Logo

लघुवित्तविरुद्धको गलत हल्ला वित्तीय क्षेत्र तहसनहस गर्ने षड्यन्त्र हो

एकातिर अर्थतन्त्रको सुस्तता, अर्कातिर संस्थाको औचित्यमाथि प्रश्न उठ्दा लघुवित्त वित्तीय क्षेत्र अहिले जटिल समस्याको घेराबन्दीमा छ । लघुवित्तको ऋण मिनाहा गर्नुपर्नेदेखि खारेजीसम्मको अभियान चलाउँदै ऋणीहरू काठमाडौंसम्म आइपुगेका छन् । अर्थतन्त्रको सुस्तताले ऋण असुली हुन नसक्दा लघुवित्तको खराब कर्जा उच्च दरले बढिरहेको छ । मिनाहाको हल्लाले ऋण तिर्न सक्नेहरू पनि अटेर गरेर बसेको अवस्था छ । यसका अतिरिक्त अस्वस्थ प्रतिष्पर्धा, एकै व्यक्तिलाई क्षमता भन्दा धेरै ऋण प्रवाह जस्ता गतिविधिले लघुवित्त क्षेत्र निरन्तर प्रश्नको घेरामा छ ।

नेपालको कृषि क्षेत्र प्रवर्द्धनमा साना किसान सहकारीले महत्वपूर्ण योगदान दिँदै आएको छ । ती सहकारीलाई किसानसम्म पुग्नका लागि साना किसान विकास लघुवित्तले भूमिका खेलेको छ । कृषि तथा पशुपालनमार्फत साना किसान र विपन्न समुदायको जीवनस्तर सुधार, ग्रामीण गरिबी निवारणका साथै मुलुकको समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना भएको लघुवित्तले साना किसानलाई पुँजी, प्रविधि, कृषि उद्यमशीतलता तालिम उपलब्ध गराउँदै आएको छ ।

यी र यस्तै विषयवस्तु समेटेर साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालासँग कारोबारले कुराकानी गरेको छ । व्यवस्थापन विषयमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका कोइरालासँग कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव छ । साथै साना किसान विकास लघुवित्तमा उनले झण्डै सात वर्ष नेतृत्व लिइसकेका छन् । प्रस्तुत छ, साना किसान विकास लघुवित्तका सीइओ कोइरालासँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सार :

लघुवित्त कम्पनीहरूको अहिलेको अवस्था कस्तो छ ?
लघुवित्त वित्तीय संस्था मूल रूपमा अतिविपन्न, गरिब, बैंकमा पहुँच पुग्न सकेको छैन उनीहरूको सामाजिक एवम् आर्थिक रूपान्तरण गर्ने उद्देश्यले स्थापना भएका हुन्छन् । अहिलेको समग्र लघुवित्त कम्पनीहरूको अवस्था आर्थिक मन्दी, बजारमा विभिन्न खालका प्रचारबाजी र हल्लालगायतका कारण शोषकका रूपमा स्थापित भएको आरोपहरू यदाकदा सुनिएको छ । तर यो विल्कुल गलत कुरा हो । अहिले केही समूह लघुवित्तबारे गलत हल्ला र भ्रम फैलाएर गरिबलाई झन् गरिब बनाउने र समग्र अर्थतन्त्रलाई वा वित्तीय क्षेत्रलाई नै तहसनहस गर्ने नियोजित षड्यन्त्र हो ।

अहिले लघुवित्त धितो दिन नसक्ने, असाध्यै गरिब, विभिन्न जाति जनजाति, पिछडिएका समुदायलाई, ऋण, तालिम तथा मानव पुँजी विकास गराउनतर्फ उद्दत छ । लघुवित्तमा करिब ३० लाख परिवारले लिएका छन् भने ६० लाखको संख्यामा सदस्यहरू छन् । यसको ०.२५ प्रतिशतले मात्रै पनि छैनन् जसले लघुवित्तले हामीलाई शोषण गर्‍यो भन्ने । अहिले लघुवित्त यदि नहुँदो हो त मानिस मिटरब्याजीको सिकारमा पर्थे ।

