चुलोले सुधारिएको निरुको जिन्दगी

सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढुंग्रेबासफाँटकी निरू श्रेष्ठ सुधारिएको चुलो बनाएर मनग्य आम्दानी गर्दै आएकी छन् । लामो समयदेखि चुलो बनाउने पेसा थालेकी श्रेष्ठले गाउँगाउँमा पुगेर चुलो बनाउँदै लोभलाग्दो कमाइ गरिरहेकी छन् ।
सफल चुलो व्यवसायीका रूपमा चिनिएकी निरु चुलो बनाएरै मासिक ५० हजारभन्दा बढी आम्दानी हुने बताउँछिन् । उनले चुलो बनाएरै जिल्लाका १० हजारभन्दा बढी परिवारलाई धुँवारहित चुलोको प्रयोग गर्न प्रोत्साहन गरिन् । ग्रामीण परिवारलाई सुधारिएको चुलोको प्रयोग गर्न आग्रह गर्दै रामेछाप, दोलखा, धनुषालगायतका जिल्लामा पनि पुग्छिन् ।
चुलो बनाएरै उनको र परिवारको दैनिकी चलेको निरु सुनाउँछिन् । पहिले–पहिले चुलो बनाउँछु भन्दा नाक खुम्च्याउने अहिले त मेरै सिको गर्छन् । उनले भनिन्, “यही चुलो बनाएर जीवन सुधारिएको छ ।” वि.सं २०६० सालमा राष्ट्रिय सुधारिएकोे चुलो बजार व्यावसायिक तालिम लिएपछि उनले व्यवसायीक रूपमा चुलो बनाउने काम सुरु गरेकी हुन् ।
चुलो बनाउन र तालिम दिन कहिलेकाहीँ ४–५ दिनसम्म पनि गाउँमै बस्नुपर्दा समाजले ‘एक्ली महिला, घरै छोडेर हिँड्छे’ भन्दै ‘नियत’ माथि शंका गथ्र्यो । तर, छोराछोरीको पालनपोषण र पढाइखर्चको बोझका अगाडि मेरो गति रोकिएन उनले भनिन्, “दिनमै ४० वटासम्म चुलो बनाउँछु । महिला विकासमार्फत निरूसँगै सिन्धुलीका साविकका ११ गाविसका महिला र पुरुष गरी २२ जनाले तालिम लिएका थिए । तर, कामलाई निन्तरता दिनेमा निरू एक्लै छन् । यसले वास्तवमा उनलाई अवसरै थप्यो । विभिन्न संघसंस्थाको समन्वयमा उनले गाउँ्गाउँमा तालिमसमेत दिने गरेको बताइन् । उनले भनिन्, “चुलो बनाएर आम्दानी होला भन्ने लागेकै थिएन, अहिले त कमाइ गर्ने गतिलो माध्यम नै बनेको छ ।”
डिलरको रूपमा समेत काम गर्न थालेकी निरुले काठमाडौं र भारतको गुजरातदेखि चुलोका सामान ल्याउँछिन् । जिल्लामै एकमात्र डिलरका रूपमा काम गर्छिन् । गत वैशाखमा लैंगिक तथा दिगो ऊर्जाका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सञ्जाल–इनर्जियाले एसियाली र अफ्रिकी पाँच देशका महिला उद्यमीलाई सम्मान गर्दा उनी पनि परिन् र नगद एक हजार यूरोसमेत पाइन् ।
चुलो बनाउने पेसामार्फत ग्रामीण महिलाले बर्षौ देखि भोग्दै आएको स्वास्थ्य र अन्य समस्यालाई केही हदसम्म भए पनि समाधान भएको उनले बताइन् । गाँउगाँउमा सुधारिएको चुलो प्रयोगबाट हुने फाइदाको जानकारी गराउँदै सिन्धुलीका ९ वटै स्थानीय तहमा पुगेर चुलो बनाइसकेकी छन् । अहिले निरुले दिएको जानकारी र छिमेकीको सिको गर्दै एकपछि अर्काे भान्छाकोठामा सुधारिएको चुलो बनेका छन् ।
सुधारिएको चुलोको प्रयोगले दाउराको खपत एकदमै कम हुने, स्वास्थ्य समस्याबाट छुटकारा पाइने चुलो प्रयोगकर्ता बताउँछन् ।
–कृञ्जला पुलामी