Logo

पीडा भुलेर टमाटर खेतीमा सावित्रा

दाङ– घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी सावित्रा घर्तीका श्रीमान् प्रताप पुन अमेरिका जान तय भए । आफ्नो परिवारको आर्थिक रूपमा बलिया बनाउने भनेर उनी करिब चार वर्ष पहिले अमेरिकाको जाने योजना बनाएका थिए । तर अमेरिका यात्रा तय गरेका प्रताप अमेरिका पुग्न भने सकेनन् । अमेरिकाको यात्रा तय गरेका प्रताप दुबैमा पुगेर सदाका लागि यात्रा टुंगियो ।

उनलाई आफ्नै साथीहरूले दुबैमा हत्या गरेका थिए । उनको हत्या भएसँगै उनले परिवारलाई आर्थिक रूपमा बलियो बनाउने र सुखसँग राख्ने देखेको सपना सदाका लागि अन्त्य हुन पुग्यो । दुबैमा श्रीमान्को हत्या भएको खबर सुन्दा सावित्रा छाङ्गाबाट खसेजस्तो भइन् । केही समय उनलाई विश्वाससमेत लागेन । तर विश्वास नगरेको कुरा सत्यता भएपछि उनलाई थप पीडा थपियो ।

पारिवारिक रूपमा सुनौला सपना देखेर श्रीमतीसँग सल्लाह गरेर उनी अमेरिको यात्रा तय गरेका थिए । अमेरिका यात्रा तय गरेका प्रतापको दुबै पुग्दासम्म करिब १० लाख बढी खर्च भइसकेको थियो । थप पैसा पठाउनका लागि घरमा कुरा गरेका प्रतापको अरु पैसा नपठाउँदै हत्या भएको उनकी श्रीमती सावित्राले बताइन् । हत्या भएको उनको शव करिब एक महिना लगाएर काठमाडौंमा ल्याएर दाहसंस्कार गरिएको थियो ।

आर्थिक रूपमा परिवारलाई बलियो बनाउने सपना देखेर विदेश हिँडेका श्रीमान्को मृत्यु भएपछि परिवारको जिम्मेवारी सावित्रा पर्‍यो । के कसरी परिवारलाई व्यवस्थापन गर्ने श्रीमान् जाँदा लागेको ऋण तिर्नुपर्ने बाध्यता उनमा थियो । श्रीमान् गुमाएकी सावित्रालाई दुई भाइ छोरालाई पढाउने, घर खर्च कसरी जुटाउने भन्ने चिन्ता थियो । उनीसँग आर्थिक आयआर्जन गर्ने कुनै माध्यम थिएन । आम्दानी नभएपछि उनलाई दैनिकी चलाउनसमेत समस्या बढ्दै गएको थियो ।

यसरी समस्या बढ्दै गएपछि उनी पीडा बोकेर खाली बस्नुभन्दा आम्दानी गर्ने केही काम गर्ने योजना बनाएकी थिइन् । ‘दैनिक खर्च बढ्दै गएको थियो मनमा पीडा थियो तर पनि केही काम गर्नु पर्दछ भनेर अगाडि बढेकी हुँ,’ सावित्राले भनिन् । त्यसपछि उनले जग्गा भाडामा लिएर टमाटरखेती गर्न थालिन् । ‘अरु काम गर्नुभन्दा कृषिखेती गर्ने भनेर टमाटर खेती गर्न थालेकी हुँ,’ सावित्राले भनिन् । घरमा बसेर कृषिखेती गर्न सकिने भएकाले टमाटर खेती गर्न थालेको उनको भनाइ छ ।

टमाटर गर्ने थालेपछि घर व्यवहार चलाउनसमेत केही सहज भएको उनले बताइन् । टमाटरखेती गरेर उनले दुई भाइ छोरालाई गोरखा बोर्डिङ स्कुलमा अध्ययापन गराइरहेकी छन् । उनका एक छोराले कक्षा पाँच र अर्कोले कक्षा तीनमा अध्ययन गर्ने गरेका छन् । घरको सम्पूर्ण खर्चसमेत टमाटर खेतीबाट गरेको आम्दानीले चलेको छ । ‘अरु आम्दानीको माध्यम छैन टमाटर खेतीबाट नै घर व्यवहार चलाएकी छु,’ सावित्राले भनिन् ।

सावित्राले अहिले आफूसँगै टमाटर खेतीमा चार जनालाई रोजगारसमेत दिएकी छन् । उनले करिब तीन वर्ष पहिलेदेखि टमाटरखेती गर्दै आएकी छन् । उनले घोराही उपमहानगरपालिका–१८ मसिनामा एक बिघा जग्गा भाडामा लिएर टमाटरखेती गर्दै आएकी छन् । प्रतिकठा पाँच हजारका दरले जग्गाको भाडा तिर्नुपर्ने सावित्रा बताउँछिन् । टमाटर खेतीसँगै काक्रा, सिमी, केराउसमेत लगाउने गरेको उनी बताउँछिन् ।

मसिनामा टमाटरखेती गरिरहेकी सावित्रालाई गाउँमा टमाटरखेती गर्न नदिने भनेपछि के गर्ने भन्ने चिन्ता बढ्न लागेको उनले बताइन् । ‘अहिलेसम्म टमाटरखेती गरेर घर खर्च चलाइरहेकी छु अब गाउँमा टमाटरखेती गर्न नदिने भनेका छन् अब के गर्ने भन्ने चिन्ता लागेको छ,’ सावित्राले भनिन् । अन्य खेतीभन्दा टमाटरबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । टमाटरबाट थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्