लघुवित्तको पहुँच नभएर पनि होला, अहिले पनि कतिपय ठाउँमा मिटरब्याजीबाट शोषित हुनुपर्ने अवस्था छ । लघुवित्तले ऋण दिएर मात्र नभइ सीप सिकाएर सामाजिक आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण सहयोग गरेको छ । तर विभिन्न भ्रम सिर्जना भएका कारण अहिले लघुवित्तको निष्क्रिय कर्जा बढेको, ऋण धेरै माग नभएको अवस्था छ । यस्तै लघुवित्तले पनि जोखिम देखिरहेकाले कर्जा बढाउन चाहेको छैन । यी सब कारणले अहिले लघुवित्त बजारमा र समग्र वित्तीय क्षेत्रमा अवस्था गाह्रो देखिएको छ ।

समग्र लघुवित्तका बारेमा विगतमा गुनासाहरू आउँथे । तर, गत वर्षदेखि संघर्षका कार्यक्रम काठमाडौंसम्म नै आइपुगेको छ । यसले समग्र लघुवित्तमा कत्तिको चुनौति देखिन्छ ?
अहिले संघर्षका कार्यक्रमहरू आए पनि चुनौती कृत्रिम चुनौती हो, स्वाभाविक रूपमा आएका चुनौती होइनन् । अहिले चुनौती सिर्जना गरिएको हो । धेरै संस्थाबाट धेरै रकम लिँदा केही टाठा व्यक्तिहरू ऋणको पासोमा परे । आफ्नो क्षमताभन्दा बढी धेरै संस्थाबाट ऋणको लेनदेन भएपछि समस्या सिर्जना भएको हो । ऋण दिने लघुवित्तको पनि यसमा कमजोरी छ, लघुवित्तले पनि कर्जा तिर्न सक्ने क्षमता मूल्यांकन गर्ने, तालिम र क्षमता विकास गर्ने जस्ता कामलाई चासो दिएनन् ।

मलाई गरिबी भगवान्ले नै बनायो भन्ने र भाग्यमा विश्वास गर्नेलाई कर्जा दिनुअघि लघुवित्तले उनीहरूमा जागरण फैलाउनुपर्नेमा त्यहाँ चुक्यो । त्यस्ता जनतामा हामीले भाग्य बनाउन सक्छौं भन्ने आत्मविश्वास वा सोच जगाउन लघुवित्तले सकेन । उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्नका लागि केही लघुवित्तले प्रोत्साहन गर्न सक्नुपर्नेमा त्यस्तो भएन । गाईभैंसी, बाख्रा पाल्छ भने ऋण दिनुअघि तालिम दिने, पाल्ने तरिका वा प्रविधि जस्ता विषयमा जानकारी दिएर मात्रै कर्जा दिनुपर्नेमा त्यस्तो भएन ।

धेरै ऋण लगानी गर्नुपर्ने टार्गेट, कर्मचारी र लगानीकर्तालाई बोनस, नाफा कमाउनेलगायतमा ध्यान दिइयो तर त्यसबारे अध्ययन वा विचार गरिएन । यी सब कारणले केही व्यक्तिमा पनि ऋण लगानी भयो । ऋण लिने मानिसले पनि आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ भनेजस्तो गर्न सकेनन् । यी सब कारणले गर्दा केही मानिसले आफू समस्यामा परेपछि संस्थाबारे नै भ्रम सिर्जना गर्न लागिपरे । ऋण नतिरे पनि हुन्छ भन्ने भ्रम सिर्जना गर्दा साँच्चै हो कि भनेर केही इमानदार ऋणीसमेत प्रभावमा परेर संघर्षमा लागे ।

