जगदुल्ला जलविद्युतको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोट अन्तिम चरणमा

सुर्खेत– कर्णाली प्रदेशको सामरिक महत्वका रूपमा हेरिएको डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा बाँध र मुड्केचुला गाउँपालिका–४ इलमा विद्युतगृहमा निर्माण गर्ने लक्ष्य राखिएको जगदुल्ला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुर्याएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिकाबाट र मुडकेचुला गाउँपालिकाको इलामा पानी खसालेर १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण हुन लागेको हो । आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र पाइसकेको आयोजनाले वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुुगेको अधिकृत सापकोटाले बताए ।
परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरूपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । आयोजनाले हालै विद्युत उत्पादन अनुमतिपत्र पाएको छ । आयोजनाको कुल लागत २३ अर्ब बराबर छ । आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्नेगरी सेयर संरचना तय गरिएको छ ।
पहिलोपटक प्रसारणलाइन प्रभावितका लागि समेत सेयर लगानी गर्न सक्नेगरी सेयर ढाँचा तय गरिएको छ । संस्थापक सेयरधनीका रूपमा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ । यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को १० प्रतिशत, नेपाल विद्युत प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको सेयर स्वामित्व छ ।
सर्वसाधारण सेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारणलाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीको अधिकृत पुँजी आठ अर्ब, जारी पुँजी सात अर्ब एक करोड र चुक्ता पुँजी एक अर्ब एक करोड बराबर छ । सो आयोजनाले २०७४ असार १८ गते विद्युत उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो ।
विद्युत प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको थियो । अर्धजलाशयुक्त आयोजनाले ग्रस हेड ७८९ दशमलव ६ मिटर छ । आयोजनाले ६२३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण गर्ने उल्लेख छ । हुरिकोटमा रहेका बाँधबाट ६ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत इलमा विद्युत उत्पादनगृह निर्माण हुनेछ ।
आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीले गरेको छ । आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको अधिकृत सापकोटाको भनाइ छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको उनले बताए । जग्गा अधिग्रहण कार्यअन्तर्गत २५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ ।
आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवन निर्माण सम्पन्न भएको उनले जानकारी दिए । विद्युतगृहस्थलमा थप जिओलोजिकल अध्ययनका लागि ४६० मिटर बराबरको टेसट अडिट टनेलका साथै २५ मिटरको च्याम्बर निर्माण सम्पन्न भएको छ । उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्वीकृतिका लागि आवश्यक कागजातसहित निवेदन कम्पनीले पेस गरेको अधिकृत सापकोटाले जानकारी दिए ।
विद्युत आयोजना निर्माण गर्नका लागि वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताएको छ । चैतको पहिलो हप्तासम्म सो काम सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको काम चल्नुका साथै सो बैंकले चार अर्ब ७० करोड बराबर लगानी गर्न लागेको छ । नबिल बैंकले चार अर्ब, एचआइडिसीएलले चार अर्ब, लक्ष्मी सनराइज बैंकले दुई अर्ब, एभरेष्ट बैंकले एक अर्ब ५० करोड आयोजना निर्माणका लागि लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माणका लागि पूर्वतयारीको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए । बोलपत्रको काम पूरा गरी सकेसम्म चालु आवको अन्त्य, नभए पनि आगामी आवदेखि निर्माणमा जाने लक्ष्य छ । कुल लागत २३ अर्बमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपुँजीबाट जुटाउन लागिएको छ । इन्जिनियरिङ, प्रक्र्युरमेन्ट, कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा बोलपत्र हुनेछ । चालु आवको अन्त्यसम्म सडक निर्माण सक्ने तयारीका साथ काम जारी छ ।
त्यहाँबाट उत्पादन भएको बिजुली जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माण हुने चार केभी क्षमताको सबस्टेसनमा जडान हुने सापकोटाले बताए । आयोजना निर्माणपछि वार्षिकरूपमा चार अर्ब ८० लाख बराबरकोे आम्दानी गर्ने बताएको छ । त्यसबाट संघीय सरकारले वार्षिकरूपमा १९ करोड २३ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले नौ करोड ६१ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ ।