपछि चैते धान खेतीमा उल्लेख्य वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए ।

कृषि ज्ञान केन्द्र झापाले पनि आधुनिक प्रविधि हस्तान्तरण र उन्नत तवरले धान खेतीको प्रदर्शनी कार्यक्रमअन्तर्गत किसानलाई चैते धान रोप्नका लागि प्रोत्साहित गर्दै आएको बताउँदै उनले झापाका पालिकाका कृषि शाखासँग समन्वय गरेर प्रविधि प्रयोग गरेर चैते धानखेती विस्तारका लागि आवश्यक सहयोग गरिँदै आएको जनाए ।

कनकाई सिँचाइ आयोजना क्षेत्रलगायतका विभिन्न पालिकामा उन्नत प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत मेशिनबाट धान रोपाइँ गर्न आवश्यक तयारी पूरा गरिएको बताउँदै शिवसताक्षी नगरपालिका–४, गौरादह नगरपालिका–९, गौरीगन्ज गाउँपालिका–१ र कमल गाउँ पालिकामा ट्रे मा धानको ब्याड राखेर धान रोप्न सुरु गरिएको जानकारी दिए ।

यस वर्ष चैते ५ जातको धान रोपिने बताए । किसानले उत्पादन धानको बजार सुनिश्चित पनि भएको बताउँदै उनले किसानले उत्पादन गर्ने धान आर्जु राइस मिल, मोरङले खरिद गर्ने प्रतिबद्धता गरेको जनाए । प्रविधि प्रयोग गरेर चैते धान खेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले बताए । पछिल्लो समयमा उत्पादन लागत मूल्य कम र बजार मूल्य सन्तोषजनक भएपछि किसानहरू यसमा आकर्षित भएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषिमा यान्त्रिकीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन, गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिवृद्धि, वातावरण परिवर्तन अनुकूलित कृषि प्रणाली अवलम्बन गरिँदै आएको उनले बताए । परियोजनाले न्यूनतम रूपमा पनि हरेक पालिकामा कम्तीमा एकै स्थानमा दुई सय बिघा जमिनमा चैते धानखेती विस्तार गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्