अहिले जुन समस्या देखिएको छ, त्यो विगतदेखिकै थियो वा आर्थिक मन्दीका कारण अहिले बाहिर आएको हो ?
पहिले पनि समस्या नभएको होइन । ऋण कता लगानी गर्ने भन्ने सोच पनि छैन, प्राविधिक ज्ञान पनि छैन । अब यस्ता व्यक्तिले नै धेरै संस्थाबाट ऋण लिएको पहिलेदेखि नै थियो । आर्थिक अवस्था राम्रो भएको अवस्थामा ऋण पनि कसै गरी भए पनि तिरेका थिए । अहिले मन्दी आएपछि ऋण तिर्न गाह्रो भयो । त्यसकारण मन्दी एउटा बहाना मात्र भयो । तर, मन्दीका कारणले मात्रै ऋण नतिरेको भने होइन । क्षमता पनि छ, तिर्नुपर्छ भन्ने पनि थाहा तर धितो नराखेकाले तिरेन भने पनि केही हुँदैन भन्ने भ्रम, केही व्यक्तिले मिनाहाको हल्ला फैलाउँदा अहिले बढी समस्या देखिएको हो ।

तपाईंले यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएको छ । विगत र अहिले नेपालको लघुवित्तको कामलाई कसरी नियाल्नु भएको छ ?
२०३१ आसपासमा नेपालमा साना किसान आयोजना थियो । नेपाल सरकारले लक्षित समुदाय वा गरिब तथा विपन्न परिवारलाई कर्जा तथा सीप पनि दिने भन्ने लक्ष्यसहित नुवाकोटको तुप्चे र धनुषामा सुरु गरेको थियो । बंगलादेशबाट मोहम्मद युमस नेपाल सरकारको त्यो मोडल हेर्न आएका थिए । उनलाई त्यो मन परेर उता सोही मोडलमा किसानको विकास गरेका थिए । अब नेपालमा विगत र अहिलेको लघुवित्तको सन्दर्भ हेर्ने हो भने धेरै हदसम्म लक्ष्य पूरा भएको वा लक्ष्यमा पुगेको अवस्था छ । केही कमीकमजोरी भए होलान् तर मिसन पूरा हुने दिशामै छ । लघुवित्तकै कारण धेरै विपन्न परिवार अहिले सम्पन्न बनेका छन् ।

लघुवित्त सञ्चालन गर्ने हामीमा पनि कमजोरी भयो कि हामीमध्ये केहीले लघुवित्तले सानो पैसा दिने भन्ने मात्रै सोच्यौं । पैसाले कहिले पनि गरिबी निवारण गर्न सक्दैन । त्यो पैसा प्रयोग गर्ने तरिका सिकाएपछि मात्रै गरिबी निवारण हुन्छ । माछा दिएर मात्र हुँदैन, माछा मार्ने सीप दिनुपर्छ भनेजस्तै पैसा मात्र दिएर हुँदैन भन्ने चेत सबैमा हुनुपर्छ । सरकारले नै चलाएको गरिबी निवारण कोष थियो पहिले । जसले पैसा मात्र दियो, हिसाब किताब नै भएन, गरिबी निवारण हुने कुरा पनि भएन । फगत कोषको दुरुपयोग मात्रै भयो । लघुवित्तले चाहिँ के गरेको छ भने नागरिकलाई वित्तीय अनुशासनमा रहन सिकाएको छ । ऋण दिएपछि तिर्नुपर्छ भन्ने सिकाएको छ भने सीप विकास पनि सिकाएको छ ।

विगतको र अहिले तुलना गर्दा उद्देश्यबाट केही टाढिएको देखिन्छ । अहिले जुन वर्गलाई लघुवित्तले हेर्नुपर्ने थियो त्यसलाई नहेरेर टाठाबाठाले मात्रै ऋण पाएको वा सीप पाएको अवस्था छ । लघुवित्त लक्षित वर्गमा जति पुग्नुपर्ने थियो, त्यति पुगेको अवस्था छैन । लघुवित्त नहुँदो हो त ग्रामीण अर्थतन्त्रको अवस्था झन् विकराल हुने थियो । तर जति हुनुपर्ने थियो त्यति नभएको हो । लघुवित्तमा निजी लगानीकर्ताले लगानी गरेका छन् । त्यसकारण उसले नाफा कमाउनेतिर ध्यान दिए । जसका लागि धेरै ऋण लगानी गरे । त्यसकारण नाफा कमाउने होडबाजीमा वास्तविक मर्मअनुसार विपन्न वर्गमा लघुवित्त पुग्न नसकेको हो ।

