तल्लो सेतीको अडिट सुरुङ निर्माणका लागि सम्झौता

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले १२६ मेगावाटको तल्लो सेती आयोजनाको अडिट सुरुङका लागि सम्झौता गरेको छ । तल्लो सेती जलविद्युत आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एसोसिएटस्सँग खरिद सम्झौतामा सम्झौता भएको हो ।
आयोजनाका तर्फबाट तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनले भने, ‘आयोजना सुरु गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छ । तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल ६.७ किलोमिटरको रहनेछ । त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो ।’
अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङपछि अन्य कामका लागि प्रयोगमा आउने भण्डारीको भनाइ छ । डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने भण्डारीले बतााए ।
तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा प्राप्तिको तयारी सुरु भएको छ । जग्गा प्राप्तिका लागि ऊर्जा मन्त्रालयमा आवश्यक कागजात पठाइएको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ । भण्डारीका अनुसार ईआईए पनि स्वीकृतिको चरणमा छ । उनले भने, ‘आयोजना निर्माणका लागि जाइकाका तर्फबाट स्थलगत अध्ययन भएको छ । जाइकासँग सकारात्मक छलफल भएको छ ।’
तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो दिएको छ । उक्त आयोजनाको लागत २५ अर्ब अनुमान गरिएको छ । तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।
तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेश गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ ।
कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग वि.सं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।
आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको संगमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालिगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ ।
आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ । देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत उत्पादन हुनेछ ।