Logo

कोहलपुर बसपार्क सञ्चालनमा चुनौती

सटर छाड्दै व्यवसायी

नेपालगन्ज– कोहलपुर चौराहनजिकै पूर्व पश्चिम राजमार्गको छेवैमा बनेको आकर्षक सपिङ कम्पलेक्स सहितको बसपार्कले यो रुटमा यात्रा गर्ने अधिकांश यात्रुको ध्यान तान्ने गरेको छ । तर, हेर्दा सुन्दर, आकर्षक पश्चिम तराईको एकमात्र सुविधासम्पन्न बसपार्क भए पनि यसको व्यवस्थापन र सञ्चालनमा भने समस्या आएको छ ।

बसपार्कमा निर्माण भएको यो टर्मिनल भवन सञ्चालनका लागि कोहलपुर नगरपालिकाले ६ पटकसम्म प्रस्ताव आह्वान गरिसकेको छ । तर उक्त अवधिमा पनि आवेदन नपर्दा बसपार्क आंशिकरूपमा सञ्चालनमा आए पनि मुख्य टर्मिनल भवन सञ्चालन हुन सकेको छैन । यस्तै व्यवसाय नचेलेको भन्दै भाडामा लगाइएका सटरसमेत धमाधम खाली हुन थालेका छन् ।

व्यवसायीले सटर खाली गरी पाउँ भन्दै निवेदन दिएपछि २७ वटा सटरको सम्झौता रद्द गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै व्यवसायीले दिएको निवेदनका आधारमा २७ वटा सटरको सम्झौता रद्ध गरिएको बताए ।

बसपार्क व्यवस्थापन समितिको फागुन ३ र १३ गतेको सिफारिस तथा कोहलपुर नगरपालिकाको फागन १४ गतेको निर्णयअनुसार सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ । व्यवसायी भने नगरपालिकाले व्यवस्थापनतर्फ ध्यान नदिँदा समस्या आएको बताउँछन् ।

बसपार्कमा पसल सञ्चालन गर्दै आएका स्थानीय जीवन शर्माले चर्को भाडा तिरेर सटर लिए पनि बसपार्कभित्र बस रोकाउने संयन्त्र नहुनुका साथै फिरन्ते व्यापारी अनाधिकृत रूपमा बसपार्कमा प्रवेश गरी व्यवसाय गरिरहँदा पनि उनीहरूलाई हटाउन नगरपालिकाकोतर्फबाट कुनै पहल नभएपछि समस्या भएको बताए । चर्को विद्युत महशुलका साथै शौचालय तथा खानेपानीका समस्यालगायत व्यवसायीलाई टिकाउनेतर्फ ध्यान नजाँदा सटर छाडन बाध्य हुनुपरेको उनको भनाइ छ ।

सुरुमा चर्को भाडामा टेण्डर पारेर सटर लिएका व्यवसायीले व्यवसाय नचलेपछि सटर छोडन बाध्य भएको बताउँदै नगरपालिकाले पुन: टेन्डर गरी न्यूनतम भाडा कायम गर्नुका साथै आवश्यक व्यवस्थापन गर्नुपर्ने बताएका छन् । यता करोडौं खर्च गरेर बनाइएको बसपार्क अन्तर्गतका सटर र टर्मिनल भवन सञ्चालन नहुँदा कोहलपुर नगरपालिकालाई वार्षिक झण्डै एक करोड रुपैयाँ व्ययभार पर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले नगर विकास कोषमा ऋण र व्याजसमेत गरी वार्षिक ९९ लाख रुपैयाँ तिर्नुपर्ने बताए । बसपार्क सञ्चालनमा समस्या आउँदा पालिकालाई व्ययभार थपिन थालेपछि यसको प्रभावकारी निकासका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरिरहेको जनाएको छ । नगरपालिकाले टर्मिनल भवन सञ्चालनका लागि २०७९ चैतमा वार्षिक न्यूनतम एक करोड ७४ लाख मूल्य कायम गरी पहिलो पटक प्रस्ताव आह्वान गरेको थियो ।

तर तीन पटकसम्म कुनै पनि आवेदन नपरेपछि आधा मूल्य घटाएर ८७ लाखमा न्यूनतम मूल्य तोकेर छैटौं पटक प्रस्ताव आह्वान गरिसकेको छ । उक्त अवधिमा पनि आवेदन नपर्दा बसपार्क आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो । हाल व्यवसायीले भाडामा लिएका सटर पनि धमाधम छाडन थालेपछि बसपार्क व्यवस्थापन गर्न नगरपालिकालाई चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्