माथि भन्नु भएजस्तै लघुवित्तले सधैं नाफा उच्च बनाउनमा मात्रै ध्यान दिएको भन्ने आरोप लाग्दै आएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
दुईवटा कुरा हुन्छ, एउटा सामाजिक र अर्को व्यवसायमुखी । लघुवित्तमा ‘फाइनान्सियल सस्टेनेबिलिटी आउटरिच एण्ड इम्प्याक्ट’ हेरिन्छ, जसमा वित्तीय दिगोपनालाई हेरिन्छ । मानिसको आयु केही समयको हुन्छ । तर, संस्था जन्मिएपछि चन्द्र, सूर्य रहेसम्म चल्नुपर्छ भन्ने मान्यता हुन्छ । सधैं चल्नका लागि नाफा आवश्यक हुन्छ । नाफा नकमाए संस्था टिक्दैन । रुख रहेन त्यसमा फल फलिरहन्छ । नाफा नकमाउनु वा घाटामा हुनु भनेको त पुँजी खाने हो । पुँजी खाएपछि संस्था नै बन्द हुन्छ । त्यसकारण त्यो संस्थालाई अमर बनाउन नाफा अनिवार्य कुरा हो, कमाउनैपर्छ ।

कि त डोनेसन वा च्यारिटी संकलन गर्ने र बाँड्ने संस्था हुनुपर्‍यो । तर, लघुवित्त त त्यस्तो होइन । निजी लगानी भएको संस्थामा नाफा कमाउनैपर्छ । सुहाउँदो किसिमको नाफा आवश्यक हुन्छ । तर अर्को कुरा, लघुवित्तले नाफा कमाउने मात्र हैन समाजप्रति उत्तरदायी हुनुपर्छ । लघुवित्तले समाजको आर्थिक रूपान्तरणका लागि योगदान दिन सक्नुपर्छ । लक्षित वर्गमा पहुँच पुर्‍याउनेतर्फ सेवा विस्तार गर्नुपर्छ । अब यसको असर कस्तो रह्यो समेत लघुवित्तले नियाल्नुपर्छ । हिजो एउटा भैंसी किनेर पाल्ने किसानले आज कतिवटा भैंसी पालेको छ ? सामान्य स्वास्थ्य उपचार गराउन सक्ने भएको छ कि छैन भन्ने हेर्नुपर्छ ।

लघुवित्तमाथि चर्को ब्याज लिने गरेको गुनासो पनि छ । यस्तो किन हुन्छ ?
ब्याज भनेको मूल्य निर्धारण गर्ने हो । कुनै सामान बेच्दा कतिमा किनेको छ त्यो हेर्नुपर्ने हुन्छ । यो पनि एक खालको व्यवसाय नै हो । एउटा बैंकले एकै जनालाई १० करोड रुपैयाँ ऋण दिन्छ । तर, लघुवित्तले एक करोड रकम एक सय जनालाई ऋण दिन्छ । बैंकले एक जनासँग डिल गरे भयो, एक जनाको धितो हेरे भयो । तर लघुवित्तले एक सय जनासँग कागज गर्ने, क्षमता विकास, प्राविधिक सहयोगलगायत सबै काम गरेर मात्र रकम दिनुपर्छ ।

यी सबको लागत बढी हुने भएकाले ब्याज महँगो पर्न गएको हो । लघुवित्तले कर्जाको निरीक्षण गर्दा बढी खर्च लाग्ने भएकाले पनि ब्याज महँगो पर्छ । बिनाधितो लिइएको ऋणमा जोखिम बढी हुन्छ, त्यसकारण स्वाभाविक रूपले त्यो जोखिमको शुल्क पनि ब्याजमा हुन्छ । त्यसकारण गरिबलाई दिने लघुवित्त कर्जा संसार भर नै बैंकको भन्दा महँगो हुन्छ । यो कुरा ऋणीलाई बुझाउन नसक्दा गुनासा सोहीअनुसार आएका हुन् ।

अहिले लघुवित्तको खराब कर्जा किन बढिरहेको छ ? अहिलेको अवस्थामा ऋणीको मनोविज्ञान कस्तो पाउनुहुन्छ ?
अहिले ब्याजदर महँगो भएका कारण खराब कर्जा बढेको होइन । आर्थिक मन्दीको असरका कारण केही खराब कर्जा बढेको छ । त्यसबाहेक अन्य कारण पनि खराब कर्जा बढेको पाइन्छ । अहिले ऋण मिनाहा हुने हल्लाले पनि कतिपय इमानदार ऋणीले समेत किस्ता नतिरेको अवस्था छ । असल ऋणीले पनि केही टाठाबाठाले ऋण मिनाहा गराइदिने भन्दै आएकाले पनि ऋणीलाई मिनाहाको केही आस भएको देखिन्छ ।

अहिले खराब कर्जा यसकारण पनि बढेको छ । हामी गाईभैंसी, बाख्रा पार्न सस्तो ऋण दिइरहेका छौं । अब दूध उत्पादन हुँदा बजारको समस्या छ, तरकारी उत्पादन भए पनि बजार पाएको छैन । त्यसकारण किसानलाई लाभ हुन सकेको छैन, जसले गर्दा उनीहरूको क्रयशक्तिमै ह्रास आएको छ । जसको असरस्वरूप खराब कर्जा बढेको छ । यसबाहेक ऋणीले धेरै ठाउँबाट ऋण लिएपछि तिर्न सक्ने क्षमतामा ह्रास आएको छ । यसले पनि खराब कर्जा बढेको देखिन्छ ।

सरसर्ती हेर्दा लघुवित्तले निकै राम्रो काम गरिरहेको छ, तर पनि खारेजीको माग आइरहेको छ । यस्तो किन भएको होला ?
लघुवित्तले केही कमी–कमजोरी गरेको सत्य हो । तर, लघुवित्तको आवश्यकता मुलुकमा छैन भन्नेचाहिँ होइन । गरिबी न्यूनीकरण पूर्ण रूपमा नहुने भएकाले लघुवित्तको आवश्यकता सधैं नै परिरहन्छ । लघुवित्तको सान्दर्भिकता कहिले पनि सकिँदैन । विकसित मुलुकमा पनि लघुवित्त हुन्छन्, किनकि त्यहाँ पनि एक किसिमको गरिबी त भइ नै हाल्छ । हाम्रो मुलुकमा त गरिबी अझै धेरै नै रहेकाले यस्तो अवस्थामा लघुवित्त कार्यक्रम झनै आवश्यक पर्छ । जसरी हिजो सयको हाराहारीमा लघुवित्त थिए । अहिले गाभ्ने र गाभिने प्रक्रियामा गई ५७ वटामा झरेका छन् । अहिले संख्या चाहिँ कति आवश्यक हो भन्ने प्रश्न हो ।

लघुवित्त कति संख्यामा झारिए अहिलेको बजार सुहाउँदो हुन्छ ?
अहिल लघुवित्त मर्जर वा एक्विजिसनमा गएमा अझै राम्रो हुन्छ । कतिपय कम्पनीमा प्रतिस्पर्धा गर्ने र बढी नाफा कमाउने होडबाजीले पनि समस्या आएको देखिन्छ । थोरै संख्यामा झार्न सकिएमा त्यस्तो अस्वस्थ प्रतिष्पर्धा कम हुन सक्छ । अहिले ५७ वटा लघुवित्त छन्, यसमा अझै ५० देखि ६० प्रतिशत लघुवित्त घटे पनि पुग्छ जस्तो लाग्छ मलाई ।

