Logo

भारतीमा प्रचारप्रसारले नेपाल आउने पर्यटक बढ्ने

काठमाडौं– भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मी याममा नेपाल आउने परिवारसहितका भारतीय पर्यटकहरुको संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आँकलन गरेका छन् । भारतीय र नेपाली पर्यटन व्यवसायीहरूबीच लखनउमा भएको वृहत् नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटकहरुलाई नेपाल भित्र्याउन संघले मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टुर अपरेटर र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

टुर अपरेटरहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकहरूलाई नेपाल घुम्न निम्ता दिएका थिए । अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको र यसका लागि पर्याप्त संरचनाहरु तयारी अवस्थामा रहेको बताए । उनले पर्यटकहरुलाई नेपालका मौलिक खानाहरु खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइनेमा पनि जोड दिए ।

अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकका बारेमा चर्चा गरे । कार्यक्रमा भारतीय पर्यटन व्यवसायीहरुको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए ।

उनीहरुले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकहरुलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढी भन्दा बढी भारतीय पर्यटकहरुले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । उनीहरुले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरहरुबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारहरुलाई आ–आफ्नो क्षेत्रबाट सहजिकरणका लागि आग्रह गरे ।

कार्यक्रममा लुम्बिनीबाट सीपी श्रेष्ठ, विराटनगरबाट राजन श्रेष्ठ, पोखराबाट भरतराज पराजुली, चितवनबाट सुमन घिमिरे, मधेश प्रदेशबाट विजयकुमार झुनझुनवाला, बर्दियाबाट मोहन चौधरीले आ–आफ्नो क्षेत्र तथा प्रदेशको पर्यटन आकर्षणका बारेमा चर्चा गर्दै भारतीय पर्यटकहरुलाई नेपाल घुम्ने निमन्त्रणा दिए ।

कार्यक्रममा ‘चलिएपोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुति गरी आउँदो गर्मी याममा आयोजना हुने गर्मी से बेहाल चलो नेपाल अभियानबारे पनि प्रस्तुति गरिएको थियो । यसअघि जानकी मन्दिरमा विशेष पूजा गरी परम्पराअनुसारको चाँदी तथा तुलसीको विशेष माला सहित १६ वटा सगुन तथा उपहारका किस्तीहरु प्रदेश पर्यटन मन्त्री सुनिता यादव तथा जानकी मन्दिरका महन्तबाट राममन्दिर अयोध्या तर्फ लैजान अध्यक्ष शाह तथा टोलीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्