अब लघुवित्त कसरी अगाडि बढ्न सक्नुपर्छ ?
लघुवित्त आफ्नो मर्मअनुसार विचलन नभई अगाडि बढ्नुपर्छ । यो एउटा सामाजिक संस्था हो । समाजको उन्नतिका लागि लघुवित्तले काम गर्नुपर्छ । विपन्न वर्गको उत्थान गर्नका लागि लघुवित्तले ध्यान दिनुपर्छ । लघुवित्तले ऋण दिने वा नाफा मात्रै कमाउने नभई समाजलाई रूपान्तरण गर्ने, ग्रामीण अर्थतन्त्रको संरचनालाई रूपान्तरण गर्ने, मानिसलाई उत्पादनमूलक काममा लगाउने, मानव पुँजीको विकास गर्ने जस्ता काममा अग्रसर हुनुपर्छ । लघुवित्तको मर्म र धर्म नै यही हो ।

दिगो विकासमा लघुवित्तको योगदान कस्तो भइरहेको छ ?
लघुवित्तले दिगो विकासका लागि काम गरिरहेका छन् । ‘जिरो हंगर नो पोभर्टी’, समावेशी वित्तीय पहुँच, वातावरण संवद्र्धन, जल तथा जमिनको संरक्षणलगायतमा दिगो विकासको लक्ष्य छ । त्यो मानेमा लघुवित्तले अहिले एकदमै राम्रो काम गरिरहेको छ । विपन्न समुदाय पुँजीको पहुँचमा रहेका छन् । समावेशी वित्तीय पहुँचको अवस्था लघुवित्तकै कारणले पाएको छ ।

लघुवित्तले नियामक वा सरकारबाट कस्तो सहयोग खोजेको छ ?
अहिलेको परिवेशमा वित्तीय क्षेत्रलाई नै अस्थिरता ल्याउने, तहसनहस पार्ने, ऋण मिनाहा गराउनुपर्छ, तिर्नु हुँदैन भन्ने जस्ता कुरालाई केही व्यक्तिले वित्तीय क्षेत्रमा अराजकता निम्त्याउने काम गरिरहेका छन् । यसलाई सरकारले तत्कार नियन्त्रणमा ल्याउनुपर्छ । अराजक तत्त्वको मनोबल बढ्दै गयो भने वित्तीय क्षेत्रमै अस्थिरता निम्तिन सक्छ, अर्थतन्त्रलाई नै यसले तहसनहस पार्न सक्छ । त्यसकारण यस्ता तत्त्व नियन्त्रणमा लिनुपर्छ र नियामक निकायले केन्द्रीय बैंकले राम्रै हेरिरहेको छ । लुघवित्तलाई पनि केन्द्रीय बैंकले सुपरभिजन वा मोनिटरिङ नियमित गरिदिने काम गर्नुपर्छ ।

तपाईंको नेतृत्वमा रहेको साना किसान विकास लघुवित्त अहिले कसरी अगाडि बढिरहेको छ ?
साना किसान विकास लघुवित्त वित्तीय संस्था पनि त्यसकै प्रयोजनका लागि स्थापना भएको हो । २०५८ मा साना किसान विकास बैंकका रूपमा स्थापना भएको संस्था आज लघुवित्त वित्तीय संस्था भएको छ । बाफिया आइसकेपछि गरिबी निवारणको क्षेत्रमा काम गर्ने, गरिब, विपन्न र सीमान्तकृत समुदायलाई ऋण प्रवाह गर्ने र क्षमता तथा मानव पुँजीको विकास गर्ने संस्थाका रूपमा स्थापित भएकाले लघुवित्तमा रूपान्तरण गरिएको थियो । साना किसानको एउटा केन्द्रीय बैंक र १२ वटा शाखा कार्यालय छन् ।

हामी थोक कर्जाप्रदायक हौं, त्यसकारण यसभन्दा बढी शाखा नभएको हो । साना किसानले ७६ जिल्लामा रहेको साना किसान कृषि सहकारीलाई थोक कर्जा दिने, उनीहरूको क्षमता विकास, तालिम, सुशासन सिकाउने जस्ता कुरामा सहयोग गर्दछ । सहकारीका सदस्यलाई वित्तीय साक्षरता र अन्य तालिम दिँदै आएका छौं । साना किसान विकास लघुवित्तको स्पष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको ऋण दिने, ऋण लिने नाफा कमाउने मात्रै हैन । हाम्रो उद्देश्य ग्रामीण अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गर्नु हो ।

कृषिमा आकर्षण गर्नका लागि विगत १२ वर्षदेखि इजरायलमा साना किसान परिवारका युवालाई अध्ययन गर्न वा तालिम लिन पठाउँदै आएका छौं । ३ हजार १६२ युवाले इजरायलको कृषि प्रविधिबारे अध्ययन गरेर अगाडि बढिरहेका छन् । हामी किसानलाई पुँजी र प्राविधिक दुवैमा सहयोग गर्दै आएका छौं, जसले गाउँगाउँमा रोजगारी सिर्जना भएको छ । पशुपालनमा हामीले सोहीअनुसारको पुँजी परिचालन गरिरहेका छौं । सरकारले पनि पशुपालन र तरकारी खेतीका लागि सहुलियत कर्जा दिनका लागि बजेट नै छुट्टयाउने गरेको छ । त्यस्तो कर्जा किसानले कुनै सेवाशुल्कबिना नै ९ प्रतिशत ब्याजदरमा पाउने अवस्था छ ।

अन्य लघुवित्तको जस्तै साना किसान विकास लघुवित्तको वित्तीय विवरण त्यति सुखद देखिएको छैन, अब यसको व्यवस्थापन कसरी गर्ने योजना छ ?
अहिले यस लघुवित्तबाट ७६ जिल्लामा ५४६ स्थानीय तहका नागरिकले लाभ पाइरहेको अवस्था छ । अहिले साना किसान सहकारीले यो हाम्रो बैंक भनेर विश्वास गरेको छ । साना किसान सहकारीबाटै यस लघुवित्तमा दुई जनाले प्रतिनिधित्व गरेका छन् । अध्यक्ष नै सहकारीको प्रतिनिधि हुनुहुन्छ । त्यसले साना किसानले यो हाम्रो बैंक भनिदिएका कारणले आफ्नो बैंकलाई जोगाउनुपर्छ भन्ने गरी उनीहरूले ओनरसिप लिएका छन् । त्यसकारण यो खराब कर्जा अहिले अर्थतन्त्रको सुस्तताकै कारणले बढे पनि यो अब घट्छ भन्ने अपेक्षा छ ।

यसबाहेक अन्य योजना छन् । नेपालमा हिजो कृषिका लागि केन्द्रित कृषि विकास बैंक थियो । अहिले कृषि विकास बैंक ‘क’ वर्गको बैंक बनेको छ । त्यसकारण कृषि र किसानलाई ध्यान दिएर साना किसान लघुवित्तलाई एउटा विशिष्टीकृत कृषिका लागि डेडिकेटेड बैंकका रूपमा स्थापित गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । सोहीअनुरूप कुराहरू केन्द्रीय बैंक र सरकारसँग राखिरहेका छौं । कृषिका लागि समर्पित बैंक साना किसान लघुवित्त बन्न सक्छ भन्ने हाम्रो बुझाइ हो । कृषकलाई कसरी सेवा गर्ने, युवालाई कृषिप्रति कसरी आकर्षित गर्ने भन्नेतर्फ दिनरात काम गर्दै आएकाले त्यसका लागि योग्य छौं भन्ने हाम्रो बुझाइ हो ।

प्रतिक्रिया दिनुहोस्